सामाजिक सञ्जाललाई नै आमसञ्चारमाध्यम ठान्ने प्रवृत्तिले समाजमा चुनौती थपियो

प्रेस अझै पूर्णरुपमा स्वतन्त्र हुन सकेन
साझाकुरा
२०८३ बैशाख २१, सोमबार १६:४९

हेटौंडा-मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले अन्तरक्रिया गरेको छ । आइतबार महासंघको सभाहलमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी, नागरिकसमाजका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुखअतिथि तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले हरेक वर्ष प्रेस स्वतन्त्रता दिवस मनाइए पनि व्यवहारमा प्रेस अझै पूर्णरुपमा स्वतन्त्र हुन नसकेको बताएका छन् । उनले सरकारबाट प्रत्यक्षअप्रत्यक्षरुपमा मिडियामाथि अंकुश लगाउने प्रयास भइरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले लोकतन्त्र कमजोर हुने बताए ।

रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले लोकतन्त्र स्थापनामा पत्रकारको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै अहिलको समयमा पत्रकारितालाई नै सबैभन्दा बढी कमजोर बनाउने काम भएको बताए । सामाजिक सञ्जाललाई नै आम सञ्चारमाध्यम ठान्ने प्रवृत्तिले चुनौती थपिएको उनको भनाइ थियो । पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहालले नेपालमा मात्र नभई विश्वभर प्रेसमाथि आक्रमण बढ्दो क्रममा रहेको उल्लेख गर्दै पत्रकारले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए ।

उनले सरकारले पछिल्लो समय सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन दिने निर्णय सरकारकै नीतिविपरित रहेको टिप्पणी गरे । स्वतन्त्र पत्रकार संघका महासचिव सुरेश श्रेष्ठले निष्पक्ष र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सन्तुलित समाचार प्रवाह गर्नुपर्ने बताए । महासंघ बागमती प्रदेश समिति सदस्य सुवर्णलाल श्रेष्ठले पत्रकारिता क्षेत्रमा बढ्दो एकपक्षीयताप्रति चिन्ता व्यक्त गर्दै पत्रकारले स्वतन्त्ररुपमा काम गर्न नसकेको अवस्था रहेको बताए ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पुष्प अधिकारीले प्रेसमाथि नियन्त्रण गर्न खोज्नु लोकतन्त्र र नागरिक अधिकारमाथिको प्रहार भएको बताए । उनले मिडियालाई नियन्त्रण होइन, जिम्मेवार ढंगले नियमन गर्नुपर्नेमा जोड दिए । प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहालले महिलाका लागि सञ्चारक्षेत्र चुनौती र अवसर दुवै भएको बताइन् । सञ्चारकर्मी प्रमोद सहनीले श्रमको उचित मूल्यांकन नहुँदा पत्रकारले समयमै पारिश्रमिक नपाउने समस्या रहेको बताए । आफूले काम गरेको संस्थाले १० महिनाको पारिश्रमिक नदिएको विषयलाई सम्बन्धित निकायसमक्ष उजुरी दिएपनि सम्बोधन नभएको गुनासो गरे ।

त्यसैगरी गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले प्रेस स्वतन्त्रता गहन विषय भएको उल्लेख गरिन् । राजनीतिक दलसँग आबद्ध पत्रकारिताले स्वतन्त्रताको मर्म कमजोर बनाउने धारणा राखिन् । ह्यूमन राइट्स मकवानपुरकी प्रतिनिधि कुमारी वाइबाले आवाजविहीनको आवाज उठाउँदा पत्रकारमाथि आक्रमण हुने गरेकोमा चिन्ता जनाइन् । उनले मिडियामाथिको चौतर्फी दमन रोक्न र राष्ट्रको चौथो अ·को संरक्षण गर्न आवश्यक रहेको बताइन् ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले प्रेस स्वतन्त्रताको संरक्षणका लागि सबैपक्ष जिम्मेवार हुनुपर्ने बताए । कार्यक्रममा वक्ताले मिडियामाथि बढ्दो दबाब, असुरक्षा, आर्थिक समस्या, विश्वसनीयतामा आएको कमि तथा सामाजिक सञ्जालसँगको प्रतिस्पर्धा जस्ता विषयमा आवाज उठाएका थिए ।

