राईगाउँ खानेपानी उपभोक्ता समितिको १० औँ वार्षिक भेला सम्पन्न
हेटौंडा-पूर्वी मकवानपुरको बागमती गाउँपालिका–१ अन्तर्गत सञ्चालनमा रहेको राईगाउँ १,२ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औँ वार्षिक भेला शनिबार भव्यरुपमा सम्पन्न भएको छ । भेला बागमती गाउँपालिका वडा नम्बर १ स्थित माझगाउँ सम्झना बजारमा आयोजना गरिएको हो । भेलामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति तथा वित्तीय प्रतिवेदन समितिका सचिव राजकुमार राईले प्रस्तुत गरेका थिए । संस्थाको सम्पत्ति विवरण, हालसम्म भएका कार्यहरु, प्राप्त उपलब्धि तथा बाँकी योजनासम्बन्धी विस्तृत प्रतिवेदन अध्यक्ष भीमकुमार राईले पेश गरेका थिए । भेलाले खानेपानी सेवा प्रणालीलाई थप व्यवस्थित, दिगो र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित महत्वपूर्ण नीति तथा व्यवस्थापकीय प्रस्ताव पारित गरेको छ ।
पारित प्रस्तावमा ग्राहक नम्बर प्लेट लेखन तथा अभिलेखीकरण प्रणाली लागू गर्ने, सडक विस्तार हुने क्षेत्रमा पाइपलाइन व्यवस्थापन तथा समन्वय सुदृढ गर्ने, व्यक्तिगत तथा संस्थागत निर्माणकार्यका क्रममा खानेपानी पाइपलाइनमा क्षति पु¥याएमा क्षतिपूर्ति तिर्ने स्पष्ट नियम बनाउने, धारामा जडान गरिएका पानी मिटरलाई सुरक्षित बनाउने व्यवस्था मिलाउने तथा कर्मचारीको तलबवृद्धि गर्ने विषय समेटिएका छन् । समितिले २०८१ फागुन महिनादेखि खानेपानी महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको जानकारी भेलामा गराएको छ । यस व्यवस्थाले सेवाग्राहीलाई सहजता र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सहभागी उपभोक्ताले खानेपानी सेवासम्बन्धी उठाएका प्रश्न, जिज्ञासा र सुझाव माथि खुला अन्तरक्रिया तथा छलफल गरिएको थियो । अध्यक्ष राईका अनुसार हाल वडा नं. १ अन्तर्गत ४ सय ८ घरधुरी खानेपानी सेवाग्राही रहेका छन् भने सेवा क्षेत्रभित्रका ९२ घरधुरीमा अझै धारा जडान गर्न बाँकी छ । आगामी दिनमा सेवा विस्तार गर्दै गुर्दुमक्षेत्रका बासिन्दामा खानेपानी धारा जडान गर्ने योजना रहेको उनले बताए । हाल समितिले १ लाख लिटर र ५० हजार लिटर क्षमताका दुईवटा खानेपानी ट्यांकी निर्माण गरिसकेको छ ।
तर, बढ्दो जनसंख्या र उपभोक्ताको मागलाई मध्यनजर गर्दै थप २ लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण अपरिहार्य रहेको अध्यक्ष राईले बताए । ट्यांकी चालु आर्थिक वर्षमै निर्माण सुरु गरी आवश्यक बजेट सुनिश्चित भएमा यही वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ट्यांकी निर्माण सम्पन्न भएपछि उपभोक्तालाई पर्याप्त मात्रामा नियमित दैनिक पानी वितरण गर्न सकिने अध्यक्ष राईले विश्वास व्यक्त गरे । हाल उपभोक्तालाई बिहान एक समय मात्र पानी वितरण हुँदै आएको छ ।
कार्यक्रममा देवकुमारी बिक, आशमान राई, वीरबहादुर राई, राजकुमार राई, कृष्णबहादुर राई, आनन्द राई लगायतका अतिथिले खानेपानी तथा सरसफाइ सेवाको महत्व, उपभोक्ता समितिको भूमिका र आगामी चुनौतीका विषयमा धारणा राखेका थिए । आगामी कार्ययोजनाअन्तर्गत समितिले २ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण, कार्यालय भवन निर्माण, जेनेरेटर सिस्टम जडान, रामपुरदेखि गुर्दुमसम्म पाइपलाइन विस्तार, बाँकी उपभोक्तामा धारा जडान, तथा परियोजना हस्तान्तरण कार्य सम्पन्न गर्नुपर्ने प्रस्ताव भेलामा अघि सारेको छ ।
संस्थाका अध्यक्ष राईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव राजकुमार राईले गरेका थिए । भेलामा बोटगाउँ, माझगाउँ, बन्जरे, करौंजे र
रामपुरका उपभोक्ताको उपस्थिति रहेको थियो ।







