४४ दशमलब ८९ प्रतिशत वित्तीय प्रगति द्रुतमार्गको भौतिक प्रगति ४३ दशमलब ६६ प्रतिशत
हेटौंडा-राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ४३ दशमलब ६६ प्रतिशत मात्र रहेको छ ।नेपाल सरकारबाट निर्माणको जिम्मा पाएको नेपाली सेनाले यस आयोजनाको चालु आर्थिक वर्ष २०८२÷८३ को असोज मसान्तसम्मको समष्टिगत वित्तीय प्रगति ४४ दशमलब ८९ प्रतिशत रहेको जनाएको छ । नेपाली सेनाले सार्वजनिक गरेको गत असोज मसान्तसम्मको आयोजनाको समष्टिगत प्रगति विवरणअनुसार आयोजना अन्तर्गतका सुरुङमध्ये तीन हजार ३५५ मिटर लम्बाईको महादेवटार सुरुङको दायाँतर्फको सुरुङको तीन हजार ३३३ मिटर लम्बाईमध्ये दुई हजार २८८ मिटर र बायाँतर्फको सुरुङको तीन हजार ३२२ मिटर लम्बाईमध्ये दुई हजार २९ मिटर निर्माण प्रगति भएको छ ।
आयोजनाअन्तर्गतमा सातवटा सुरुङमार्गको कुल लम्बाइ १० दशमलब ९७९ किलोमिटर रहेकोमा लेनडाँडा र धेद्रे सुरुङको ब्रेकथ्रु भईसकेको छ । यस्तै दुई हजार २५० मिटर लम्बाइको चन्द्रामभीर सुरुङको ३०६ मिटर निर्माण प्रगति भएको सेनाको भनाई छ । कार्ययोजनाअन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या साथै द्रुतमार्गको सुरुबिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकोले खरिद प्रक्रिया सुरु हुन बाँकी रहेको छ ।
यो खण्डमा पर्ने जग्गाको मुआब्जा वितरणको लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको र जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानको लागि सम्भावित विकल्पको डिजाइन कार्य अगाडि बढिरहेको सेनाले जनाएको छ ।द्रुतमार्गको सुरुबिन्दु यकिन तथा अन्य डिजाइन परिमार्जन बमोजिम अधिग्रहण बाँकी जग्गाको परिमाणमा परिमार्जन हुनसक्ने देखिएको छ । आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छन् ।
पुल निर्माणतर्फ आयोजना अन्तर्गत जम्मा ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुल निर्माणको लागि खरिद सम्झौता भई निर्माणको चरणमा रहेको पाइएको छ । निर्माणाधीन अधिकांश पुलको फाउण्डेसनको कार्य सम्पन्न भई सुपरस्ट्रक्टरको कार्य भइरहेको छ । नेपाली सेनाका अनुसार ५३ स्थानका पुलको फाउण्डेसन निर्माण सम्पन्न भएको छ । सडक निर्माणकार्य प्रगति अनुसार ९.३ किलोमिटर सडकको सब बेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडकको कालोपत्रे सम्पन्न भएको छ ।
आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको कुल लागत दुई खर्व ११ अर्व ९३ करोड रुपैयाँ रहेको छ । आयोजनाको हालसम्मको समष्टिगत खर्च ८२ अर्ब १७ करोड रुपैयाँ रहेको नेपाली सेनाले असोज मसान्तसम्मको द्रुतमार्ग आयोजनाको सार्वजनिक प्रगति विवरणमा उल्लेख गरेको छ । आयोजनामा अहिले प्याकेज नम्बर १ देखि १० सम्म विभिन्न निर्माणको काम जारी छ । यो आयोजना कुल ७० दशमलब ९८ किलोमिटर लम्बाइको हो । जसमध्ये १० दशमलब ९९ किलोमिटरमा सुरुङ रहेको छ । यो कुल लम्बाइको १५ दशमलब ४८ प्रतिशत हो ।सुरुङतर्फको भौतिक प्रगति ६१ दशमलब ११ प्रतिशत छ । आयोजनामा कुल १२ दशमलब ८८ किलोमिटर अर्थात् १८ दशमलब १५ प्रतिशत पुलको हिस्सा रहने छ । ८९ स्थानमा पुल निर्माण गरिँदैछ ।
सडकतर्फ प्यासेन्जर अन्डरपास १, भेइकल अन्डरपास २२ र बक्स कल्भर्ट निर्माण २६ वटा सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । आयोजनाको सुरुवातीबिन्दु खोकना तथा ललितपुरको बुङमति र फर्सिडोल क्षेत्रमा जग्गाको मुआब्जा वितरण हुन अझै बाँकी छ । यही कारण प्याकेज नम्बर ११ को खरिद प्रक्रिया ढिला भएको आयोजनाको भनाइ छ । सम्झौता अनुसार आयोजनाको म्याद चैत २०८३ सम्म छ ।
ललितपुरको खोकनाबाट सुरुभई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्गको लम्बाइ ७२ दशमलव पाँच किलोमिटर छ । महादेवडाँडा, धेद्रे र लेनडाँडामा करिब छ दशमलव ४१ किमि दोहोरो सुरुङसहितको द्रुतमार्गमा साना र ठूला गरी ८७ पुल रहने छन् । ती पुलको लम्बाइ १० दशमलव ५९ किमी हुनेछ । पुल र सुरुङबाहेक सडकखण्ड ५५ दशमलव पाँच किमि रहनेछ । द्रुतमार्ग सडक ललितपुरमा सात दशमलव नौ किमि, काठमाडौंमा चार, मकवानपुरमा ५३ र बारामा सात दशमलव छ किमि पर्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बढीरहेको हवाई उडान र अवतरणको चाप थेग्न नसक्ने निक्र्योलका साथ राजधानीबाट छोटो दूरीमा रहने गरी अर्को वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा बनाउने तथा कम समयमा त्यहाँ आवतजावत गर्न सडक निर्माण गर्ने सोचसँग सम्बन्धित यो पूर्वाधार हो । सरकारले आर्थिक वर्ष २०६६÷६७ को बजेटमा दु्रतमार्गको पहुँचमार्ग खोल्ने निर्णयअनुसार तीनवर्ष लगाएर सेनाले त्यो काम २०७० सलमा पूरा गरेको थियो ।







