पशुपतिनाथ माविका बालबालिकालाई संरक्षण शिक्षा
हेटौंडा- वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि विद्यालयका बालबालिकालाई संरक्षण शिक्षा प्रदान गरिएको छ । बालबालिका मार्फत् समुदायमा सूचनाप्रवाह गर्न सहज हुने भएकोले यस प्रकारको कार्यक्रम गरिएको बताइएको छ ।पशुपतिनाथ मावि मनहरी–४ मसिनेमा पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले बालबालिालाई संरक्षण शिक्षा प्रदान गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको अध्यक्षता र मध्यपृतना मुख्यालयका पृतनापति कर्णेल सरोज कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पर्सा वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र लामिटार सेक्टर गणबाट गणपति पूर्णचन्द्र अर्याल, मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापा, विद्यालयका प्रधानाध्यापक सपना लामा, विब्यस पूर्बअध्यक्षद्वय पवन खडका र बालमुकुन्द ढकाल, विद्यालयका अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा लेफ्टीनेन्ट नीराजन केसीले राष्ट्रिय निकुञ्ज, वनजंगल, जनावर तथा प्राकृतिक सम्पदाको महत्व, निकुञ्जसम्बन्धी नेपालको कानुन, जंगली जनावरको आक्रमणबाट बच्ने उपाय, जंगली जनावरबाट भएको क्षतिको मागदाबी गर्ने तरिका र नेपाली सेनाको भूमिकाको बारेमा बिस्तृतरुपमा प्रष्ट पारेका थिए । पशुपतिनाथ मावि पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको विद्यालय हो र यो विद्यालय वरपर हरेक वर्ष जंगली जनावर हात्ती, गैंडा, बाघ, चितुवा आएर स्थानीयलाई दुख दिने गरेको छ ।







