बागमतीमा दुई लाखभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराए

मतदाता नामावली मंसिर २० मा प्रकाशित हुने
साझाकुरा
२०८२ मंसिर १०, मंगलवार १२:४४

हेटौंडा- बागमती प्रदेशमा २ लाख ४ हजार ९ सय ५ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार राष्ट्रिय परिचयपत्र र प्रदेशभरका निर्वाचन कार्यालयमा गरिएको बायोमेट्रिक दुवै माध्यमबाट उल्लेखित संख्यामा नाम दर्ता गराएका हुन् । असोज १० गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली संकलन कार्यक्रममा नागरिकले आफ्नै जिल्लाका निर्वाचन कार्यालयमा तथा राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइन मार्फत् दर्ताका लागि निवेदन दिएका थिए । कार्यालयका सूचनाअधिकारी ताराप्रसाद आचार्यका अनुसार ९९ हजार ३ सय ३४ जनाले बायोमेट्रिक दिई दर्ता प्रक्रिया पूरा गरेका छन् ।

जसमध्ये ५६ हजार ३ सय ६४ जना पुरुष र ४४ हजार ८० जना महिला रहेका छन् । काठमाडौँ जिल्लामा सबैभन्दा धेरै ६२ हजार ४ सय १ जनाले नामावलीमा नाम दर्ता गराएका छन् । ललितपुर जिल्लामा २६ हजार ८ सय ११, चितवन जिल्लामा २२ हजार २ सय ६३ जना, भक्तपुर जिल्लामा २० हजार १ सय ७७ जनाले नाम दर्ता गराएका छन् । यस्तै, मकवानपुर जिल्लामा १४ हजार ६ सय ३ जना, काभ्रेपलाञ्चोक जिल्लामा १४ हजार ३ सय २९ जना, सिन्धुली जिल्लामा ७ हजार ३९ जनाले नाम संकलन गराएका छन् ।

रामेछाप जिल्लामा ६ हजार १ सय २ जना, दोलखा जिल्लामा ६ हजार ६ सय ८७ जना, सिन्धुपाल्चोक जिल्लामा ६ हजार ९ सय ३९ जना दर्ता भएका छन् । धादिङ जिल्लामा ८ हजार ४ सय ३१ जना, नुवाकोट जिल्लामा ८ हजार १ सय ८९ जना र रसुवा जिल्लामा ९ सय ३४ जनाले नाम दर्ता गराएको सूचना अधिकारी आचार्यले बताए । आचार्यका अनुसार नागरिकले आफूलाई पायक पर्ने निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराएपनि कुन जिल्लामा कति मतदाता थपिएका छन् भन्ने कुरा आयोगले वेबसाइटमा मतदाता नामावली प्रकाशित गरेपछि मात्र थाहा हुनेछ । असोज १० गतेसम्को तथ्यांकअनुसार बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ७ सय ९२ मतदाता रहेका छन् ।

निर्वाचन आयोगले मंसिर २० गतेदेखि पुस १५ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंसिर २० गते आयोगले मतदाता नामावली प्रारम्भिकरुपमा प्रकाशित गर्नेछ । मंसिर २१ देखि २७ गतेसम्म मतदाता नामावलीमा परेका त्रुटि सच्याउनका लागिे निवेदन दिन सकिनेछ । यसअवधिमा कसैले झुठा विवरण दिई नाम दर्ता गराएको छ भने त्यसविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । यसअवधिमा कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको जानकारी प्राप्त भएमा, सो व्यक्तिको नाम नामावलीबाट हटाउन सूचना दिन सकिनेछ ।

मंसिर २८ देखि पुस १ गतेसम्म उजुरी परेकालाई सफाइको मौका दिने, पुस २ देखि ५ गतेसम्म जिल्ला प्रमुख नामदर्ता अधिकृतले आवेदकको विवरण तथा उजुरीको छानबीन गरेर आवश्यक परे त्रुटि सच्याउने, नाम हटाउने तथा कानुन बमोजिमका निर्णय गर्नेछन् । पुस ६ देखि ९ गतेसम्म नाम हटाइएको तथा सच्याइएको विवरण जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित वडा कार्यालयमा सार्वजनिक गरिनेछ । फरक फरक जिल्लामा दोहोरो नाम दर्ता भएकाबारे छुट्टै विवरण तयार गरी जिल्लाबाट अद्यावधिक भएको डाटा सहित आयोगमा पठाइनेछ भने पुस १५ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशित गर्नेछ ।

कानुनबमोजिम निर्वाचन तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने व्यवस्था छैन । तर, यो वर्ष धेरै युवा छुटेको भनेर माग आएपछि सरकारले अध्यादेश ल्याएको थियो । अध्यादेश अनुसार असोज ९ गतेदेखि मंसिर ५ गतेसम्म देशभरका निर्वाचन कार्यालयले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य गरेको थियो । अध्यादेशअनुसार कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समय तोकिएको थियो । तर, धेरैले नाम दर्ता गराउन बाँकी भएकोले थप ५ दिन म्याद थपगरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*