बागमती गोल्डकप : साबिक बिजेत चर्च ब्वाईज सर्लाहीसँग स्तब्ध
हेटौंडा- मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकपमा सर्लाहीको बागमती युथ क्लबले चर्च ब्वाइज युनाइटेड, ललितपुरलाई पराजित गरेको छ ।आइतबार सहिदस्मृति रंगशालामा भएको खेलमा बागमतीले साविक विजेतासमेत रहेको चर्च ब्वाइजलाई २–१ गोलले हराएको हो । चर्च ब्वाइजका लागि सुशन मगरले ११ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बागमतीका लागि अनिष महर्जनले खेलको २८ मिनेटमा र कप्तान आयुष मगरले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरे । प्लेयर अफ दि म्याच बागमतीका लागि पहिलो गोल गर्ने महर्जन घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
बागमती युथले अब सेमिफाइनलमा फ्रेन्डस क्लब, ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौंबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल बैशाख २६ गते हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।







