निजीक्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री बानियाँ
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले निर्धारित समयमै चुनाव सम्पन्न गरेर गैरदलीय सरकार विदा हुनुपर्ने बताएका छन् । मुलुक राजनीतिक दलको नेतृत्वमा अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिक दललाई लामो समय बाहिर राखेर मुलुकमा स्थिरता ल्याउन नसकिने बताए । सिन्धुली उद्योग वाणिज्य संघको ३५ औं साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले भने, ‘मुलुकको संघीय सरकार लामो समयसम्म जनप्रतिनिधिविहीन हुनुहुँदैन । समयमै निर्वाचन गराएर गैरदलीय सरकार बाहिरिनु पर्छ । जनप्रतिनिधि मूलक सरकार नहुँदा के अवस्था हुने रहेछ भन्ने हेटौंडाका व्यवसायीले भर्खरै भोग्नु परेको उनले चर्चा गरे ।
जनताका प्रतिनिधिको सरकार नहुँदा हेटौंडाका व्यवसायी माथि प्रहार भयो । यसअघि पनि पटकपटक सडक भत्काउने प्रयास भएको थियो । जनप्रतिनिधिमूलक सरकार लखेटेर नागरिकको नाममा गठन भएको सरकारले समाधानको बाटो नखोजी के ग¥यो सबैले देखेकै छौं’ उनले भने । प्रदेश सरकार गरिब किसान, विपन्न नागरिकलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउँदै उनले शिक्षालाई प्राविधिक सीप दिएर मुलुकमै रोजगार सिर्जना गराउन प्रयासरत रहेको बताए ।
प्रदेश सरकार निजीक्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री बानियाँले आगामी बजेट निर्माणको काम सुरु हुनु अघि नै प्रस्ताव ल्याउन निजीक्षेत्रलाई आग्रह गरे । विघटित प्रतिनिधिसभा कांग्रेस मुख्यसचेतक श्याम घिमिरेले धारा ७६ बाहेक अन्य कुनै पनि धाराले प्रधानमन्त्री बन्न नसक्ने बताए । वर्तमान सरकार संवैधानिक रहेको भन्दै उनले संविधानको उल्लेखसमेत नगरी गरिएको प्रतिनिधिसभा विघटन पनि असंवैधानिक रहेको बताए । मुलुकमा व्यावसायिक वातावरण निर्माण हुन नसकेको भन्दै उनले प्रदेश व्यवसायीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरे । विघटित प्रतिनिधिसभाका सांसद तथा नेपाली कम्युनिष्ट पार्टीका नेता राजन दाहालले दल कमजोर बनाएर मुलुकलाई द्वन्द्वमा होम्ने षडयन्त्र चलिरहेको बताए ।
‘नेपाललाई युक्रेनजस्तो अवस्थामा पु¥याउन जिलेन्स्कीको खोजी भइरहेको छ । समाजमा द्वन्द्व भित्र्याउन प्रयास भइरहेको छ,’ उनले भने, ‘मुलुकमा शान्तिसुरक्षाको अवस्था कमजोर छ । हतियार र अपराधी बाहिर राखेर कस्तो निर्वाचन होला ?’ उनले जेनजी आन्दोलनपछि व्यावसायिक वातावरण थप बिथोलिएको भन्दै बाह्यलगानी भित्र्याउन पनि नयाँ परिस्थिति निर्माण आउनुपर्ने बताए । उनले जेनजी समेतको सहमतिमा संविधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचनमा जानुपर्ने बताए ।
विघटित प्रतिनिधिसभाकी सांसद तथा कांग्रेस सचेतक सुशीला थिङले सरकार असंवैधानिक रहेको बताइन् । उनले संसद् भ· गर्नुपनि असंवैधानिक भएको भन्दै त्यसैकारण संसद् पुनःस्थापना हुनुपर्छ भनेर आफूहरु अदालत गएको बताइन् । ‘समाजमा भाइरल प्रवृत्ति छ, त्यसले समाजलाई ठीक ठाउँमा पु¥याउँदैन’ उनले भनिन्, ‘समाज र मुलुक थप दुर्घटनामा जान सक्छ । जसले जे काम गर्ने हो, त्यसले त्यही नगर्दा अहिले समस्या आएको हो ।’







