बसाईसराईले रित्तिएको गाउँमा होमस्टे सञ्चालन गर्दै १९ वर्षीय प्रतीक

‘सुपिङ’ छोटो दुरीको गन्तब्य बन्ने विश्वास
मनिल महतो
२०८२ कार्तिक २९, शुक्रबार १०:३६

हेटौंडा-अधिकांश युवा पछिल्लो समय उच्चशिक्षा र वैदेशिक रोजगारीको लागि विदेशिने गरेका छन् तर, चित्लाङका १९ वर्षीय प्रतीक नेपालले स्वदेशमै मेहेनत गरेर केही गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण पेश गर्दै छन् । मकवानपुरको सदरमुकाम भीमफेदीबाट सरेर हेटौंडा आएपछि मानिसको बसाईसराईले भीमफेदी गाउँपालिका वडानम्बर–५ सुपिङ सुनसान हुँदै गए । अधिकांश घरमा बर्षौदेखि ताल्चा झुण्डिएका छन् । बसाईसराईले रित्तिएको यो गाउँमा होमस्टे सञ्चालन गरेर चित्लाङका १९ वर्षीय प्रतीक सुपिङको सुन्दरतालाई सबैसामु चिनाउने प्रयासमा छन् । भीमफेदी गाउँपालिकाको सुपिङ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । चारैतिर हरियाली डाँडाकाँडा, आकर्षक सूर्यास्तको रंगीन दृष्य, चिसो मौसममा ग्रामीणभेगका अग्र्यानिक रैथाने खानेकुरा, झोलुङ्गे पुल र आकर्षक खोँच सुपिङ गाउँमा प्रकृतिको अनुपम सुन्दरता छ ।

त्यही गाउँमा घुमफिरका क्रममा पुगेका प्रतीकले सम्भावना देखे । गाउँको मौलिकता र प्राकृतिक सुन्दरता नै पर्यटनको आकर्षण बन्न सक्छ भन्ने विश्वास उनीभित्र जाग्यो । त्यसपछि उनले बसाइँ सरेर गएकासँग सम्पर्क गरेर खाली घरहरु प्रयोग गर्न अनुमति मागे । गाउँ फर्कन नचाहेका घरधनीले पनि आफ्नो घरको हेरचाह हुने र केही आम्दानी हुने भएपछि खुशीसाथ सहयोग गरे । अनि सुरु भयो ‘सुपिङ गर्ज होमस्टे’ । रित्तीएर जीर्ण बनेको ६ वटा घर र १० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर होमस्टे सञ्चालन भयो । यहाँ ५० जना अतिथिलाई स्वागत गरी राख्न सकिने संरचना निर्माण भएको छ ।

सहरीया जीवनशैलीबाट टाढा गाम्रीणको दिनचर्या हेर्दै प्रकृतिको काखमा रमाउन छोटो समयको विदालाई पर्यटकले उपयोग गर्न सक्छन् । ‘रित्तिएको गाउँमा फेरिपनि मानिसहरु फर्काउन सकिन्छ कि भनेर घरको पुनर्निर्माण गरेर होमस्टे सञ्चालन गरेका छौँ’ उनले भने, ‘यो ठाउँ इतिहाससँग पनि जोडिएको र हेटौंडा, चितवन घुम्नेहरुको लागि यो ठाउँ उपयुक्त बन्न सक्छ ।’ धेरै अभिभावकले विदेश पठाउन ऋण लिनेबेला प्रतीकका बुवा देवेन्द्र नेपाल भने गाउँमै सम्भावना खोज्ने छोराको समर्थनमा उभिए ।

