भत्किएका घरहरूको भग्नावशेषमै व्यापार, ग्राहकको भीड
हेटौंडा- हेटौंडा बजारको मुख्य सडक विस्तारका क्रममा सडक डिभिजन कार्यालयले भत्काएका संरचनाका कारण बजारक्षेत्रमा सुरक्षा जोखिम बढेको छ । सडक सीमाभित्र परेका घरटहरा भत्किँदा बनेका भग्नावशेष, आधा झरेका भवनका भाग, असरल्ल झुन्डिएका तार तथा फुटपाथमै थुप्रिएका सामग्रीले आवतजावत निकै जटिल बनेको स्थानीयले बताएका छन् । फुटपाथमा नै ढलेका विद्युत् पोल, झुन्डिएका बिजुली तथा इन्टरनेटका तार, सडकमा छरिएका असरल्ल तार, सडक किनारमा ढलेका अशोकका रुख र थुप्रिएका इँटा, रड तथा ढलानका टुक्राका कारण पैदलयात्रु मुख्य सडकमै हिँड्न बाध्य भएका छन् । अस्पताललगायत अत्यावश्यक सेवातर्फ जाने मुख्य बाटो भएकाले बिरामी, ज्येष्ठनागरिक तथा अपा·ता भएका व्यक्तिहरु थप समस्यामा परेका छन् ।
केही स्थानमा भत्काइएका संरचनामुनि नै व्यवसायीले सेलमा सामान बेचबिखन गरिरहेका छन्, जसले दुर्घटनाको सम्भावनालाई अझ बढाएको छ । सुविधाविहीन स्थानमा राखिएका सामान किन्न ग्राहकको भीड लागिरहनुले बजार गतिविधि पुनः चलायमान बनेको देखिन्छ । भौतिक संरचना गुमेपनि व्यवसाय बचाइराख्न इट्टा, ढुंगा, काठकै थुप्रैमाथी बसेर उनीहरु व्यापार गरिरहेका छन् । धेरै व्यापारीहरु भौतिक संरचना गुमाएपछि व्यवसाय गुम्ने होकि भन्ने चिन्ताले खुला व्यापारलाई निरन्तरता दिएको बताउछन् । ‘व्यापार नै गुम्ने हो कि भन्ने चिन्ता थियो, त्यसैले भत्केको ठाउँमै पसल चलाइरहेका छौँ,’ एक व्यापारीले भने ।
सडक विस्तारका कारण क्षति पुगेका व्यापार पुनः सञ्चालनका लागि राहत, पुनस्र्थापना र वैकल्पिक व्यवस्थापन गरिदिन उनीहरुले सरकारसँग आग्रह गरे । डोजर परिचालनका क्रममा कमजोर बनेका ती संरचना जुनसुकै बेला ढल्न सक्ने जोखिम रहेको प्राबिधिकको भनाई छ । घरको अगाडिको भाग मात्र भत्काइएकाले बाँकी संरचना कमजोर बनेको अवस्थमा रहेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मका सडक खण्डमा मध्यरेखादेखि २५÷२५ गजभित्रका संरचना हटाउन सडक डिभिजन कार्यालयले मंसिर ५ गते १५ दिने सूचना जारी गरेको थियो ।
तोकिएको अवधि सकिँदा सम्म संरचना नहटाएपछि शनिबार करिब ५ सयभन्दा बढी संरचना डोजरले भत्काइएको हो । तर, सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ मा प्राप्त भएपछि सडक डिभिजन कार्यालयले विस्तार कार्य हाललाई स्थगित गरेको छ । एकसातापछि पुनः डोजर चल्ने बताइएको छ ।







