स्थानीय उत्पादनको वृहत् प्रदर्शनी मेला समापन

साझाकुरा
२०८२ मंसिर २९, आईतवार १२:५२

हेटौंडा- हेटौंडा–८ स्थित सर्वोत्तमसंचिती बचत तथा ऋण सहकारी संस्थाको स्थानीय उत्पादनको दुईदिने प्रदर्शनी तथा विशेष छुटसहितको बिक्री मेला समापन भएको छ ।शुक्रबारदेखि सुरु भएको मेला शनिबार बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलको प्रमुख आतिथ्यतामा समापन भएको हो । मेलामा सहकारी, महिला समूह तथा रैथाने परिकार गरी कुल ५० स्टल रहेका थिए ।सहकारीका तर्फबाट ४०, महिला समूहका ६ तथा रैथाने परिकारका २ स्टल राखिएको सहकारीका अध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए । प्रदर्शनमा आलस, चामल, बेसार, तेल, दाल, पिठो लगायत स्थानीय उत्पादनका स्टल रहेका थिए ।

अध्यक्ष बस्नेतकाअनुसार सहकारीमा आवद्ध महिला समूहले तयार गरेका धूप, हस्तकलाका सामग्रीका स्टल राखिएको हो । उत्पादनक्षेत्रमा सहकारीको प्रवेशले सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न मेलाको आयोजना गरिएको उनले बताए । सहकारीले मेरो उत्पादन म उपभोक्ता सिद्धान्त अनुसार ६४ प्रकारका उपभोग्य वस्तु तथा पशुआहार उत्पादन गर्दै आएको छ । सहकारीमा आवद्ध महिला एक समूह एक उत्पादन अभियानअनुसार उत्पादनमूलक कार्यमा सक्रिय रहेका छन् । अहिले महिलाको ६ वटा समूहले छुट्टाछुट्टै उत्पादन गर्दै आएका छन् । सहकारीमा ३ हजार ४६ सदस्य रहेका छन् । सहकारीले मेलासँगै सहकारीको १९औँ वार्षिक साधारणसभा आयोजना गरेको हो ।

सहकारीको शेयरपूँजी २ करोड ९० लाख ६८ हजार रुपैयाँ रहेको छ । सहकारीले सदस्यलाई ६ करोड २२ लाख ५९ हजार रुपैयाँ ऋण लगानी गरेको छ । गत आर्थिक वर्षमा ७४ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । पछिल्लो समय सर्वोत्तम सहकारी उत्पादनमूखी सहकारीका रुपमा अघि बढिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*