‘यहाँ होमस्टे सञ्चालन गर्ने कुरा मैले भन्दा पनि मेरो छोराले निकालेको हो ’ उनले भने, ‘विदेश जान तयार भएको छोरोले बरु म विदेश जान्न यही ठाउँमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा लाग्छु भनेपछि हामीले पनि साथ दिऔँं ।’ चितवन बीरगन्ज, हेटौंडा, काठमाडौंलगायत स्थानबाट आउने पर्यटकका लागि सुपिङ छोटो दुरीको गन्तब्य बन्न सक्ने उनको विश्वास छ । चित्लाङमा पर्यटन व्यवासाय सञ्चालन गरिरहेका देबेन्द्रले आफैंमा सुन्दर सु्पिङलाई नजिकबाट नियाल्न सकिने गरी होमस्टे सञ्चालनमा ल्याइएको बताए ।

पहिले सिस्नो र घाँसले घेरिएको घर वरपर अहिले फलफूलका विरुवा लगाइएको छ । लोप हुन लागेका बुईकल सहितका घरहरुको भित्तामा सेतो कमेरो र रातो माटोले लिपिएको छ । ढुंगेधारोको शैलीमा बनेका पानीका धारा, पुराना सन्दुक, ठेकी, जाँतो, हलो जस्ता परम्परागत सामग्रीले होमस्टेलाई मौलिकता प्रदान गरेको छ । होमस्टेमा प्रयोग हुने सागसब्जी, गुन्द्रुक, दाल, अन्न घट्टमा पिसेको पीठो आदि स्थानीय उत्पादन नै प्रयोग गरिन्छ । बेलुका क्याम्पफायर गर्दै साथीभाइ रमाइलो गर्न यो स्थान उपयोगी छ ।

यो होमस्टे सञ्चालन हुँदा गाउँका किसानलाई पनि प्रत्यक्ष लाभ पुगेको छ । होमस्टेमा स्थानीयले रोजगारी पाएका छन् । ‘हामीलाई चाँहि यहाँ होमस्टे सञ्चालन भएर गुन्द्रुक, सागको व्यापार पनि राम्रोसँग भएको छ’ स्थानीय सम्झना पुडासैनीले भनिन्, ‘बसाईसराईले पुरै रित्तिएको गाउँमा यस्तो विकास हुन्छ भनेर हामीले सोचेको पनि थिएनौँ ।’स्थानीय पालिकाले पनि ग्रामीण कृषि पर्यटनकारुपमा सुपिङलाई विकास गर्ने योजना बनाएको गाउँपालिकाका–५ का वडाअध्यक्ष जहारसिंह लामाले बताए ।

‘प्राचीन बजार भीमफेदीबाट सदरमुकाम सरेपछि यहाँको बजार बगरमा परिणत भयो भनेर स्थानीयले गुनासो गर्ने गरेको थिए’ उनले बताए, ‘प्रजातन्त्रको पुनर्वहाली पछि हामीले यहाँ विभिन्न संरचना, पूर्वाधार निर्माण ग¥यौँ ।’ बगरलाई बजारमा परिणत गर्नुपर्छ भन्ने अभियानमा आपूmहरु लागेको उनले बताए । ‘भीमफेदीमा आम्दानीको मुख्य श्रोत नै कृषि र पर्यटन भएकोले यसको प्रर्वद्धन लागि हामी प्रतिबद्धताका साथ लागिपरेका छौँ’ अध्यक्ष लामाले भने । प्राचीन भीमफेदी बजार, गुप्तेश्वर गुफा, गुम्बा, चिसापनीगढी र हात्तिसार जस्ता ऐतिहासिक महत्व बोकोकेका पर्यटकीयस्थल नजिकै भएकाले सुपिङ घुम्न चितवन, वीरगञ्ज, हेटौंडा र काठमाडौंबाट पर्यटक आउने क्रम बढ्दो छ ।

देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहने प्रतीकले मौलिकता र प्राकृतिक सुन्दरतालाई पर्यटनक्षेत्रको मुख्य आकर्षण बनाएका छन् । सुपिङमा प्रतीकले सुरु गरेको यो होमस्टेले अहिले गाउँको स्वरुप मात्र बदलेको छैन, वर्षौदेखि सुनसान बस्ती पुनः चहलपहलमय बनेको छ । नेपाल पत्रकार महासंघले नियमित बैठकको श्रंखला यही होमस्टेमा आयोजना रेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*