जात्रा हेर्न थाहानगरमा शुक्रबार सार्वजनिक बिदा

साझाकुरा
२०८२ मंसिर २०, शुक्रबार ११:०४

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकाले तीनवर्षे इन्द्रायणी जात्राको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।नगर कार्यपालिकाको कार्तिक ३० गते भएको बैठकले तीनदिने जात्राको दोस्रो दिन नगरभर सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता हिरेन्द्रकुमार रायमाझीले बताए । बिहीबार उधौली पर्वमा संघीय सरकारले सार्वजनिक बिदा दिएको छ भने २० गते शनिबार परेको छ । यसरी थाहावासीले जात्रा लाग्ने तीनैदिन बिदा मनाउन पाउनेछन् ।

करिब ३ सय ५० वर्षदेखि थाहा नगरपालिकाको इन्द्रायणीचौरमा मेला लाग्दै आएको छ । साबिकको दामन र पालुङ गाविसमा लाग्ने मेलामध्ये यो सबैभन्दा पुरानो र ऐतिहासिक मेला हो । सांस्कृतिकरुपले नेवार र देउला समुदायसँग प्रत्यक्ष जोडिएको इन्द्रायणी जात्राको लागि पूजाविधि अनुसारको तयारी पूरा भएको इन्द्रायणी भगवती कालाभैरव गुठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठले जानकारी दिए ।

जात्राका लागि पालुङ देउला गाउँ (इन्द्रायणीबस्ती) बाट खालीरथ पालुङ ल्याइएको छ । तीनवर्षे जात्रा तान्त्रिक विधिविधान अनुसार मनाइन्छ । जात्रा सुरुहुने चार दिनअघि अर्थात् मंसिर शुक्लद्वादशीका दिन खालीरथ देउला टोलावाट नेवारबस्ती पालुङमा ल्याउने गरिन्छ । यसरी रथ ल्याउँदा पालुङबाट नेवार समुदायकै व्यक्ति गएर बोकेर ल्याउने चलन छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*