बागमती प्रदेशको स्वास्थ्य क्षेत्र रुपान्तरणका लागि १३ बुँदे प्रतिबद्धता

साझाकुरा
२०८२ मंसिर ५, बिहीबार ११:४१

हेटौंडा- बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमार्फत आगामी वर्षका लागि १३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । हेटौंडामा ३ दिनसम्म चलेको समीक्षा गोष्ठीले प्रदेशको स्वास्थ्यसेवा, कार्यक्रम, पूर्वाधार, जनशक्ति र सुशासनसम्बन्धी विस्तृत मूल्यांकन गर्दै प्रदेश स्वास्थ्य नीति–२०८१ तथा दोस्रो आवधिक योजनासँग मेलखाने कार्यसूची अघि सारेको हो ।गोष्ठीमार्फत प्रस्तुत प्रतिबद्धता स्वास्थ्यक्षेत्रलाई डिजिटल, पारदर्शी, सेवामुखी तथा पहुँचयोग्य बनाउन लक्षित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशले आव २०८२÷८३ भित्र स्वास्थ्यक्षेत्रको रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्नेछ ।

प्रदेश मातहतका सबै अस्पताल तथा आयुर्वेद÷वैकल्पिक चिकित्सा संस्थानमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली पूर्णरुपमा लागू गरिने जनाइएको छ । ‘बागमती हेल्थ डिजिटलाइजेसनअवधारणाअन्तर्गत भक्तपुर र हेटौंडा अस्पताललाई टेलिमेडिसिन हबका रुपमा विकास गर्दै क्रमशः स्थानीय तहका कम्तिमा १५ अस्पतालमा स्पोक सेवा विस्तार गरिनेछ । नसर्ने रोग नियन्त्रणलाई प्राथमिकता दिँदै प्रदेशका सबै वडामा नियमित परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ भने त्यससँगै मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एकघण्टा मेरा लागि, योग, ध्यान र प्राणायामजस्ता अभियानलाई स्थानीय तहसँग सहकार्यमा निरन्तरता दिइने भएको छ ।

विशेषज्ञ सेवा अभाव भएका अस्पतालमा ‘प्रदेश विशेषज्ञ चिकित्सा सेवा प्रोत्साहन कार्यक्रम’ लागू गरिनेछ भने सामाजिक निर्धारक तत्वलाई सम्बोधन गर्दै स्वस्थ्य नागरिक, गुणस्तरीय जीवनयापन लक्ष्य प्राप्तिका लागि सबै नीतिमा स्वास्थ्य कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ । स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रभावकारी बनाउन प्रत्येक अस्पतालमा सम्पर्क व्यक्ति तोक्ने तथा स्थानीय तहसँग सहकार्यमा अन्तिम विसर्जनको व्यवस्था मिलाइने प्रतिबद्धता प्रस्तुत भएको छ । दुर्गमक्षेत्रका बासिन्दाले स्वास्थ्यसेवा पाउन कठिनाइ भोग्न नपरोस् भनी एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान विशेषज्ञसहित सञ्चालन गरिने जनाइएको छ ।

प्रदेश स्वास्थ्यसेवा ऐन अनुसार दुर्गमक्षेत्रका शिविरमा निजी अस्पताललाई समेत जिम्मेवारीका साथ परिचालन गरिनेछ । स्वर्णविन्दु प्राशन कार्यक्रमलाई व्यवस्थित गर्दै सबै जिल्लामा विस्तार गरिनेछ भने आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नेतृत्वमा योग, ध्यान, पूर्वकर्म, पञ्चकर्मलगायत सेवाको पहुँच वृद्धि गरिने भएको छ । यस्तै, ठूला सहर र उपत्यकामा अस्थायीरुपमा बसोबास गर्ने तथा चलायमान समुदायका स्वास्थ्य कठिनाइ पहिचान गरी स्थानीय तहको सहकार्यमा स्वास्थ्यसेवा उपलब्ध गराइनेछ ।

आपतकालीन अवस्थाका लागि तयारी सुदृढ बनाउन प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र विस्तार तथा सबै जिल्लामा पूर्वतयारी र प्रतिकार्य योजना अद्यावधिक गरिनेछ । स्वास्थ्य मन्त्रालय र मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण पूरा गरी संगठन सुधार, स्तरोन्नति र दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिइने भएको छ । प्रदेश स्वास्थ्य सुशासन सूचक तयार गरी विभिन्न चरणमा मूल्यांकन सञ्चालन गरिने उल्लेख गरिएको छ भने सुशासन, जवाफदेहिता र पारदर्शितालाई मजबुत बनाइँदै सबै खरिद प्रक्रिया पूर्ण बोलपत्रमार्फत हुने मन्त्रालयको प्रतिबद्धता छ ।

मातहतका कार्यालयको जिन्सी निरीक्षणपछि काम नलाग्ने उपकरण तथा म्याद सकिएका औषधि लिलामी गरी जिन्सी व्यवस्थापन व्यवस्थित गरिने भएको छ । तीनदिने समीक्षा गोष्ठीले जनस्वास्थ्य पूर्वाधार सुदृढीकरणदेखि सेवा विस्तार, डिजिटल रुपान्तरण, विशेषज्ञ सेवा अभिवृद्धि, सुशासन, आपतकालीन तयारी र समुदाय केन्द्रित कार्यक्रमसम्मका विषयमा केन्द्रित भएर प्रदेश स्वास्थ्य क्षेत्रलाई दिगो, गुणस्तरीय र समावेशी बनाउने दिशामा ठोस मार्गचित्र तय गरेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*