विद्यालयमा न्यानो कपडा, शैक्षिक सामग्री र स्वास्थ्य सेवा

साझाकुरा
२०८२ मंसिर २०, शुक्रबार ११:०७

हेटौंडा- बकैया जेसीसले जेसीस सप्ताह अन्तर्गत एकैदिन बकैया गाउँपालिकामा रहेका तीन विद्यालयमा न्यानो कपडा, शैक्षिक सामग्री तथा स्वास्थ्यसम्बन्धी सेवा प्रदानगरेको छ । जेसीसले बकैया–४ रातोथलीस्थित सिर्जना आधारभूत विद्यालयमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको कार्यक्रम संयोजक तथा बकैया जेसीस उपाध्यक्ष सुनिल भोम्जनले जानकारी दिए । विद्यालयकी निवर्तमान प्रधानाध्यापक ज्योति पुडासैनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चुरियामाई मल्टी प्रोचेज प्रालिका प्रोपाइटर सुवास अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष जमानसिङ भोलन, बकैया जेसीसका पूर्वअध्यक्षहरु सुशील घिमिरे र रमेश फुँयाल, स्थानीय बुद्धिजीवी तथा अभिभावकलगायतको उपस्थिति रहेको थियो । प्रमुखअतिथि पुडासैनीले यस्ता गतिविधिले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह थपिने बताइन् । सोहीदिन बकैया–६झोलखानीस्थित जनस्थापितरत्न आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बकैया–७ हर्दास्थित माटोकोरी आधारभूत विद्यालयमा विद्यार्थीको रक्तसमूह परीक्षणसमेत गरिएको छ । शैक्षिक सामग्री वितरणका लागि बासुदेव न्यौपानेले सहायता गरेका हुन् । कार्यक्रम बकैया जेसीस अध्यक्ष शौभाग्या दुतराजको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*