प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितको ध्यानाकर्षण
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको मुख्य बजारक्षेत्रमा सडक विस्तारमा सर्वोच्च अदालतको आदेशविपरित स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितले सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले सडक सीमाक्षेत्रमा निर्माण भएका घरसंरचना नभत्काउन सर्वोच्च अदालतको आदेशलाई अवज्ञा गर्दै सडक विस्तारकार्य अगाडि बढाएर मानवअधिकारको उल्लंघन गरेको भन्दै सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्व सांसद विन्दवासिनी कंसाकारले पूर्वसूचना नदिई मानवअधिकारको आधारभूत मूल्य र मान्यता पालना नगरी मध्यरातमा घरमा डोजर चलाइएको भन्दै आपत्ति जनाइन् ।
‘बिना नम्बरप्लेटको डोजरहरु लिएर उहाँहरुले गैरकानूनी रुपमा घर भत्काउनुभएको छ । मान्छे सुतिरहेकै बेलामा मान्छेलाई एकपटक सूचना समेत नदिइकन नियतबस उहाँहरुले घर भत्काउनुभयो । मानवअधिकारको उल्लंघन गर्नुभएको छ । यो कुरा स्वीकार्य छैन । हेटौंडाको जनताका लागि राज्य कहाँ छ ? राज्यले विध्वंश मच्चाउने सरकारी कर्मचारीलाई कानूनी कारबाही गर्छ कि गर्दैन ?’ उनले भनिन् । सडक डिभिजन कार्यालयले हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गको सडकसीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वाेच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरेको छ । अदालतले हेटौंडाको सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न मंसिर १९ गते उत्प्रेषण आदेश दिएको थियो ।
शुक्रबार अदालतको आदेश प्राप्त नभएको दाबी गर्दै डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले आइतबार आदेश प्राप्त भएसंगै विस्तारकार्य स्थगन गरेको जनाएका थिए । शनिबार एकैदिन ७ किलोमिटर सडक सीमाभित्र पर्ने ५ सय घरटहराहरु सांकेतिकरुपमा भत्काएको हो । सडक विस्तारको विरोधमा हेटौंडाका घरधनीले जिल्ला प्रशासन कार्यालय घेराउ
गरेका थिए । विरोध प्रदर्शनमा उत्रिएका पीडितले सडक डिभिजनले सर्वोच्च अदालतको आदेशविपरीत घर भत्काएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बाहिर नाराबाजी गरेका थिए । एकाबिहानै डोजर चलाएर घर भत्काइनु मानव अधिकारको ठाडो उल्लंघन भएको उनीहरुको आरोप थियो ।
घरटहरा भत्काइएपछि हेटौंडा बजार अहिले अस्तव्यस्त छ । सडककिनार तथा पेटीमा घर भत्काइएका इट्टा तथा सिमेन्टका टुक्रा थुपारिएको छ भने आमसर्वसाधारण सडकबाटै हिँड्न बाध्य छन् । आकस्मिकरुपमा भएको घटनाले व्यवसाय ठप्प हुने जोखिम बढेपछि व्यवपारीले वैकल्पिक उपायस्वरुप खुला आकाशमुनि व्यापार सञ्चालन गर्न थालेका छन् । सुविधाविहीन स्थानमा राखिएका सामान किन्न ग्राहकको भिड पहिलेकै जस्तो छ । भौतिक संरचना गुमेपनि व्यवसाय बचाइराख्न इँटा, ढुंगा, काठकै थुप्रोमाथि बसेर उनीहरुले व्यापार गरिरहेका छन् ।
भौतिक संरचना गुमाए पछि व्यवसाय गुम्ने हो कि भन्ने चिन्ताले खुला व्यापारलाई निरन्तरता दिएको व्यवसायी बताउँछन् । ‘व्यापार नै गुम्ने हो कि भन्ने चिन्ता थियो, त्यसैले भत्केको ठाउँमै पसल चलाइरहेका छौँ,’ एक व्यापारीले भने । सडक विस्तारका कारण क्षति पुगेका व्यापार पुनः सञ्चालनका लागि राहत, पुनस्र्थापना र वैकल्पिक व्यवस्थापन गरिदिन उनीहरुले सरकारसँग आग्रह गरेका छन् । एकातिर भत्किएका संरचनाको भग्नावशेष व्यवस्थापन हुन सकेको छैन भने अर्कोतर्फ सवारी आवागमनमा समेत असहजता देखिएको छ ।
यद्यपि हेटौंडा बजारक्षेत्रको भत्किएका संरचना व्यवस्थापनमा स्थानीयबासी लागि परेका छन् । हेटौंडाको मेनरोडदेखि राप्तिरोड तथा पिपलबोटक्षेत्रका स्थानीय भत्किएका घरको सामग्री व्यवस्थापनमा जुटेका छन् । मुख्य बजारक्षेत्रमा सवारी आवागमनमा रोकेर भत्किएका संरचना हटाउन स्थानीय सक्रिय देखिन्छन् । यो कार्यमा सघाउन सडक विस्तार र निर्माण कार्यलाई सहज बनाउन तथा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बजारक्षेत्रमा सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ ।
बुधवारदेखि हेटौंडाको मुख्य बजारक्षेत्रको बुद्धचोकदेखि चौकीटोलओरालोसम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको छ । निर्माणकार्य छिटो सक्न मद्दत पुग्ने अपेक्षा सहित सवारी डाइभर्ट गरेर संरचना हटाउने काम भइरहेको हो । बजार क्षेत्रलाई कुरुप र दुर्गन्धित हुन नदिन हेटौंडाउपमहानगरपालिकाले पनि सक्रियता देखाएको छ । उपमहानगरले सडकमा थुप्रिएका फोहोर र भग्नावशेष संकलनकार्यलाई तीव्रता दिएको छ भने डोजर र ट्रिपरको प्रयोग गरी सडक सफा गर्ने काम भइरहेको छ ।







