सडक विस्तारले हेटौंडाको जनजीवन अस्तव्यवस्त बन्दै : मजदुरदेखि पैदलयात्री, सवारीचालक सबै जोखिममा

साझाकुरा
२०८२ पुष १, मंगलवार १०:३०

हेटौंडा- निर्माणक्षेत्रमा कार्यरत मजदुरले आवश्यक सुरक्षाउपाय अवलम्बन नगर्दा हेटौंडामा दुर्घटनाको जोखिम बढ्दै गएको छ । हेटौंडा उपमहानगरक्षेत्रमा सडक विस्तारका क्रममा भत्काइएका भग्नावशेष हटाउने क्रममा पाँच जना मजदुर घाइते भएका छन् । हेटौंडा–१ पिपलबोट, उद्योग वाणिज्य संघ आसपासको क्षेत्रमा पछिल्लो ५ दिनमा भएका छुट्टाछुट्टै तीन घटनामा पाँचजना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत आइतबार हेटौंडा–१ पिपलबोट स्थित उद्योग वाणिज्य संघ अगाडि रहेको घर भत्काउने क्रममा तीनजना मजदुर घाइते भएका थिए । यसअघि मङ्सिर २४ र २६ गते पनि घर भत्काउने क्रममा दुईजना कामदार घाइते भएका थिए ।

उनीहरुको उपचार जारी छ । निर्माणक्षेत्रका अधिकांश मजदुर हेल्मेट, जुत्ता, पञ्जा र सेफ्टी बेल्ट जस्ता आधारभूत सुरक्षा सामग्रीबिना नै जोखिमपूर्ण काममा खटिने गरेका छन् । सुरक्षासम्बन्धी मापदण्ड प्रभावकारीरुपमा कार्यान्वयन हुन नसक्दा मजदुर असुरक्षित अवस्थामा काम गर्न बाध्य भएका हुन् । जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि सुरक्षा सामग्री किन्ने क्षमता नहुँदा प्रयोग गर्न नसकिएको मजदुरले बताएका छन् । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सडक विस्तारका क्रममा भत्काइएका संरचना र सडक पेटीमा थुप्रिएका सामग्री व्यवस्थापनका लागि प्रशासनले आवश्यक समन्वय गरिरहेको दाबी गरे ।

कुनैपनि अप्रिय घटना नहोस् भनेर स्थानीय सरकार, सडक डिभिजनलगायत सरोकारवाला सँग सहजीकरण र समन्वय भैरहको उनले बताए । ‘सम्बन्धित घरधनी, व्यवसायी र मजदुरलाई सुरक्षा उपाय अपनाउन प्रशासनले आग्रह गरेको छ’ सहायक प्रजिअ जोशीले भने, ‘सडक पेटीमै जीर्ण अवस्थामा रहेका घरमा अझै पनि व्यापार सञ्चालन भइरहँदा व्यवसायी, मजदुर र सर्वसाधारणको सुरक्षा चुनौती बढेको छ ।’ उनले भत्किएका संरचनाको व्यवस्थापन गर्ने पहिलो दायित्व सम्बन्धित घरधनी र व्यवसायीको नै भएको बताए ।

‘हाम्रो भूमिका आवश्यक समन्वय, सहजीकरण र सुरक्षा प्रदान गर्ने हो,’ जोशीले भने, ‘अहिले पनि सडक डिभिजन कार्यालय, हेटौंडा उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीसँग समन्वय गरेर सडक सफा गर्ने तथा सामग्री हटाउने काम भइरहेको छ । भत्किएका संरचना व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित व्यवसायी र घरधनीको पनि हो । कतिपय घरधनीले आफैँ व्यवस्थापन गरिरहनुभएको पनि छ । उहाँहरुलाई व्यवस्थापनको काममा सुरक्षा आवश्यक परेको खण्डमा प्रशासनले सुरक्षा उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ ।’ कुनैपनि अप्रिय घटना हुन नदिन र सडकलाई छिटोभन्दा छिटो व्यवस्थित गर्न प्रशासनले स्थानीय तह र निजीक्षेत्रसँग समन्वयको कामलाई तीव्रता दिएको उनको भनाइ छ ।

