ग्रामीण बहुउद्देश्यीयको साधारणसभा सम्पन्न
हेटौंडा- हेटौंडा–२ स्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता एवम् राष्ट्रिय सहकारी बैंक लि.का शाखाप्रबन्धक रामेश्वर अर्यालको विशेष आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले गरेको गतिविधि र आगामी कार्यक्रमबारे जानकारी दिएका थिए । उनकाअनुसार सहकारीले बचतमा २ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याज भुक्तानी गरिएको छ भने कर्जामा ८ प्रतिशतदेखि १५ प्रतिशतसम्म कर्जा लगानी गरिएको छ । आर्थिक मन्दीको कारण प्रभावित भएका ऋणीलाई आवश्यकताको आधारमा कर्जाको म्याद थप गरेको उनले बताए ।
अध्यक्ष अधिकारीले सूचना प्रविधिको प्रयोग गरी संस्थाले सःशुल्क आफ्नै मोवाइल बैंकिङ सेवा उपलब्ध गराइएको बताए । त्यसैगरी संस्थाले ११ लाख ३२ हजार खुद नाफा आर्जन गरेको कोषाध्यक्ष रामप्रसाद पुडासैनीले जानकारी दिए । २ हजार २ सय ४७ सदस्यलाई सेवा उपलब्ध गराएको सहकारीको शेयरपुँजी २ करोड २२ लाख रहेको छ ।
साधारणसभाको अवसरमा सहकारीले ज्येष्ठ शेयरसदस्यतर्फ हेटौंडा–२ का मनमाया पुडासैनी, उत्कृष्ट बचततर्फ हेटौंडा–१२ का यादव घिमिरे र सीतामाया भोलन, उत्कृष्ट कारोबारतर्फ हेटौंडा–१७ का अनिल लामा र हेटौंडा–६ का प्रल्हाद खनाल, सञ्चालक समितितर्फ हेटौंडा–१२ का गीता कोईराला, बालबचततर्फ हेटौंडा–४ का शिवेसप्रसाद कुशवाह, संस्थापक शेयर सदस्यतर्फ हेटौंडा–१२ का चन्द्रबहादुर गोले, दुर्गाप्रसाद घिमिरे, शरणबहादुर घले र रामप्रसाद पुडासैनी र कर्मचारीतर्फ हेटौंडा–२ का तारा कँडेललाई सम्मान गरेको छ ।
त्यसैगरी २०८१ सालको एसईई परीक्षामा ३ दशमलब २ भन्दा बढी जिपिए ल्याउने शेयर सदस्यका सन्ततिहरु प्रयोगराज खड्का, आविस्कार अधिकारी र रुपेश अग्रवाललाई सम्मानित गरिएको छ । स्थानीय सीप एवम् श्रोतसाधानको पहिचान गरी सदस्यको आर्थिक सामाजिक तथा सांस्कृतिक विकास गर्ने उद्देश्यले २०५६ चैत्र २२ गते हेटौंडा–१२ सिंग्रेनीमा सुरुवात गरिएको यस संस्थाले हेटौंडा–२ बुद्धचोकमा केन्द्रीय कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।







