दिव्यतारा सहकारीको राईगाउँमा सेवाकेन्द्र सभा सम्पन्न
हेटौंडा- दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौंडाको बागमती गाउँपालिकास्थित सदस्य सेवाकेन्द्रको एकाईसभा सम्पन्न भएको छ ।बागमती गाउँपालिका वडा नं. २ स्थित राईगाउँमा सातौँ वार्षिक एकाइसभा सम्पन्न भएको हो । सदस्य सेवा केन्द्रको सातौँ वार्षिक एकाईसभाको उद्घाटन गर्दै दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संस्थापक सदस्य आनन्दराम पराजुलीले ससाना बचत संकलन गरी सापटी र सहयोग आदान प्रदान उद्देश्यले स्थापना गरिएको सहकारीले सबैको प्रयास र मेहनतमा आजको यो स्वरुप पाएको भन्दै सहकारीबाट लिने र दिने सेवालाई प्रभावकारी बनाउन शेयर सदस्यहरु नै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले लिएको ऋण आयआर्जनमा लगाउन र समयमा चुक्ता गर्ने बानीको विकासले बचतकर्तासँगै सहकारीको दिगोपनामा सहयोग पुग्ने बताए । संस्थाका सचिव ईश्वर पण्डितले नियमित बचत आवश्यक भएको भन्दै ऋण लिएकाहरुले स्वअनुशासनमा बसेर समयमा सावाँव्याज भुक्तानीले शेयरसदस्य र सहकारी दुवै समस्यामा नपर्ने बताए । उनले गाउँघरमा ससाना बचतसँगै समस्या पर्दा ऋण सापटी लिनदिन ग्रामीण क्षेत्रलाई लक्षित गरी संस्थाको सेवाकेन्द्र स्थापना गरिएको बताए ।
कार्यक्रममा संस्थाका सहायक व्यवस्थापक ईश्वरी शिल्पकार, सदस्य सेवाकेन्द्र बागमती गाउँपालिका संयोजक छविलाल बोम्जन र सेवाकेन्द्रका सदस्य ज्ञानबहादुर राईले संस्थाको गतिविधिसँगै संस्थाले खुत्रुके बचत, मासिक बचतलगायतका सेवा प्रदान गर्दै आएको जानकारी दिए । कार्यक्रममा नियमित बचतकर्ता, समयमा नियमित सावाँव्याज बुझाउने ऋणीलगायतलाई सम्मान गरिएको थियो ।
गत आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्ममा ५८५ शेयर सदस्य रहेको यो सेवाकेन्द्रबाट यो अवधिका ऋणी सदस्य संख्या ८३ जना रहेको, शेयर ४५ लाख छ हजार पाँच सय, बचत एक करोड १९ लाख ४४ हजार १७२ रुपैयाँ र मुनाफा ३८ लाख ७७ हजार ११० रुपैयाँ रहेको जानकारी गराइएको थियो ।







