‘सामाजिक न्याय, सुशासन र समृद्धि प्रमुख प्राथमिकता’ मुख्यमन्त्री बानियाँको सयदिनको उपलब्धि
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले एकसय दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले मंगलबार पत्रकार सम्मेलन गर्दै एक सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् । आफ्नो नेतृत्वको सरकारले गरेको प्रतिबद्धता, संकल्प र लक्ष्य पुरा गर्न सुरुका दिनदेखि नै काम गर्दै आएको उनले दाबी गरे । बागमती प्रदेशलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त, जवाफदेही, उत्तरदायी र पारदर्शी समाजको निर्माण गर्न, सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेको मुख्यमन्त्री बानियाँले बताए ।
मुख्यमन्त्री बानियाँले लक्ष्यअनुरुप सबै निकायमा जनतालाई सुशासनको प्रत्याभूति हुने किसिमले सेवाप्रवाह भइरहेको दाबी गरे । उनकाअनुसार चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि वार्षिक कार्ययोजना तयार भई कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ । मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनको क्रममा प्रदेशसभाबाट पास भएको संकल्प प्रस्तावअनुसारको कार्य गर्न केही बाधा अड्चन देखापरेको जिकिर गरे । मुख्यमन्त्री बानियाँले खर्च कटौतीको प्रतिबद्धता अनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ बमोजिम प्राप्त हुने सेवा सुविधा नलिएको बताए ।
सरकारी आवासमा हुने खर्च कटौती गरेको भन्दै मुख्यमन्त्री बानियाँले सचिवालयको प्रशासनिक खर्च ५० प्रतिशतले कटौती गरेको दाबी गरे । प्रदेशभरिका दलित, एकलमहिला, विपन्न तथा सीमान्तकृत परिवारको लागि एक हजार घर निर्माण गरी जीविकोपार्जनको लागि दुई लाख रुपैयाँसम्म रकम किस्ताबन्दीमा उपलब्ध गराउने योजना अघि बढाएको उनले उल्लेख गरे । मुख्यमन्त्री बानियाँले गुणस्तरीय पूर्वाधार नयाँ विकासको आधार भएकाले बहुवर्षे ठेक्का मापदण्ड सुनिश्चित गरी सोही अनुसार कार्य अघि बढाएको दाबी गरे । मुख्यमन्त्री बानियाँको उपलब्धिमा प्रशासनिक संरचना पुनसंरचनाको खाका पेश गर्नको लागि उच्चस्तरीय प्रशासनिक पुनर्सरचना निर्देशन समिति गठन गरेको उल्लेख गरिएको छ ।
अति गरिब र सीमान्तकृत समुदायलाई गाँस, बास र कपास सुनिश्चित गर्ने नीतिको मस्यौदा तर्जुमा गर्ने कार्य भइरहेको छ । अविरल वर्षा, पहिरो तथा जेनजी आन्दोलनका घटनामा सरकार तीव्ररुपमा सक्रिय रहेको मुख्यमन्त्री बानियाँले बताए । मनसुनपूर्व तयारी तथा प्रतिकार्य योजना लागू गर्दै १३ वटै जिल्लामा विपद व्यवस्थापन कोषमा रकम विनियोजन, क्षतिग्रस्त संरचना पहिचान तथा पुनर्निर्माण, आन्दोलनमा जलेका प्रहरी सवारी साधन किन्न दुई करोड ७५ लाख विनियोजन, नेपाल प्रहरी, सशस्त्र प्रहरी संरचना सुधारमा १५ करोड भन्दा बढी लगानी गरिएको मुख्यमन्त्री बानियाँले जानकारी दिए ।
त्यसैगरी सडक पूर्वाधारतर्फ ११ दशमलब ५ किलोमिटर सडक कालोपत्रे, ६ दशमलब ७४ किलोमिटर सडक ढलान, ५ किलोमिटर सडक ग्राभेल, ५ वटा पुल निर्माण तथा १ सय ९२ दशमलब ५ किलोमिटर सडक मर्मतसम्भार गर्ने कार्य सम्पन्न भएको उल्लेख गरिएको छ । चेपाङ, वनकरिया, माझी, बोटे एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत १६ वटा आवास निर्माण तथा खरको छानी उन्मुलन कार्यक्रमअन्तर्गत २० वटा आवास निर्माण गरिएको मुख्यमन्त्री बानियाँको दाबी छ । वित्तीय संघीयताको सुदृढीकरणको लागि २५ बुँदे हेटौंडा घोषणापत्र जारी गरिएको पनि विवरणमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री बानियाँले आर्थिक अभावको कारण उच्चशिक्षा अध्ययनमा कठिनाई भएका प्रदेशभित्रका विपन्न र सीमान्तकृत परिवारका जेहेन्दार विद्यार्थीलाई उच्चशिक्षा अध्ययनको लागि प्राविधिक उच्चशिक्षा छात्रवृत्ति निर्देशिकाको मस्यौदा तयार गरिएको उनले दाबी गरे । हेटौंडा उपमहानगरपालिका, चन्द्रगिरी नगरपालिका, मेलम्ची नगरपालिकालाई स्वस्थ्य सहरको अवधारणा कार्यान्वयनको प्रक्रिया बढाइएको उनले बताए । प्रदेशका हरेक जिल्लाका कम्तिमा एकवटा स्वास्थ्य संस्थालाई नमुना स्वास्थ्य संस्थाको रुपमा विकास र विस्तार गर्ने प्रक्रिया सुरुवात गरिएको उनले बताए । मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनका घाइतेको निःशुल्क उपचार गरिएको र सबै प्रादेशिक अस्पतालमा क्लिनिक सञ्चालन गरिएको दाबी गरे ।
सरकारी संरचना र प्रदेश सरकारको अनुदानबाट निर्माण गरिने भवनमा स्वदेशी काठको प्रयोगलाई अनिवार्य गरिएको विषय मुख्यमन्त्री बानियाँको उपलब्धिमा समावेश भएको छ । सवारी अभिलेख रहेका एक लाख ६० हजार फाईलको डिजिटाइजेशनलाई व्यवस्थि तगर्न सवारीसाधान तथा विद्युतीय अभिलेख प्रणाली व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको उनले बताए । मुख्यमन्त्री बानियाँले सवारी साधनको मापदण्ड र राइड शेयरीङको मापदण्ड १ महिनाभित्र तर्जुमा गरिसक्ने गरी कार्य प्रारम्भ भएको उल्लेख गरे ।
स्वास्थ्यक्षेत्रमा क्यान्सर, हृदयरोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरेको, भक्तपुर अस्पतालमा डायलाइसिस सेवा सुरु, प्रादेशिक अस्पतालमा भेन्टिलेटर सेवा विस्तारको तयारी, क्यान्सर पीडितलाई ५० हजारसम्म उपचार सहयोग, हृदयरोग उपचारका लागि गंगालाल तथा १३ अस्पतालसँग सम्झौता, ग्रामीण क्षेत्रमा पोर्टेबल अल्ट्रासाउन्ड सुविधा, आयुर्वेद औषधि उत्पादनमा १० नवीन उत्पादक क्षमता विस्तार, मनहरी–९ की मिठुमाया सुनारलाई आफ्नै लगानीमा निर्माण गरिएको घर हस्तान्तरणजस्ता गतिविधि सयदिनको उपलब्धी भएको मुख्यमन्त्री बानियाँले दाबी गरे ।
कृषि तथा पशुपालन क्षेत्रमा अविरल वर्षाको क्षति न्यूनीकरणका लागि राहत कार्यक्रम सञ्चालन, लम्पी स्किन रोगविरुद्ध ९६ हजार ३४७ डोज खोप, २२ पशु अस्पताल भवन निर्माण, भेटेरिनरी सेवाविस्तार, कृषि थोकबजार निर्देशिका निर्माण तथा मकवानपुर–सिन्धुलीलाई खोरेतमुक्तक्षेत्र घोषणा प्रक्रिया अघि बढाइएको विषयलाई मुख्यमन्त्री बानियाँले सय दिने उपलब्धी भनेका छन् । उद्योग, व्यापार तथा श्रमक्षेत्रमा दुई हजार ६६७ नयाँ उद्योग दर्ता, ७१२ व्यवसाय अनुगमन, ‘एकवडा एकउद्यम’ कार्यक्रम कार्यान्वयन, ३५ लाख कागजात डिजिटाइजेसन अभियान र यातायात कागजातमा जरिवाना छुट तथा पुनर्निर्माण व्यवस्था सय दिनभित्र लागू भएको मुख्यमन्त्री बानियाँको भनाई छ ।
त्यसैगरी चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय रंगशाला निर्माणको लागि चालु आर्थिक वर्षको विनियोजित बजेट भरतपुर महानगरपालिकालाई निकासा दिने व्यवस्था मिलाइएको उनले बताए । मुख्यमन्त्री बानियाँले जेनजी पुस्ताको माग अनुसार प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेट बनाउने बताए । बानियाँले कांग्रेसको संसदीय दलभित्र अविश्वासको प्रस्ताव दर्ता गरी बहादुरसिंह लामालाई विस्थापित गरेर मुख्यमन्त्री नियुक्त भएका हुन् ।