प्रेसमाथि सरकारी दमन बढेको भन्दै पत्रकार महासंघद्वारा प्रदर्शन

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आईतवार काठमाडौंको माईतीघर मण्डलामा ऐक्यवद्धता ¥याली तथा विरोध प्रदर्शन गरेको छ । सञ्चारक्षेत्रमाथि भइरहेका विभिन्न प्रकारका दमन र हस्तक्षेपको विरोध गर्दै महासंघले आन्दोलनको स्वरुपअनुसार कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटनामा उल्लेख्य वृद्धि भएकोमा गम्भीर चिन्ता व्यक्त गरिन् ।

महासंघको अनुगमन प्रतिवेदनअनुसार गतवर्ष ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना भएकामा यसवर्ष त्यो संख्या बढेर १ सय ३१ पुगेको उनले जानकारी दिइन् । अध्यक्ष शर्माले वर्तमान सरकारको १०० दिन पूरा भइसक्दा पनि प्रेस जगतका लागि उत्साहजनक वातावरण नबनेको र बरु राज्यका पछिल्ला गतिविधिले महासंघ सशंकित भएको बताइन् ।विशेषगरी सरकारी विज्ञापन र सूचना केवल सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने सरकारको सचिवस्तरीय परिपत्रले निजी सञ्चारमाध्यममाथि ‘आर्थिक नाकाबन्दी’ लगाएको महासंघको ठहर छ । यस कदमले लोकतन्त्रको आधारस्तम्भ मानिने मिडियाको मुखथुन्ने प्रयास गरेको र धेरै श्रमजीवी पत्रकारको रोजीरोटी खोसिएको अध्यक्ष शर्माको जिकिर छ ।

समाचार लेखेकै आधारमा पत्रकारलाई विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी मुद्दा लगाउने र प्रहरीले समाचारको स्रोत खुलाउन दबाब दिने कार्य भइरहेकोमा पनि महासंघले आपत्ति जनाएको छ । उनले यसलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार र लोकतन्त्रका लागि ‘खतराको घण्टी’ भनी टिप्पणी गरिन् । अध्यक्ष शर्माले भनिन्, ‘पत्रकारले समाचार लेखेकै र बोलेकै आधारमा राज्य रगैरराज्य पक्षबाट दमन भइरहेको छ । लेख्न पाउने अधिकार कुण्ठित गर्ने प्रयास जारी छ ।’ ¥यालीमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दवाडी, नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, नागरिक समाजका अगुवा तथा विभिन्न प्रेस संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सहभागीले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नागरिक समाज र मानवअधिकारकर्मीसँग ऐक्यवद्धताको अपिल गरेका छन् । महासंघले विगत १५ दिनदेखि विभिन्न माग राखी आन्दोलन गरिरहेको छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ र युनेस्को लगायत संस्थाले नेपालको सञ्चारक्षेत्रमा देखिएको वर्तमान संकट र सरकारी नीतिविरुद्ध ऐक्यवद्धता जनाइरहेको छ । ३१ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी विन्डहक सहरमा आयोजित सम्मेलनमा संयुक्त राष्ट्रसंघद्वारा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसकारुपमा मनाउने निर्णय गरिएको थियो ।

मिडिया क्षेत्रका सरोकारवालालाई दायित्व स्मरण गराउने दिवसकारुपमा यो दिनलाई औंँल्याउन सकिन्छ । आधुनिक विश्वमा नागरिकलाई सुुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि
रहेको छ । प्रेसको भूमिका संकुचित हुने अवस्था आउन नदिन विश्वव्यापीरुपमा यो दिवस मनाउन थालिनु प्रेसप्रति विश्वव्यापी प्रतिबद्धतासमेत हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*