हेटौंडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहर निर्माणका लागि सम्झौता
हेटौंडा- हेटौंडा उपमहानगरपालिकालाई महिलामैत्री सहर बनाउनका लागि मंगलबार सम्झौता गरिएको छ । संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय युएनओपीएस र हेटौंडा उपमहानगरपालिकाबीच सिटिज फर वुमनः समावेशी र जलवायु प्रतिरोधी सहरीकरण परियोजनाअन्तर्गत् सहयोग सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौता अनुसार युएनओपीएसले अधिकतम एक लाख चौरासी हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउनेछ भने हेटौंडा उपमहानगरपालिकाले सो रकमको ५० प्रतिशतसम्म रकम लागत साझेदारी व्यहोर्नेछ ।‘सिटिज फर वुमन’ परियोजनाको उद्देश्य तीव्र सहरीकरण र बढ्दो जलवायु जोखिमका कारण देखापरेका चुनौतीको समाधानका लागि महिलामैत्री, समावेशी र जलवायु प्रतिरोधी सार्वजनिक खुला स्थानको योजना, डिजाइन र निर्माण मार्फत् नगरपालिकालाई सहयोग गरिएको हो ।
हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ४ हुप्राचौर र कमानेस्थित पार्कमा एक वर्षभित्रमा महिलामैत्री संरचना निर्माण गर्ने तयारी रहेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् । यो परियोजना युरोपेली संघ र सुओमी फिनल्याण्डको सहयोगमा युएनओपीएस, युएन ह्याबिट्याट र सिटिज अलायन्सद्वारा संयुक्तरुपमा चार वर्षका लागि कार्यान्वयन हुँदैछ । नगरप्रमुख लामाले सम्झौताले स्थानीय सरकारका योजनामा समावेशी र जलवायुप्रतिरोधी सहरी विकास प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् ।नगरप्रमुख लामाले भनिन्, ‘यो परियोजनाले हेटौंडालाई आधुनिक, सुरक्षित र जलवायुप्रतिरोधी सहरमा रुपान्तरण गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ ।’ परियोजनाले महिला तथा संवेदनशील समुदायलाई नगर योजना प्रक्रियामा सशक्त सहभागिताको अवसर प्रदान गर्ने नगरप्रमुख लामाको विश्वास रहेको छ ।
परियोजनाले महिलालाई नगर योजना, निर्णय र सार्वजनिकस्थल निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागी हुन प्रेरित गर्नुका साथै सार्वजनिक स्थलहरु महिलामैत्रीरुपमा विकास गरिनेछ । परियोजनाअन्तर्गत तयार गरिने पूर्वाधार र सार्वजनिक स्थलमा जलवायु परिवर्तनका प्रभाव कम गर्ने उपायहरु अपनाइनेछन् । सामाजिक सञ्जालमार्फत बलात्कार गर्ने धम्की आयो यसैबीच नगरप्रमुख लामाले सामाजिक सञ्जालमार्फत् आफूलाई बलात्कार गर्ने धम्की आएको सार्वजनिक गरेकी छन् । नगरलाई महिलामैत्री सहर घोषणा गर्न लागिएको संवेदनशील घडीमा आएको यस्तो धम्कीले समाजको वास्तविक अनुहार देखिएको उनले लेखेकी छन् । सामाजिक संजालमा लामो स्टाटस लेख्दै उनले भनेकी छन्, ‘महिला भएर जन्मनु जति गर्वको कुरा हो, नेपाली समाजमा महिला भएर बाँच्नु त्यति सजिलो छैन । जेनजी आन्दोलनपछि मैले यो समाजको वास्तविक अनुहार देखेकी छु ।’ उनकाअनुसार फेसबुक र ह्वाट्सएपको इनबक्समा उनलाई बलात्कार गर्ने धम्कीका थुप्रै सन्देश आएका छन् ।
लामाले लेखेकी छन्,‘राति–राति फोन गरेर ‘एकपटक भेटेर बसेर विवाद टुङ्याउँ’ भन्ने प्रस्ताव आउँथे । माफ मागे पनि अर्थ राख्दैनथ्यो । मधेश प्रदेशको विरोधी बनाएर अनेक आरोप लगाइयो ।’ उनले आफूलाई लक्षित गरेर गरिएका आक्रमण र धम्कीकाबीच पनि नगरका महिलाको पक्षमा काम नरोकिएको बताइन् । उनीले हेटौंडालाई महिलामैत्री सहर घोषणा गर्नका लागि सहयोगी दातृसंस्था युएनओपीएससँग सम्झौता सम्पन्न भएको जानकारी दिँदै भनिन्, ‘सम्झौता गरिरहँदा पनि ती धम्की दिने युवा सम्झिरहेकी थिएँ । एउटी महिला, त्यो पनि नगरप्रमुख, बलात्कारको धम्की सहनुपर्ने समाजमा सामान्य महिला कति सुरक्षित होलिन् ?’
लामाले लेखेकी छन्, ‘एउटी नारी बलात्कृत हुन जन्मएकी होइनन् । एउटी नारीको उपयुक्तता यौन होइन । नारीले गल्ती गरेकी छ भने सजाय कानुनी हुनुपर्छ, बलात्कार होइन ।’ उनले नगरलाई महिलामैत्री सहर घोषणा गर्नुभन्दा ठूलो चुनौती समाजको नकारात्मक सोच परिवर्तन गर्नु रहेको उल्लेख गरेकी छन् । ‘सहरलाई महिलामैत्री बनाउनु ठूलो कुरा होइन, नकारात्मक चिन्तनलाई सकारात्मक दिशामा बदल्नु नै चुनौती हो,’ उनले भनिन् । महिलामैत्री सहर घोषणा कार्यक्रममा नगरप्रमुख लामाले युएनओपीएसका कन्ट्री डाइरेक्टर कोमल कार्की, सरोज दाहाल, सम्पदा थापालगायत नगरका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाप्रति आभार व्यक्त गरेकी छन् ।







