स्थानीय युवाको निरन्तर दबाबपछि ‘थाहा बसपार्क’ सञ्चालन
हेटौंडा- स्थानीय युवाको निरन्तरको दबाबपछि मकवानपुरको थाहा नगरपालिकामा थाहा बसपार्क सञ्चालनमा आएको छ ।थाहा नगरपालिका–४ नार्खुढाँडमा निर्माणाधीन बसपार्क बुधबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । शिखरकोट बजारक्षेत्रको मुख्य सडकमार्गमैसवारीसाधन पार्किंङको रुपमा सञ्चालन हुँदा बढ्दै गएको दुर्घटनाको जोखिम, पार्किङको समस्या र अव्यवस्थित यातायात व्यवस्थापनका कारण स्थानीय युवाले लामो समयदेखि दवाब दिइरहेका थिए । अन्ततः सोही दवाब र निरन्तर पहलपछि थाहा नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याएको हो । औपचारिक समारोहका बीच थाहा नगरप्रमुख विष्णु बिष्टले बसपार्कबाट सेवा शुभारम्भ गर्दै बसपार्क सञ्चालनको सुरुवात गरेका हुन् ।
प्रमुख बिष्टले बसपार्क सञ्चालन कार्यविधिअनुसार गरिएको बताउँदै यस कार्यमा स्थानीय युवाको योगदान उल्लेखनीय रहेको बताए । उनले भने, ‘थाहा बसपार्क निर्माण लामो समयदेखि जारी थियो तर, ठेकेदारको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न हुन सकेन । अब बाँकी भौतिक संरचना छिटो सम्पन्न गर्न संघीय सरकारलाई घच्घच्याउनेछौं ।’ बसपार्कको सञ्चालनबाट शिखरकोट बजारक्षेत्रमा सवारी व्यवस्थापनमा सहजता आउने र दुर्घटनाको जोखिम घट्ने उनले बताए । नगरप्रमुख विष्टले स्थानीय युवाको सुझाव र मागलाई ध्यानमा राख्दै बसपार्क सञ्चालनको निर्णयमा नगरपालिका पुगेकोस्पष्ट पारे ।
उपप्रमुख भरत गोपालीले बसपार्क सञ्चालन नगरकै गौरवको विषय भएको उल्लेख गर्दै यससँगै नयाँ चुनौती पनि थपिएको बताए । उनले भने, ‘बसपार्क सञ्चालनसँगै व्यवस्थापन, सुरक्षासँग सम्बन्धित चुनौती पनि आउँछन् । तर, हामी यातायात व्यवसायी, स्थानीय समुदाय र निजीक्षेत्रसँग सहकार्य गरेर समाधानतर्फ अघि बढ्नेछौं’ उनले थपे, ‘नगरपालिकाका पूर्वाधारमध्ये बसपार्क अत्यावश्यक अंग हो, जसले यातायातको केन्द्रीय व्यवस्थापनमा मद्दत पु¥याउनेछ ।’ युवाले विगत एक वर्षदेखि बसपार्क सञ्चालनका लागि नगरपालिका र सवारी व्यवसायीसँग निरन्तर छलफल र दबाब दिइरहेका थिए । उनीहरुको प्रयासका कारण अन्ततः नगरपालिकाले यो निर्णय कार्यान्वयनमा ल्याएको हो ।
स्थानीय युवाका अनुसार सवारीसाधन बजारभित्रै पार्किङ गर्दा भीडभाड र दुर्घटनाको सम्भावना बढिरहेकोले स्थायी बसपार्क अपरिहार्य बनेको थियो । हाल बसपार्कमा बिजुली जडान, खानेपानी, सार्वजनिक शौचालय, यात्रुका लागि कुर्सी, सवारी पार्किङक्षेत्रलगायत आधारभूत पूर्वाधारको व्यवस्था भइसकेको छ । नगरका अनुसार बाँकी संरचना आधुनिक टर्मिनलका संरचना पनि क्रमशः निर्माणाधीन छन् । बसपार्कबाट हालका लागि यात्रुबाहक बस, सुमो, इभिलगायत सवारी साधन छुट्न थालेका छन् । नगरपालिकाले निकट भविष्यमा सबै रुटका सवारी साधनलाई यही बसपार्कमार्फत् सञ्चालन गर्न तयारी गरिरहेको छ ।
थाहा नगरपालिका कार्यपालिकाको बैठकले स्वीकृतगरेको ‘थाहा नगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ का आधारमा बसपार्क सञ्चालनगरिएको हो । कार्यविधिअनुसार बसपार्क नगरपालिकाको मातहतमा रहनेछ र सात सदस्यीय व्यवस्थापन समिति गठन हुनेछ । समितिमा नगरप्रमुखको सिफारिसमा अध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष, यातायात व्यवसायी, उद्योग वाणिज्य संघ र उपभोक्ता प्रतिनिधि रहने व्यवस्था गरिएको छ । समितिले बसपार्कको शुल्क निर्धारण, व्यवस्थापन र दैनिक सञ्चालनका कार्य गर्नेछ ।