हेटौंडा उपमहानगरपालिकाले व्यवसायीको स्टक सामान व्यवस्थापनका लागि वैकल्पिक स्थान उपलब्ध गराएपनि व्यवसायी जान मानेका छैनन् । हेटौंडा उपमहानगरले रेडक्रम भवन नजिक रहेको खालीस्थान सेलका सामान बिक्रीका लागि उपलब्ध गराएको प्रवक्ता सविन न्यौपानेले बताए । जोखिमपूर्ण व्यापार नगर्न माइकिङमार्फत् सचेतसमेत गराइरहेको प्रवक्ता न्यौपानेले बताएका छन् । उपमहानगरले अहिलेको अवस्थामा जोखिमपूर्ण ठाउँ क्लियर गर्न र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनसँग निरन्तर समन्वय गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए । ‘विद्युत् तथा टेलिफोनका तार नगरपालिकाले गएर काटिदिने कुरा भएन । सम्बन्धित निकाय, टेलिकम र प्राधिकरणले व्यवस्थापन नगर्दा समस्या भएको छ । अहिले मुख्य राजमार्ग र शाखा बाटो जाम भइरहेकाले सडक पेटी यात्रुका लागि कसरीसुरक्षित हुन्छ र ?’ उनले भने ।

सडक विस्तारले अस्तव्यस्त हेटौंडाको बजारक्षेत्र

‘सुन्दर नगरी’को उपमा पाएको हेटौंडा उपमहानगरको बजारक्षेत्र यतिबेला अस्तव्यस्त बनेको मात्र छैन सामान्य जनजीवन पनि प्रभाबित बनेको छ । सडक फराकिलो बनाउने क्रममा भत्काइएका संरचना र तिनका भग्नावशेषको व्यवस्थापन हुन नसक्दा दैनिक जनजीवन प्रभावित भएको छ । भत्काइएका संरचनाका ढुंगा, इँटा र रडका टुक्रा सडक तथा सडकपेटीमा छरिएर रहँदा पैदलयात्री तथा सवारीचालक दुवै जोखिममा परेका छन् । संरचना हटाउने क्रममा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बुद्धचोकदेखि लोकपियसम्मको मुख्य सडक खण्ड बन्द गरिएको छ । संगमचोकदेखि पिपलबोट हुँदै मकवानपुर उद्योग वाणिज्य संघ आउने सडक पनि बन्द गरिएको छ ।

सडक बन्द भएपछि हेटौंडाको कान्तिलोकपथ, बुद्धचोक, सीमाचोक र मेनरोडक्षेत्रमा सवारी जाम बढ्दै गएको छ । स्थानीय प्रशासनले चौकीटोलदेखि राप्तीपुलसम्म राप्ती खोलाकिनारबाट बाइपास बनाउने भनेपनि यो काम हुन सकेको छैन । जामका कारण पैदलयात्रु, सार्वजनिक सवारीका यात्रु तथा निजी सवारी चालकले दैनिक सास्ती खेप्नुपरेको छ । सडक डिभिजन कार्यालयले गत मङ्सिर २० गते हेटौंडाको महेन्द्र राजमार्गअन्तर्गत रातोमाटेदेखि राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि चौकीटोल ओरालोसम्मका घर तथा संरचना भत्काएको थियो ।

करिब ७ किलोमिटर क्षेत्रभित्र ५०० भन्दा बढी घर तथा संरचना जेसीबी प्रयोग गरेर भत्काइएपछि सडक तथा प्रशासनले सर्वोच्च अदालतबाट स्टे अर्डर जारी भएपछि मङ्सिर २१ गतेदेखि काम रोकेको छ । सर्वोच्च अदालतले मङ्सिर १६ मा दायर भएको रिटमाथि मङ्सिर १९ मा अल्पकालीन आदेश गर्दै स्टेअर्डर दिएको थियो । सर्बोच्चको आदेश अनुसार मङ्सिर २६ मा तोकिएको पेसीमा सर्वोच्चले सडक विस्तारबारे विगतका आदेश तथा निर्णय हेर्न मिसिल झिकाउने निर्णय गरेको छ भने पुस २ मा पेसी तोकेको छ । पुस २ को फैसला कुरिरहेका स्थानीय प्रशासन र भत्केको घरमा ब्यापार गर्ने ब्यवसायीबीच समन्वय हुन सकेको छैन । भत्काइएका घर पूर्णरुपमा सफा नगरी डिपिआरको काम सुरु नहुने भएका कारण लामा समयसम्म हेटौंडाबासीले धुलो खान बाध्य हुनुपर्ने अवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*