हेटौंडामा सडक विस्तार सुचनाको प्रभावः व्यवसायी भन्छन–बजार भत्किने पक्का भयो

पसल खाली गर्न सामान ‘सेल’मा बिक्री
साझाकुरा
२०८२ मंसिर १५, आईतवार ११:३१

हेटौंडा- मंसिर २० गतेदेखि हेटौंडामा सडक विस्तार सुरुहुने निश्चित भएपछि प्रभावित क्षेत्रमा पर्ने व्यवसायीले आफ्ना सामग्री कम मूल्य ‘सेल’ मा बिक्री गर्न थालेका छन् ।विशेषगरी फर्निचर व्यवसायीले दराज, पलङ, कुर्सी लगायत फर्निचर सामान सस्तो मूल्यमा बिक्री गर्दा ग्राहकको भीड बढेको छ । बिहीबारदेखि सुरु गरिएको सेलमा दुई दिनमै करिब ८० प्रतिशत सामग्री बिक्री भएको व्यवसायीले बताएका छन् । मंसिर महिना विवाहको सिजन पनि भएकाले सामान किन्नेको संख्या बढेको व्यवसायीको अनुमान छ । सडक विस्तारमा पर्ने संरचना भत्किने लगभग पक्का भएपछि सामान बेचेर पसल खाली गर्नुबाहेक विकल्प नदेखिएको व्यवसायीले बताएका छन् ।

उपमहानगरपालिकाले वैकल्पिक स्थान तोकेको भए सरसामान सारेर व्यवसाय निरन्तर गर्न सकिने भएपनि सूचना समाप्त हुन लाग्दा पनि खासै पहलकदमी नदेखिएपछि सेलमा बिक्री गर्नुपरेको फर्निचर व्यवसायीको भनाइ छ । बैंकरोडका फर्निचर व्यवसायीका साथै चस्मा, जुत्ता तथा अन्य व्यवसायीले पनि सेल सुरु गरेका छन् । त्यस्तै, राप्तीरोड क्षेत्रका व्यापारीले पनि पसलका सामान सस्तोमा बेच्न थालेका छन् । समयमै सामान बेच्न पाए घाटा कम हुने, अर्को उपयुक्त स्थानको अभावलगायत कारणले सस्तोमा सामान बेच्न बाध्य भएको व्यवसायीले बताएका छन् । लगानीभन्दा कम मूल्यमा सामान बेचेर सडक विस्तारमा राज्यलाई सहयोग गरेको तर, राज्यले भने उचित व्यवस्थापनतर्फ ध्यान नदिएकोमा व्यवसायी रुष्ट बनेका छन् ।

उचित व्यवस्थापन भए घरजग्गा राज्यलाई दिन्छौँ : घरधनीहेटौंडामा सडक विस्तारको काम सुरु भएपछि २५ गज सीमा क्षेत्रमा पर्ने घरधनीले राज्यले उचित क्षतिपूर्ति दिएमा मात्र आफ्ना संरचना भत्काउन तयार रहेको बताएका छन् । शनिबार सीमाचोकमा भेला भएका उनीहरुले आफूहरुलाई सुकुम्बासी बनाउन नपाइने भन्दै आफूहरु विकास विरोधी नभएको र उचित व्यवस्थापन भएमा आफ्नो घरजग्गा राज्यलाई दिन तयार रहेको धारणा राखेका हुन् । सडक विस्तार आवश्यक रहेको स्वीकार्दै राज्यले व्यक्तिको निजी सम्पत्ति प्रयोग गर्दा उपलब्ध गराउनुपर्ने मुआब्जाका विषयमा ध्यान दिनुपर्ने पीडित रामहरि न्यौपानेले बताए ।

राज्यले सरोकारवालासँग वार्ता गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै तनहुँको दमौली मोडलमा समस्या समाधान गरिनुपर्ने सुझाव दिए । संविधानमा उल्लेख भएको हकअधिकार नपाउनु दुखद रहेको उनले बताए । पीडितको समस्यालाई शान्तिपूर्ण रुपमा समाधान गरिनुपर्नेमा उनको जोड थियो ।

