नेपाल अटो ई–रिक्सा संघमा गौतम
हेटौंडा- नेपाल अटो ई–रिक्सा व्यवसायी संघ मकवानपुर जिल्लाको अध्यक्ष पदमा भीमप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् ।संघको विहीबार हेटौंडामा भएको ८ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । गौतमले यसअघि तीन कार्यकाल सञ्चालन गरिसकेका छन् । विहीबारको भेलाले पुनः चौथो कार्यकालको लागि उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । संघको दुई वर्षको एक कार्यकाल हुने व्यवस्था छ ।
संघका अध्यक्ष नवराज घिमिरेको सभाध्यक्षता तथा नेपाल राष्ट्रिय यातायात महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भएको भेलाले उपाध्यक्षमा होमलाल देउला, सचिव भीमबहादुर पाख्रिन, कोषाध्यक्ष गोविन्दप्रसाद तिमल्सिनासहित सदस्यहरु फणेन्द्र सञ्जेल, उत्तम अधिकारी, सूर्यबहादुर थिङ, टेकप्रसाद न्यौपाने र हरिप्रसाद न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।
वि.सं. २०७३ सालमा स्थापना भएको संघमा हाल चारसय ९७ जना व्यवसायीहरु सदस्य रहेका छन् । संघमा अटो, विद्युतीय ई–रिक्सा सदस्य हुने व्यवस्था छ ।कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, नारायणी यातायात कम्पनी प्रा.लि.का सञ्चालक माधवप्रसाद अधिकारी, नेपाल यातायात राष्ट्रिय महासंघका सहकोषाध्यक्ष अर्जुनप्रसाद गौतम, नेपाल यातायात राष्ट्रिय महासंघका मकवानपुर संयोजक ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य रञ्जना बर्तौैला, जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख बच्चुराम फुयाँललगायतले यात्रुहरुको सेवामा अटो र ई–रिक्साले निकै ठूलो भूमिका निर्वाह गरेकोले अझै जिम्मेवार भएर यात्रुसेवामा लाग्न सुझाव दिएका थिए ।







