सडक विस्तारमा अवरोध गर्नेलाई कडा कारवाही गर्ने प्रशासनको चेतावनी

‘सबै तयारी पूरा, कुनैपनि हालतमा काम रोकिँदैन’
साझाकुरा
२०८२ मंसिर १९, बिहीबार ११:०१

हेटौंडा-हेटौंडा बजारक्षेत्रको सडक विस्तार अभियानमा अवरोध पु¥याउने व्यक्तिलाई कानुनी दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले चेतावनी दिएको छ । बुधबार सार्वजनिक गरिएको सूचनामा प्रशासनले सडक विस्तार कार्यलाई रोक्ने, व्यवसायीलाई धम्क्याउने, उक्साउने र विकास निर्माणमा बाधा पु¥याउने गतिविधि सहन नहुने स्पष्ट गरेको छ । सडक डिभिजन कार्यालय मकवानपुरले मंसिर ५ गते सूचना जारी गर्दै सडक विस्तारका सबै तयारी पूरा भइसकेको जनाएको थियो । त्यसयता अधिकांश व्यवसायीले पसलका सामानमा ‘सेल’ अफर भनेर संरचना खाली गर्दै तथा तोकिएको मंसिर २० गतेभित्रै स्थानान्तरण गर्न सहयोग गरिरहेको प्रशासनले जनाएको छ ।

तर, केही व्यक्तिले सकारात्मक सहयोगलाई निरुत्साहित गर्दै धम्क्याउने, जबर्जस्ती पसल बन्द गराउने र सार्वजनिक काममा अवरोध सिर्जना गर्ने कार्य भइरहेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण गराएको छ । ‘सडक विस्तार कार्यमा अवरोध खडागर्ने उद्देश्यले प्रेरित कुनैपनि गतिविधिप्रति पूर्णसचेत रहेको छ । कानुनविपरीत कार्य नगर्न–नगराउन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ । यदि कसैले सडक विस्तारमा अवरोध सिर्जना गरेमा त्यस्ता व्यक्ति वा समूहलाई विद्यमान कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले उल्लेख गरेको छ ।

सडक डिभिजन कार्यालयले अघि बढाएको अभियानमा व्यापक जनसहभागिता रहेको र हेटौंडावासीले विकासका कामप्रति देखाएको समर्थन प्रशंसनीय रहेको पनि प्रशासनले जनाएको छ । सडक विस्तार कार्यमा जानीजानी अवरोध पु¥याउने, सार्वजनिकस्थानमा फोहोर फाल्ने, नियोजितरुपमा काम रोक्ने वा सरकारी निर्णय अवज्ञा गर्ने व्यक्ति विरुद्ध कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ । यस्ता गतिविधिमा संलग्नलाई व्यक्तिगतरुपमा समेत जिम्मेवार ठहर्याइने सूचनामा उल्लेख छ ।

प्रशासनले कुनैपनि हालतमा सडक विस्तारको काम नरोकिने जनाएको छ । लामो समयसम्म सबै पक्षको असहयोग सहन नसकिने बताउँदै सडक विस्तार सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ । मंसिर २० गतेबाट काम थालिने र सघाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । सडक विस्तारका दिन शनिबारसमेत परेकाले अनावश्यक भीडभाड नगर्न प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सर्वसाधारणलाई आग्रह गरेका छन् । रमाइलो हेर्न जानेहरुलाई पनि घरधनीको समर्थनमा आएको भन्ने अर्थ लाग्न सक्ने भएकाले अनावश्यक व्यक्तिहरु उपस्थित नहुन उनले आग्रह गरेका हुन् ।

आमनागरिकलाई अनावश्यकरुपमा उपस्थित नभई घरमै बसिदिन उनले भनेका छन् । सडक विस्तार कार्यमा अवरोध सिर्जना भए कडा सुरक्षा रणनीतिका साथ प्रस्तुत हुने पनि उनले चेतावनी दिए । विकास निर्माणमा अवरोध गर्ने छुट कसैलाई पनि नभएको उनको भनाइ थियो । ‘जिल्लाको जनशक्तिले मात्र अपुग हुने देखिएकाले प्रदेश सरकार र डीआईजी कार्यालयमार्फत् छिमेकी जिल्लाबाट समेत थप सुरक्षाकर्मी झिकाएर परिचालन गर्ने तयारी पूरा भएको छ,’ उनले भने । विगतमा सडक विस्तारका क्रममा भएको झडप र अश्रुग्यास प्रहारको घटना दोहोरिन सक्ने आशंका उनले गरे ।

स्थानीय प्रशासन ऐन र सडक ऐनले विकासनिर्माणको काममा सहजीकरण गर्ने र अवरोध गर्न नहुने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै, कानुनविपरीत जाने जोकोहीलाई कारबाहीको दायरामा ल्याइने बताए । ‘अहिले हामीले सुरक्षा चुनौतीलाई बढी नै आंकलन गरेका छौं । खरायोको सिकार गर्न जाँदा बाघको तयारी गर्ने भनेजस्तै हाम्रो तयारी छ,’ उनले भने, ‘हाम्रो उद्देश्य पब्लिकलाई दुःख दिने होइन । तर, कोही आपराधिक मानसिकता बोकेर आउँछ र शान्तिसुरक्षालाई नियन्त्रणमा लिन खोज्छ भने अश्रुग्यास र लाठी प्रहार स्वाभाविक हुन्छ । स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर हामी स्थितिलाई नियन्त्रणमा लिन्छौँ ।’

यो विषय व्यापारी र भाडामा बस्नेहरुले कुरा बुझिसकेका दाबी गर्दै उनले केही घरधनी र बाहिरी तत्वले मात्र समस्या खडा गर्न खोजे र उनीहरुलाई नियन्त्रणमा लिइने उनले बताए । उनले भदौ २४ गतेको जस्तै आन्दोलन हुन्छ भन्दै सामाजिक सञ्जाल र बाहिर धम्की (थ्रेट) दिने व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरु निगरानीमा रहेको सीडीओ अधिकारीले खुलाए । ‘बोल्ने स्वतन्त्रता छ भन्दैमा जे पनि बोल्ने र लेख्ने छुट कसैलाई छैन, अनावश्यक भिड गर्ने र प्रोटेस्टको नाममा कानुन हातमा लिने काम भए कोही उम्किन पाउँदैनन्,’ उनले बताए ।

सडक डिभिजन कार्यालय हेटौंडाको अनुरोधमा २० गतेका लागि प्रशासनले पूर्णसुरक्षा बन्दोबस्त मिलाएको छ । अधिकारीका अनुसार सडक कार्यालयले डोजर, आवश्यक उपकरण र जनशक्तिको तयारी गरिसकेको छ । ‘एकैपटक चार ठाउँबाट घरहरु भत्काउन सुरु गरिनेछ । एउटा घर भत्काउँदा त्यहाँ सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । त्यसपछि टोली अर्को घरमा जान्छ’ उनले भने । सडक विस्तारको क्रममा हेटौंडा उपमहानगरपालिकामा ५ सय ३१ घरटहरा प्रभावित हुने भएको छ ।हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका ५ सय ३१ घरटहरा भत्किने भएका छन् । सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार सडकको दायाँतर्फ २ सय ३४ र बायाँतर्फ २ सय ९७ संरचना भत्किने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*