भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अन्तरक्रिया : न्यूनीकरणमा सबैको सामूहिक प्रयास जरुरी
हेटौंडा- भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार हेटौंडामा अन्तरक्रिया भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजना एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडास्थित कार्यालयको समन्वयमा अन्तरक्रिया भएको हो । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव बाबुराम गौतम र अख्तियार हेटौंडाका कार्यालयप्रमुख रामकृष्ण पुडासैनीले कार्यपत्र प्रस्तुत गरेका थिए । तीनवटै तहमा भइरहेका भ्रष्टाचारका प्रवृद्धि, अब सचेत हुनुपर्ने विषय, चालु आर्थिक वर्षमा परेका उजुरीलगायत विषय कार्यपत्रमा प्रस्तुत गरिएको थियो । मुख्यमन्त्री कार्यालयका सचिव गौतमले सूचना प्रविधिको तीव्रतर विकाससँगै भ्रष्टाचारको स्वरुप बदलिँदै गएको बताए । भ्रष्टाचारले समाजको हरेकक्षेत्रमा असर गरिरहेको उनको भनाई छ ।
सचिव गौतमले भ्रष्टाचार न्यूनीकरणमा संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए । पारदर्शीता, नैतिकता र जवाफदेहिता सरकारको हरेक कदममा आवश्यक रहेको उनले उल्लेख गरे । सचिव गौतमले बागमती प्रदेश सरकारको सुशासन प्रतिको प्रतिबद्धता अझ जरुरी रहेको धारणा राखे । सोहीअनुसार नै नीति, कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने उनको भनाई छ । अख्तियारका कार्यालयप्रमुख पुडासैनीले सुशासन प्रवद्र्धनको लागि सार्वजनिक सेवाप्रवाहमा चुस्तता र सहजता ल्याउनुपर्ने बताए ।
शासकीय संरचना र कानुनमा समयानुकूल सुधार गर्नुपर्नेमा उनले जोड दिए । योजना तर्जुमा, बजेट विनियोजन तथा आयोजना व्यवस्थापनमा प्रभावकारिता ल्याउनुपर्ने उनले बताए । भ्रष्टाचार न्यूनीकरणको लागि सार्वजनिक खरिद व्यवस्थामा सुधार गर्नुपर्ने बताउँदै प्रमुख पुडासैनीले यथार्थपरक विश्लेषण र औचित्यको आधारमा सूचना प्रविधि प्रणालीको छनोट गर्नुपर्नेमा जोड दिए । उनले आयोगको पाँचौ रणनीतिक योजना कार्यान्वयन रहेको जानकारी दिए । जसअनुसार निरोधात्मक रणनीति, प्रवद्र्धनात्मक रणनीति, उपचारात्मक रणनीति र संस्थागत क्षमता विकास रणनीतिमार्फत भ्रष्टाचार न्यूनीकरणको प्रयास भइरहेको उनले बताए ।
अन्तरक्रियामा प्रदेश सरकारका प्रमुखसचिव बाबुराम अधिकारीले भ्रष्टाचारलाई पूर्णरुपमा निर्मुल पार्न नसकिए पनि न्यूनीकरण गर्न सबैको सामूहिक प्रयास जरुरी रहेको बताए । अख्तियारमा परेका उजुरी, अदालतमा रहेका मुद्दाहरुबाट भ्रष्टाचार न्यूनीकरणको प्रयास पर्याप्त नदेखिएको उनको भनाई छ । समाजमा भएका सबै अनियमितता अख्तियारमा पुग्न नसकेको उनको धारणा छ । उनले अख्तियारले अनुसन्धान गर्ने प्रक्रियामा सुधार गरी तथ्यपरक र यथार्थपरक बनाउनुपर्ने बताए । प्रमुखसचिव अधिकारीले भ्रष्टाचार गर्ने अवसर धेरै हुँदा भ्रष्टाचार बढेको बताए । सरकारको नीति, कार्यक्रम, कानुन भ्रष्टाचार गर्ने अवसरलाई नै बन्दगर्नेतर्फ केन्द्रित हुनुपर्ने उनको भनाई छ ।
प्रमुखसचिव अधिकारीले नेपाली समाजले अब भ्रष्टाचारलाई नस्वीकार्ने बताए । पछिल्ला घटनाक्रमबाट भ्रष्टाचार गर्नेहरु कानुनी दायरा ढिलो चाँडो आउने पुष्टि भएको उनको भनाई छ । प्रमुखसचिव अधिकारीले भ्रष्टाचार हुने क्षेत्रलाई पहिचान गरी कार्यविधि र नियम बनाएरै न्यूनीकरण गर्ने बताए । उनले लाइसेन्स र यातायातसँग सम्बिन्धतकार्यालयमा विचौलियाको अन्त्य गर्न प्रदेश सरकार कठोररुपमा लागेको बताए । ती क्षेत्रमा सुधार गरेमा मात्र प्रदेश सरकारलाई हेर्ने दृष्ट्रिकोण पनि सकारात्मक हुने उनको बुझाई छ ।
अन्तरक्रियामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईलगायतले अहिले भइरहेको भ्रष्टाचारको अवस्था र अब न्यूनीकरण गर्न सकिने उपायका विषयमा धारणा राखेका थिए । कार्यक्रममा प्रदेशका मन्त्रालयका सचिवहरु, निर्देशनालय, जिल्लास्तरका कार्यालयप्रमुखहरु लगायतको सहभागिता रहेको थियो । आयोगको ३५ औं वार्षिक प्रतिवेदनका नुसार बागमती प्रदेशमा उजुरीको समग्र संख्या ११ हजार २ सय २७ रहेको छ । अन्य प्रदेशमा स्थानीय तहविरुद्ध बढी उजुरी परेको भएपनि बागमतीमा भने संघीय सरकार र पदाधिकारी सम्बन्धी धेरै उजुरी परेको छ ।
यसवर्षको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको नारा, ‘युवासँग एक भएर भ्रष्टाचारविरुद्ध लडौँः भोलिको इमान्दार समाज निर्माण गरौँ’ भन्ने रहेको छ । यसले निष्पक्ष, पारदर्शी समाज निर्माणमा युवाको महत्वपूर्ण भूमिकालाई प्रकाश पार्छ । राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचारविरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धिलाई अनुमोदन गरेको थियो । भ्रष्टाचार अन्त्यका लागि यो दिवस मनाइने गरिन्छ । तर, हरेकवर्ष यो दिवस मनाउने गरिए पनि भ्रष्टाचारको अन्त्य भने हुन सकेको छैन, बरु झन मौलाउँदै जानु चिन्ताको विषय बनेको छ ।







