संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था : मुख्यमन्त्री बानियाँ

साझाकुरा
२०८२ मंसिर २, सोमबार १३:१९

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था भएको बताएका छन् । प्रदेश सुशासन केन्द्र, बागमती प्रदेशले फेडरलिज्म तथा लोकलाइजेशन सेन्टरसँगको सहकार्यमा प्रदेश सरकारले आईतवार आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रः चुनौती र अवसर अन्तरसंवादमा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिब जनताको छोरो पनि राष्ट्रप्रमुख बन्न पाउने व्यवस्था भएको बताए । व्यक्ति बदल्न पाउने, दल बदल्न पाउने, मन लागेको पार्टीलाई भोट हाल्न पाउने, मन लागेको उम्मेद्वारलाई भोट हाल्न पाउने यो भन्दा सुन्दर व्यस्वथा यो दुनियाँमा अरु नभएको उनको भनाई छ । उनले नेपालको वर्तमान संविधानले समावेशी, समानुपातिक र सबैको प्रतिनिधित्वलाई स्वीकार गरेको उल्लेख गरे ।

यद्यपि संविधानमा भएको केही व्यवस्थाका कारण अस्थिरता भने आइरहेको उनको धारणा छ । त्यसलाई सुधार गर्नुपर्नेमा उनले जोड दिए । ‘व्यक्ति बदल्न पाउने, दल बदल्न पाउने, मन लागेको पार्टीलाई भोट हाल्न पाउने, मन लागेको उम्मेद्वारलाई भोट हाल्न पाउने यो भन्दा सुन्दर व्यवस्था यो दुनियाँमा अरु छ जस्तो मलाई लाग्दैन । यो समावेशी छ, समानुपातिक छ, सबैको प्रतिनिधित्वलाई स्वीकारगरेको छ । सबै वर्ग, समुदाय, सबै भाषाभाषि, सबैको धर्म संस्कृतिको सबैलाई यो व्यवस्थाभित्रको संविधानले समेटेको छ । यहाँभित्र त्यही पनि अस्थिरताका कारण आइरह्यो, यो व्यवस्थाले अस्थिरता ल्याइरह्यो, यो व्यवस्थाभित्र स्थायित्व भएन र भ्रष्टाचार बढ्यो । भ्रष्टाचारको कारणले गर्दा अकल्पनीय विद्रोह भयो’ मुख्यमन्त्री बानियाँले भने ।

मुख्यमन्त्री बानियाँले शासकीयस्वरुप निर्वाचन प्रणाली र संविधानको अन्तरवस्तुलगायतबाट जनताको अवस्था सुधार, रुपान्तरण र परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको पात्र, दल, व्यक्ति छान्न पाउने अधिकारलाई थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिए । अहिलेको व्यवस्थालाई सबलीकरण गर्न नसक्दा मुलुकले अप्राकृतिक विपत्ती व्यहोर्नुपरेको बताए । जेनजी पुस्ताको पीडा मुलुक बनेन भन्ने हो । हामीले निर्वाचन कसरी गर्छौ ? यस विषयमा संवाद गरेर निष्कर्षमा पुग्नुपर्नेछ । उनले भने संघ भनेको नीति निर्माण, प्रदेश भनेको विकास हो र स्थानीय भनेको सेवाप्रवाह हो ।

अस्थिरता र बढ्दो भ्रष्टाचारका कारण भदौ २३ र २४ गते अकल्पनीय जेनजी विद्रोहको सामाना गर्नुपरेको उनको भनाई छ । उनले सोचेअनुसारको मुलुक नबनेकोप्रति सबै चिन्तित बनेको उल्लेख गरे । लामो समयदेखि उस्तै नेतृत्व र अनुहारले देश चलाउँदा परिवर्तन नभएको मुख्यमन्त्री बानियाँको भनाई छ । देशको परिवर्तन भएको भए नेतृत्व उही भएपनि केही फरक नपर्ने उनले बताए । उनले जेनजी

‘एउटा प्राकृतिक प्रकोप हुन्छ, अर्को अप्राकृतिक प्रकोप हुन्छ, भदौ २२ र २३ गते अकल्पनीय प्रकोप आयो, यो चाहिँ अप्राकृतिक प्रकोप भयो । अहिले यत्रतत्र कुरा आइरहेको छ, जेनजी पुस्ताको पीडा थियो । मुलुक बनेन, सोचेको अनुसार अगाडि बढेन । लामो समय नेतृत्व उस्तै उस्तै अनुहार । परिवर्तन नेतृत्वको न देशको । देशको परिवर्तन भए नेतृत्व उही भएनी केही फरक थिएन होला । तर, जेनजी पुस्तालाई सामाजिक सञ्जालदेखि लिएर भ्रष्टाचारको कुराले धेरै पिरलेको थियो । हामी सबैलाई पनि थियो तर, त्यो किसिमको परिस्थिति कुनै दलको नेताले या दलले त्यसलाई ठीक ढंगले ठीक तरिकाले आवाज उठाउँदै गरेतापनि परिणाम नआएपछि, परिमाण र कुरासंँगसँंगै गरेर जेनजी पूस्ताले द्रुत गतिमा आफ्ना कुरालाई राख्दा जुन किसिमको परिस्थिति निर्माण भयो, त्यसले नयाँ सरकार अहिले बनेको अवस्था छ ।

