शिक्षाले मानिसलाई युग सुहाँउदो दक्ष जनशक्ति बनाउँछः मुख्यमन्त्री बानियाँ
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले शिक्षा जीवनयापन गर्ने माध्यम भएको बताएका छन् ।मकवानपुरगढी–५ धादिङ स्थित शारदा माध्यमिकविद्यालयकोस्वर्णमहोत्सवको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले शिक्षाले मानिसलाई युग सुहाँउदो दक्षजनशक्ति बनाउने बताए । दक्षमानिसले आफ्नो जीवनलाई सहज बनाउने उनको धारणा छ । शिक्षाबिनाकोमानिस अहिले आँखा नभएको मान्छे बराबर हुने उनको भनाई छ । ‘शिक्षा आँखाको ज्योति जस्तै हो, जसको शिक्षा छैन ऊ अहिलेको २१ औं शताब्दीमा आँखा नभएको मान्छे जस्तै हो भन्ने भनाई छ’ उनले भने, ‘त्यसकारण शिक्षा जीवनयापनको माध्यम हो ।’
मुख्यमन्त्री बानियाँले शिक्षालाई मानवको मन्दिरको रुपमा चित्रण गरे । शिक्षा प्रणालीमा सुधार गर्न शिक्षकको लागि पनि तालिमको व्यवस्था गर्नुपर्ने उनले बताए । डिजिटल प्रविधिसँग अभ्यस्त हुने शिक्षा अहिलेको आवश्यकता भएको उनले उल्लेख गरे । ‘अहिलेको युगसँगै शिक्षा नीतिलाई पनि परिवर्तन गर्नुपर्छ, शिक्षकलाई पनि तालिमको व्यवस्था गर्नुपर्ने हुन्छ’ मुख्यमन्त्री बानियाँले बताए, ‘अहिलेको प्रविधिसँग व्यस्त हुनुपर्छ कि त बिदाई भएर नयाँ पुस्ता आउनुपर्छ ।’ मुख्यमन्त्री बानियाँले देशमै गरिखाने वातावरण नबन्दा भदौ २३ र २४ गते नेपालको राजनीतिमा अकल्पनीय अप्राकृतिक प्रकोप भएको बताए ।
राजनीतिक परिवर्तन भएपनि जनताले गरिखाने वातावरण नपाउँदा युवापंक्ति निराश हुन पुगेको उनले उल्लेख गरे । ‘मञ्चमा घन्टौं बोल्नसक्ने तर, गर्न केही नसक्ने, राजनीतिक परिवर्तन दिलायो भन्नेहरुले अवस्था परिवर्तन गर्न नसक्दा दिनरात धेरै नागरिकलाई सतायो’ उनले भने, ‘हुने खानेहरु जापान, अष्ट्रेलिया, कोरिया गए तर, हुँदा खानेहरु साउदी, कतार गए ।’ मुख्यमन्त्री बानियाँले विगतको शिक्षा प्रणालीबाट देशमै गरिखाने वातावरण नबन्ने जिकिर गरे । मानिसको जीवनयापनसँग प्रत्यक्षरुपमा जोडिने प्राविधिक शिक्षा लागु गर्नुपर्नेमा उनले जोड दिए । उनले प्राविधिक शिक्षा सञ्चालन गर्न विद्यालय प्रशासनलाई आग्रह गर्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पढेको विद्यार्थीलाई कामसँग जोडेर गरिखाने बनाउनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले अहिले परिस्थितिमा ठगीखाने र मागीखाने शिक्षाको औचित्य सकिएको बताए । ‘पढ्दै, सिक्दै, कमाउँदै भन्ने नारा पनि आएको छ, नाराको सहारामा होइन, लेखाई र गराई यथार्थ हुनेगरी आउनुप¥यो’ उनले भने, ‘सरकारले त्यसैअनुसार गर्नुप¥यो, प्रतिफल पनि त्यहीअनुसार नै आउनुप¥यो । मुख्यमन्त्री बानियाँले आपूm कठिन परिस्थितिमा मुख्यमन्त्री बनेको बताए ।
अफठ्यारो र असजिलो दिनलाई सजिलो बनाउन मुख्यमन्त्री भएको हो की भन्ने महसुस आपूmलाई हुन थालेको उनले बताए । मुख्यमन्त्री बानियाँले आपूmले राजनीति अन्याय गर्नको लागि नभई न्याय गर्नको लागि गरेको उल्लेख गरे । ‘आफूहरुले जीवन चलाउन विभिन्न पेशा गरेपनि अन्यायलाई न्याय दिन राजनीति गरेको हुँ’ नेतृत्व वर्गले बोली र व्यवहारसँगै लैजानुपर्ने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले भ्रष्टचारमुक्त र सुशासनयुक्त शासन व्यवस्थालाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताए ।
गरिखाने वातावरण नबन्दा नै व्यक्तिहरु लुटपाट र तोडफोडमा संलग्न भएको उनको धारणा छ । मुख्यमन्त्री बानियाँले जेनजी पुस्ताले सही उद्देश्य राखेर आन्दोलन गरेको भएपनि व्यवस्था मन नपराउनेहरुले लुटपाट गरेको जिकिर गरे । लोकतन्त्रमा गलत काम गर्ने कसैले पनि छुट नपाउने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले राजनीतिमा अब झुट खेती नचल्ने बताए । राजनीति गर्नेहरुले अब गर्न सक्ने कुरा मात्र भन्ने र गर्न नसक्ने कुराको आश्वासन देखाउन नहुने उनले बताए ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङतान, निवर्तमान अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, विद्यालयका पूर्वअध्यक्ष बलराम घिमिरेलगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक तथा शिक्षिकालाई सम्मानित गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षयुवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक इन्द्रबहादुर कार्कीले स्वर्ण महोत्सवको अवसरमा मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने जिल्लास्तरीय खेलकुद प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनीलगायत ५८ वटा विभिन्न गतिविधिबारे जानकारी गराए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर २ गते पालिकास्तरीय चेस प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता, मंसिर ५ र ६ गते जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुनेछ । विद्यार्थीको प्रतिभा प्रदर्शनका साथै अभिभावकबीच दोहोरी प्रतियोगिता, शिक्षक नृत्य, शिक्षक हाजिरिजवाफ, स्लो बाइक तथा स्कुटी रेस आयोजना गरिने विद्यालयले जनाएको छ । विद्यालयले कात्तिक ४ र ५ गते देउसी–भैलो कार्यक्रममार्फत् १३ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको थियो यही रकम महोत्सवको आयोजनाका साथै बाँकी रकम विद्यालयको अक्षयकोषमा जम्मा गरिने भएको छ । विद्यालयले २०८१ सालको एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो । हाल विद्यालयमा ५ सय १४ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइरहेको छ ।