लामो समयदेखि बसपार्क सञ्चालनको प्रतीक्षा गरिरहेका स्थानीयवासीले अब थाहानगरको सवारी व्यवस्था व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन् । थाहा–४ का स्थानीयवासी लबकुमार केसी भन्छन्, ‘हामीले धेरैपटक यो विषयमा आवाज उठाएका थियौं । अब बसपार्क सञ्चालनमा आएपछि बजारक्षेत्र भीडरहित र सुरक्षित हुनेछ ।’ थाहा बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खत्रीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, नेपाली कांग्रेसका नगरउपसभापति नवराज कार्की, नेकपा एमाले नगरअध्यक्ष सुरेन्द्रमान प्रधान, माओवादी केन्द्रका नगरअध्यक्ष विनोदकुमार लामा, राप्रपा नगरअध्यक्ष कुलमान तामाङलगायतका अतिथिको सहभागिता रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य, भूमि आयोगका पूर्वजिल्ला अध्यक्ष ज्योति रायमाझी, मालपोत कार्यालय शिखरकोट प्रमुख टंकप्रसाद आचार्य, नापी कार्यालयका प्रमुख पुरुषोत्तम नगरकोटी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको पनि उल्लेख्य उपस्थिति थियो । समारोहमा ऋषेश्वर महिला खैंजडी भजन समूहका महिलाले आकर्षक भजन प्रस्तुत गरेका थिए । थाहा बसपार्क सञ्चालनसँगै थाहानगरको यातायात व्यवस्थापनमा नयाँ अध्याय सुरु भएको छ । यसले नगरक्षेत्रमा सवारी पार्किङ, यात्रु सुविधा र बजार व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
स्थानीय युवाको निरन्तर पहल, नगरपालिकाको निर्णय र समुदायको सहकार्यले अन्ततः थाहा नगरवासीको लामो प्रतीक्षा समाप्त गरेको छ । बसपार्क निर्माणको योजना पहिलोपटक २०७४ सालमा निर्वाचित जनप्रतिनिधिले अघि बढाएका थिए । त्यसअघि २०७१ सालमै थाहा नगरपालिकाले बसपार्क निर्माणका लागि आर्थिक वर्ष २०७१÷७२ मा ५० लाख रुपैयाँ विनियोजन गरी स्थानीय पूर्वाधार साझेदार कार्यक्रममार्फत् कार्य थालनी गरेको थियो । थानाबजार नजिकै रहेको करिब ४८ रोपनी क्षेत्रफलमा निर्माणाधीन बसपार्कलाई नगरको गौरवको आयोजना मानिएको छ ।
करिब ३० लाख रुपैयाँको प्रारम्भिक लगानीबाट सुरु गरिएको यो आयोजना अहिलेबहुसंरचना समेटिएको आधुनिक बसपार्ककारुपमा अगाडि बढाइने तयारी छ । मकवानपुरको थाहा नगरपालिका–४, नार्खुढाडमा २०७५ मंसिर ९ गते औपचारिकरुपमा शिलान्यास गरिएको थियो । करिब सात करोड २१ लाख रुपैयाँ लागतमा बन्ने बसपार्कको पहिलो चरणमा टर्मिनल भवन, बगैँचा, रेष्टुरेन्ट, सिफ्टिङ स्टल, अपा·मैत्री शौचालय, सवारीचालकका लागि विश्राम कक्ष, ग्यारेज, प्रहरी बिट, सडक बत्ती लगायत संरचना निर्माण हुनेछ ।
सि एन्ड ब्रदर्स कन्स्ट्रक्सनले यो कामको ठेक्का पाएको थियो । नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ‘एकीकृत सहरी पूर्वाधार विकास आयोजना’ अन्तर्गत ७ करोड २१ लाखमा ठेक्का पाएर निर्माण गरिरहेको थियो तर, हाल ठेकेदार बेपत्ता छन् । २०८१ साल भदौ २० गते सम्पन्न गरिसक्ने गरी २०७९ चैत २९ गते सम्झौता गरिएको भएपनि सम्झौता अनुसारको भौतिक प्रगति अझै देखिएको छैन ।







