हेटौँडाबाट एमालेको सन्देश : संसदको पुनस्र्थापना पहिलो शर्त

भट्टराईको प्रश्न : कुन अधिकारको प्रयोग गरेर संसद् विघटन भयो ?
साझाकुरा
२०८२ मंसिर १, आईतवार १०:५४

हेटौंडा- नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईले प्रधानमन्त्री सुशीला कार्कीलाई संविधानको कुन धारा टेकेर प्रधानमन्त्री पद स्वीकार गरेको ? भन्दै प्रश्न गरेका छन् ।उनले प्रधानमन्त्री कार्कीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए । वर्तमान प्रधानमन्त्री निर्वाचित पनि नभएको र प्रतिनिधिसभाको सदस्य पनि नरहेकोले कुन अधिकारको प्रयोग गरेर संसद् विघटन गरेको भन्दै उनले प्रश्न गरे । लोकतन्त्रको जर्गेना संविधानको रक्षाको लागि भन्दै केन्द्रीय निर्देशनबमोजिम एमाले मकवानपुरले शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रदेश इन्चार्ज भट्टराईले संविधानका धाराहरु च्यातिने काम भएको बताए । जनताको लामो संघर्ष र योगदानबाट प्राप्त संविधानमाथि हुने खेलबाड नेकपा एमालेलाई अस्वीकार्य रहेको उनले बताए ।

संविधानलाई सही ट्रयाकमा ल्याउनको लागि संसदको पुनस्र्थापना पहिलो शर्त भएको उनको भनाई छ । नेकपा एमाले निर्वाचनबाट नभागेको उनको धारणा छ । प्रदेश इन्चार्ज भट्टराईले निष्पक्ष र धाँधलीरहित निर्वाचन लोकतन्त्रको आधारभूत मान्यता भएपनि सरकार त्यसतर्फ नलागेको आरोप लगाए । ५ हजार भन्दा बढी फरार कैदी लुकेर बसेको, लुटेका हातहतियार फेला नपरेको, प्रहरीको मनोबल गिरेको अवस्थामा निष्पक्ष निर्वाचन हुन नसक्ने उनले ठोकुवा गरे । प्रदेश इन्चार्ज भट्टराईले ठुलो दलका नेतालाई एरिया नजरबन्द गरेर कस्तो खालको निर्वाचन गर्न लागेको भन्दै प्रश्न गरे । प्रधानमन्त्रीको मनसाय नै स्वच्छ निर्वाचन गराउनु नरहेको उनले जिकिर गरे ।

प्रदेश इन्चार्ज भट्टराईले नेकपा एमाले राष्ट्रियता, सुशासन, देशभक्तिको प्रतीक भएको बताए । नेकपा एमालेलाई समाप्त पार्न प्रतिक्रियावादी शक्तिहरुले भदौ २३ र २४ गते षड्यन्त्र रचेको उनले आरोप लगाए । जेनजी युवाले सुशासनको पक्षमा, भ्रष्टचारको विरुद्धका उठाएको आन्दोलनमा एमालेको ऐक्यबद्धता रहेको उनले जिकिर गरे । प्रदेश इन्चार्ज भट्टराईले सुशासन र भ्रष्टाचारको मामिलामा नेकपा एमाले अरु राजनीतिक दलभन्दा अगाडि रहेको दाबी गरे । भ्रष्टाचारको आरोप लाग्नेबित्तिकै एमालेले आफ्ना नेताहरुलाई निलम्बन गरेको उनले बताए । कृत्रिम भाष्य खडा गरेर एमालेको सुशासनप्रतिको प्रतिबद्धतामा गलत भ्रम नफैलाउन उनले चेतावनी दिए ।

त्यसैगरी जनसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महेश बर्तौलाले संसद् पुनस्र्थापनाबाट नै जेनजी युवाको सुशासनको मागलाई पूरा गर्न सकिने बताए । देश अहिले अवैध सरकारबाट अलोकतान्त्रिक मार्गमा चलिरहेकोे उनको धारणा छ । केन्द्रीय सदस्य बर्तौलाले संसद् पुनस्र्थापना गरी जेनजी युवापुस्ताको समेत सहभागितामा अन्तरिम सरकार गठन गरी अर्ली इलेक्सनमा जानुपर्ने बताए । वैधानिक सरकारले मात्र देशलाई संवैधानिक ट्रयाकमा अगाडि बढाउन सक्ने उनले बताए । एमालेका नेता जोडिएका भ्रष्टचारका फाइलहरु भए सुरुमै त्यहीफाइलको संवैधानिक प्रक्रियाअनुसार अनुसन्धान गर्न उनले सरकारलाई चुनौती दिए ।

बर्तौलाले नेकपा एमाले विरुद्ध सम्पूर्ण शक्तिहरु एकजुट भएको बताए । एमाले एक्लै परे पनि राष्ट्रियताप्रतिको अडान नछाड्न उनले आग्रह गरे । जनसभामा केन्द्रीय सदस्य एवम् मकवानपुरका इन्चार्ज रामेश्वर राना, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा लगायतको आतिथ्यता रहेको थियो । एमालेले ठूलो संख्यामा मोटरसाइकल एकत्रित गरी मोटरसाइकल ¥याली निकालेको थियो । हुप्राचोरबाट सुरु भएको ¥याली हेटौंडा बजार परिक्रम गर्दै पुनःहुप्राचौर पुगेको समापन भएको हो ।

¥यालीमा आउने कार्यकर्तालाई पार्टीले अनिबार्य हेलमेट लगाउनुपर्ने, एउटा मोटरसाइकलमा २ जनाभन्दा बढी बस्न नपाइने, लाइसेन्स भएका व्यक्तिले मात्रै मोटरसाइकल चलाउने व्यवस्था मिलाएको थियो । ¥यालीलाई व्यवस्थित गर्नका लागि जिल्ला सदस्य तथा युवा इन्चार्ज सानु लामाको संयोजकत्वमा १ सय जनाभन्दा बढी युवाको स्वयम्सेवक दस्ता परिचालन गरिएको थियो । मोटरसाइकल ¥यालीलाई एकत्रित गरी व्यवस्थापन गर्न हेटौंडाबाट पश्चिमतर्फ सचिवालय सदस्य हेमलाल उप्रेतीको संयोजन, उत्तरतर्फ सचिवालय सदस्य मेम्बर लोको संयोजन, पूर्वतर्फ सचिवालय सदस्य अनिल बानियाँको संयोजन र बजारक्षेत्रमा उपसचिव फुर्वादोर्जे लामाको संयोजन रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*