चेपाङ विद्यार्थीले बनाएको भूउपग्रहको सफल परीक्षण

साझाकुरा
२०८२ मंसिर २९, आईतवार १२:४९

हेटौंडा- पूर्वीचितवनको खैरहनी नगरका दुई विद्यालयमा अध्ययनरत सीमान्तकृत चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण सफल भएको छ । खैरहनी नगरपालिका–१ मा रहेको नवोदय स्कुल र अन्तोदय जनजाति आवासीय माविका नौ जना चेपाङ बालबालिकाले बनाएको स्याटेलाइट चीनबाट प्रक्षेपण गरिएको हो । ‘स्लिपर टु स्याट’ नाम दिइएको स्याटेलाइट प्रक्षेपण गरिएको परियोजनाका प्रोजेक्ट व्यवस्थापक ऋषभ अधिकारीले जानकारी दिए । चीनको ‘काइनेटिक वान’ रकेटबाट स्याटेलाइट प्रक्षेपण गरिएको थियो । अधिकारीले भने ‘प्रक्षेपण सफल भयो तर, स्याटेलाइटसँग कनेक्सन कार्य हुन सकेको छैन ।’

व्यवस्थापक अधिकारीले भूकम्प आउनुअघि उत्पन्न हुने सूक्ष्म इलेक्ट्रोम्याग्नेटिक तर· मापन गरी पूर्वसूचना दिने प्रविधि स्याटेलाइटमा समावेश गरिएको पनि जानकारी दिए । स्याटेलाइटमा विद्युतीय चुम्बकीय प्रणाली (इलेक्ट्रोम्याग्नेट) जडान गरिएको छ । यसले पृथ्वीबाटै स्याटेलाइटको गति रोक्न र कक्ष परिवर्तन गर्न सक्ने उनको भनाइ छ । स्याटेलाइट कम्तिमा पाँच वर्षसम्म सञ्चालनमा रहने अपेक्षा गरिएको छ । स्याटेलाइटको कक्षीय आयु (अर्बाइटल लाइफटाइम) छोट्याउन जोखिम रहेकाले कम्तिमा डेढ वर्षसम्म मात्र सञ्चालन हुने सम्भावना छ ।

‘स्लिपर टु स्याट’ अन्तरिक्ष प्रतिष्ठान नेपाल परियोजनाले चेपाङ बालबालिकालाई स्याटेलाइट निर्माणको तालिम दिएर बनाउन लगाएको हो । अन्तोदय जनजाति आवासीय माविका प्रधानाध्यापक रामबाबु चौधरीले अमेरिकामा अध्ययन गरेका डा. आभाष मास्केले स्याटेलाइटसम्बन्धी काम गरेको बताए । उनकै टिमले विद्यालयमा आएर दुई वर्षअगाडिदेखि सीमान्तकृत बालबालिकालाई समेटेर आफूले सिकेका ज्ञान बाँड्न थालेका थिए । प्रधानाध्यापक चौधरीले भने, ‘क्षमता भएका चेपाङ बालबालिकालाई समेटेर एक वर्षभन्दा लामो समय लगाई तालिम प्रदान गर्ने र विभिन्न प्रविधिका बारेमा जानकारी गराउने गर्नुभएको थियो ।’

डाक्टर मास्केको परियोजनाका प्रतिनिधिले विद्यालयमै आवासीय सुविधासहित विद्यार्थीलाई स्याटेलाइट बनाउने तालिम दिएको थियो । प्रधानाध्यापक चौधरीले भने, ‘चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट बुधबार प्रक्षेपण भयो भन्दा ज्यादै खुसी लाग्यो । बालबालिकालाई थोरै मात्रै अवसर दिए पनि उनीहरुभित्रको क्षमता प्रस्फुटन हुन सक्छ भन्ने कुरा प्रमाणित भएको छ ।’ स्याटेलाइट निर्माण गर्नेमा नवोदय र अन्तोदयका कक्षा ७, ८ र ९ मा पढ्ने विद्यार्थी सहभागी भएका थिए । छानिएका नौ जना विद्यार्थीलाई तालिम दिएपछि उनीहरुले स्याटेलाइट बनाउन सकेका हुन् । नौ जनामध्ये पाँच छात्रा र चार छात्र छन् ।

स्याटेलाइट निर्माणमा बिनामाया प्रजा, एलिसा चेपाङ, शीतल प्रजा, सजिना चेपाङ, शिवकुमार चेपाङ, सुमिना तितुङ, अमृत चेपाङ, सुहान प्रजा, रनसिङ प्रजा रहेका छन् । स्याटेलाइट निर्माणमा अगुवा भूमिका खेल्ने अमृत चेपाङ हाल कक्षा ११ मा अध्ययन गर्दै छन् । जम्मा १२० विद्यार्थीमध्ये नौ जना विद्यार्थी छनोट गरी परियोजनाले तालिम दिएको थियो । उनीहरुले १६ महिना लगाएर स्याटेलाइट निर्माण गरेको परियोजनाका प्रोजेक्ट व्यवस्थापक अधिकारीले बताए । उनीहरुले बिहान स्कुलमा नियमित अध्ययन गर्ने, अपराह्न ४ः३० देखि ६ बजेसम्म स्याटेलाइटको काम गर्ने गर्थे । सीमित स्रोतसाधन र कडा मेहनतले बनाइएको स्याटेलाइट प्रक्षेपण हुँदा दुवै विद्यालय परिवार अहिले हर्षले रमाएको छ । परियोजना व्यवस्थापक अधिकारीका अनुसार गत जेठमा स्याटेलाइट निर्माण सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*