अब हामी संवाद गरेर निर्वाचन कसरी गर्न सकिन्छ, कसरी हुन सक्छ, यही निर्वाचनबाट अगाडि बढ्न सकिन्छ की भन्ने बारेमा खुलेर अन्तरसंवाद हुनेछ । मुख्यमन्त्री बानियाँले आगामी निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालाई पनि आग्रह गरे । बामगती प्रदेशले बनाउने नीतिमा जेनजी पुस्तालाई समेट्दै आर्थिक अनुशासनमा ख्याल राख्ने उनले जानकारी दिए ।

जेनजी प्रतिनिधि र प्रदेश
सरकारबीच अन्तरक्रिया

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री एवं विभिन्न प्रदेशका पूर्वमुख्यमन्त्रीसँग जेनजी प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् । कार्यक्रममा जेनजीले संघीयतासहित आफूहरुको आन्दोलन र प्रदर्शनका बारेमा कुरा राखेका थिए । कार्यक्रममा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले संघीयताको प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको बताए । संघीयताको कार्यान्वयनमा शीर्ष नेताहरु वेइमान रहेको बताउँदै उनले नेतृत्वको बोली र व्यवहारमा फरक परेको आरोप लगाए । संघीय सरकारले संघीयताको मर्मअनुरुप जिम्मेवारी हस्तान्तरण नगरेर प्रहरी परिचालनको अधिकार प्रदेशलाई नदिएको समेत उनले आरोप लगाए ।

त्यसैगरी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नवयुवापुस्ता आन्दोलनका नायक भएको भदौ २३ गतेको आन्दोलन सरकारी पक्षबाट गलत भएको भन्दै २३ गतेको आन्दोलनमा घुसपैठ भएर देशलाई सिध्याउने सोचबाट परिचालन भएको धारणा राखिन् । उनले मधेश प्रदेशमा मुख्यमन्त्रीको सपथ प्रकरणमा पार्टीबाट भएको कार्य गलत भएको भन्दै यस्तो कार्य संघीयताको मर्मविपरीत रहेको बताइन् । यसैगरी कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले ठूलो वलिदानपछि आएको संघीयतालाई कमजोर बनाइएको बताउँदै संघीयतालाई नाममात्रको बनाइएको आरोप लगाए ।

संघले प्रदेशलाई भिखारी जस्तो बनाएर राखेको भन्दै उनले संघीय मन्त्रालयको बजेटभन्दा प्रदेशको बजेट कम रहेको बताए । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले जेनजी पुस्ताले उठाएको मागमा आफूहरु सतप्रतिशत सहमत रहेको बताए । उनले गलत क्रियाकलापमा गैरसरकारी संस्थाबाट भएका लगानीको विषयमा पनि प्रश्न उठेको बताए । आन्दोलनको माग पूरा गर्न भ्रष्टाचारलाई अन्त्य गर्न ध्यान दिनुपर्नेमा उनले जोड दिए । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीयस्तरमा भएको स्रोतसाधनको उपयोग गर्दै संस्कृतिको संरक्षण गरेर पर्यटनको प्रवद्र्धन गर्दै संघीयताको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । देवकोटाले विं.सं २००७ सालदेखि जेनजी आन्दोलन सम्मका महत्वपूर्ण राजनीतिक घटनाक्रमको भिडियोको अंश प्रस्तुति गरेका हुन् । उनले २००७ सालमा राजा त्रिभुवनले सम्वोधन गर्दा संविधान नागरिकको इच्छाअनुसार निर्वाचित वैधानिकसभाले गर्ने विषय उल्लेख गर्दै नागरिकको संविधान लेखनको चाहना २००७ सालदेखिकै भएको उल्लेख गरे । डा. देवकोटाले अहिलेसम्म भएका आमनिर्वाचनको संक्षिप्त विवरण प्रस्तुत गर्दै, माओवादी र मधेश आन्दोलनलाई शान्तिपूर्ण तरिकाले कसरी अवतरण गरियो, २०६२÷६३ को आन्दोलनदेखि ०७२ सम्मको विविध राजनीतिक घटनाक्रमलाई विस्तृतमा प्रस्तुतगरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*