त्रिभुवन राजपथलाई पर्यटकीय मार्ग बनाउन प्रस्ताव

१६ मिटरमात्र सडकसीमा निर्धारण गर्न अनुरोध
साझाकुरा
२०८२ मंसिर २७, शुक्रबार १३:२१

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले उपमहानगर हुँदै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्ग बनाउन प्रस्ताव गरेको छ । त्रिभुवन राजपथअन्तर्गत हेटौंडाको बुद्धचोकबाट उत्तरतर्फको खण्डलाई पर्यटकीय राजमार्गको रुपमा विकास गर्न प्रस्ताव गरिएको हो । हेटौंडामा भएको जनप्रतिनिधि र सरोकारवालाको भेलाले राष्ट्रिय राजमार्गको विकल्पमा पर्यटकीय राजमार्गको रुपमा विकास गर्न सरकारसँग माग गर्ने निष्कर्ष निकालेको छ । बुद्धचोकबाट उत्तरतर्फको खण्डमा बस्ती विकास हुँदै गएको र यो मार्गमा सरकारको ठुलो लगानीको औचित्य र उपादेशता कम हुनुका साथै प्रतिफलसमेत कम दिने भएको पर्यटन मार्गको रुपमा विकास गर्न सरकारसँग माग गर्न स्थानीय सहमत भएका हुन् ।

पर्यटकीय मार्गको रुपमा अगाडि बढाउन प्रस्ताव गर्दै यो सडक खण्डलाई सडक केन्द्रबाट दायाँबायाँ १६–१६ मिटरमात्र सडकसीमा निर्धारण गर्न सरकारसँग अनुरोध गर्ने गरी भेलामा सहमति भएको हेटौंडा उपमहानगरपालिका वडा नंं. २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले बताए । सडक डिभिजन हेटौंडाले बुद्धचोकबाट सामरी पुलसम्म दायाँबायाँ २५–२५ गजको सडक सीमाभित्रका घरटहरा हटाउन सूचना जारी गरी प्रक्रिया अगाडि बढाइएसँगै यो मार्ग भएर जाने वडा नम्बर १ र २ का वडाध्यक्षसहित जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको भेलामा सडक केन्द्र भागबाट दायाँबायाँ १६–१६ मिटर चौडा गर्न प्रभावितले सहमति जनाएका छन् ।

वडाध्यक्ष महर्जनले विकास नागरिकको लागि भएको र विनाशले मात्र समृद्धि हासिल गर्न नसकिने भन्दै हेटौंडाको बुद्धचोकबाट त्रिभुवन राजपर्थको उत्तरतर्फ सडक चौडाका नाममा ठुलो लगानी गर्नुको औचित्य पुष्टि हुने आधार नभएकोले सडक केन्द्रबाट १६–१६ मिटर चौडा गर्न उपयुक्त हुने सुझाए । यस्तै हेटौंडा उपमहानगर प्रवक्तासमेत रहेका वडा नम्बर १ वडाध्यक्ष सविन न्यौपानेले द्रुतमार्ग बनिसकेपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप घट्ने र हेटौंडाबाट उत्तरतर्फका पालिकाको बस्तीबाट पलायन बढ्दै गएकोले बुद्धचोकबाट त्रिभुवन राजपर्थको उत्तरतर्फ सडक केन्द्रबाट १६–१६ मिटर चौडा गर्दा पर्याप्त हुने बताए ।

न्यौपानेले सडक केन्द्रबाट २५–२५ गज चौडा गर्दा सरकारको लगानीको अनुपातमा कम प्रतिफल प्राप्त हुने भन्दै मितव्ययिता र लाभ अनुपातका आधारमा सडक केन्द्रबाट १६–१६ मिटर चौडा उचित हुने भएकोले उपमहानगरपालिकाले समेत पर्यटन मार्गको अवधारणा अगाडि बढाउन संघीय सरकारसँग आग्रह गर्न प्रक्रिया अगाडि बढाएको बताए । ‘त्रिभुवन राजपथको बुद्धचोकबाट उत्तरतर्फ पर्यटकीय मार्ग बनाउन कार्यपालिका बैठकले समेत निर्णय गरेको छ ।’ उनले भने, ‘आगामी पुसमा बस्ने नगरसभाबाट पारित गरेर संघीय सरकारसमक्ष पेस गर्नेछौं ।’

हेटौंडा उपमहानगरपालिकाको आइतबार बसेको ७६ औँ कार्यपालिका बैठकले नगरसभामार्फत् संघीय सरकारलाई यस्तो अनुरोध गर्ने निर्णय गरेको हो । प्रवक्ता न्यौपानेले पर्यटकीय मार्ग बनाउँदा नागरिकको भौतिक संरचनामा कम क्षति हुने र सरकारको लगानीका आधारमा उच्चतम प्रतिफलसमेत प्राप्त हुने बताए । सडक डिभिजन हेटौंडाले एसियन राजमार्ग पर्ने हेटौंडा उपमहानगरपालिकाको रातोमाटोदेखि राप्तीपुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरीपुलसम्म सडकसीमा संरक्षण गर्न भन्दै सडक सीमाभित्र रहेका घरटहरा हटाउन सूचना जारी गरेको थियो ।

त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरीपुलसम्म करिब तीन किमि रहेको सडक डिभिजन हेटौंडाले जनाएको छ । यस खण्डमा सडक चौडाका क्रममा हेडम्बी हाइटसम्म सडक डिभिजनले डोजर चलाएको छ भने त्यसबाट उत्तरतर्फ स्थानीय आफैंले घरटहरालगायत संरचना हटाउने क्रम जारी रहेको छ । यसैबीच उपमहानगरले हेटौंडा हुँदै जाने त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गको रुपमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । हेटौंडा उपमहानगरको कार्यपालिका बैठकले नगरसभामार्फत् संघीय सरकारलाई यस्तो अनुरोध गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*