मुआब्जा लिएको प्रमाण देखाउनुस् घर सरकारको नाममा गरौंला : कृष्ण कटुवाल मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्ण कटुवालले सडक विस्तारका नाममा सडक डिभिजन हेटौंडाले दमन गर्ने कार्य गरिरहेको बताएका छन् । पूर्वअध्यक्ष कटुवालले सामाजिक सञ्जालमा लेख्दै सडक डिभिजन हेटौंडाले दमनको झल्को दिने गरी काम गरिरहेको बताए । सडक डिभिजनले विभिन्न कार्यालयलाई पत्राचार गरेर दमनको झल्को दिने यो के तरिका हो भन्दै उनले प्रश्न गरेका छन् । कटुवालले सामाजिक सञ्जालमा भनेका छन्, ‘भदौ २३ मा दमन गरेको भएर २४ को घटना घटेको जस्तै यसरी पेट्रोलियमपदार्थ बन्द गराउनतर्फ लाग्ने, बिजुलीको मिटर सार्न लगाउने, टेलिफोन खानेपानीलाई पत्राचार गरेर दमनको झल्को दिने यो के तरिका हो ?’

‘हामीले अहिलेसम्म न मुआब्जा न क्षतिपूर्ति पाएका छौं । केही पाएका छैनौ । अनि हामीले सडक अतिक्रमण ग¥यो भन्ने कुरा कसरी मिल्छ ? म त भन्छु हामीलाई सडकले अतिक्रमण ग¥यो । अर्को कुरा मुआब्जा पहिले नै दिईसकेको भन्ने छ प्रमाण देखाईदेओस् घरसरकारको नाममा गरी दिउला । मेरो बुवाले २०१२ सालमा हेटौंडामा घर बनाउनुभयो, सडक ऐनको २५ गजको निर्णय २०२१ मा भयो, नगरपालिका २०२६ सालमा स्थापना भयो, अनि सडक ऐन २०३४ ले सो २५ गजको निर्णय २५ मिटर बनायो’ कटवालले भनेका छन् ।

सडक डिभिजनको
आन्तरिक तयारी तीव्र

यसैबीच, सडक डिभिजन कार्यालयले भने सडक विस्तारको आन्तरिक तयारीलाई तीव्र बनाएको छ । सीमा क्षेत्रका संरचना हटाउनका लागि १५ दिने सूचना प्रकाशित, विशेष टास्क फोर्स गठन, माइकिङ, रेखांकन कार्यका साथै विद्युत्, खानेपानी र टेलिफोनका संरचना हटाउन समन्वयलगायत कार्य भइरहेका छन् । सीमाक्षेत्रमा रहेको पेट्रोलपम्पलाई पेट्रोलियमपदार्थ नदिनका लागि आयल निगम अमलेखगञ्जलाई पत्राचार गरिएपछि बैंकरोडमा रहेको बलराम दास एण्ड सन्स पम्पले आफ्ना संरचना स्थानान्तरणको काम अगाडि बढाएको छ ।

टास्क फोर्सले बुधबारबाटै माइकिङसहित प्रारम्भिक कार्य सुरु गरिसकेको छ । प्रशासन र सडक कार्यालयले सडक सीमाक्षेत्रमा निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन बिहीबारबाट रेखांकन र रङ लगाउने काम थालेको छ । हेटौंडा–१५ रातोमाटेबाट मार्किङको काम सुरु गरेको हो । निर्धारित समयमा सडक सीमाक्षेत्रमा संरचना नहटाएमा मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तारको काम अघि बढाइने डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार विभिन्न ४ स्थानबाट एकैपटक डोजर चलाइनेछ ।‘१९ गतेसम्म अतिक्रमित संरचना आफैं नभत्काए २० गतेबाट अतिक्रमित संरचना भत्काउन डोजर प्रयोग हुन्छ’, प्रमुख अधिकारीले भने । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भने अतिक्रमित संरचना हटाउन सुरु भएपछि बजारक्षेत्रको मुख्य सडकमा सवारीसाधन आवागमन रोकिने र बाइपास सडक प्रयोग गर्ने गरी व्यवस्थापन थालेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । प्रजिअ अधिकारीका अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी आवतजावतका लागि वैकल्पिक व्यवस्थापनको काम थालेको छ ।

मंसिर ५ गते जारी सार्वजनिक सूचनामार्फत् रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ गजक्षेत्रभित्र पर्ने संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौंडाले आग्रह गरेको छ । यसको समयसिमा मंसिर १९ गते सकिदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*