हेटौंडा जेसीजको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न
हेटौंडा- हेटौंडा जेसीजको आयोजना तथा हेटौंडा उपमहानगरपालिका १३ नं. वडा कार्यालय र पदमपोखरी अस्पताल सहआयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा पदमपोखरी अस्पतालमा सोमबार बृहत स्वास्थ्य शिविर भएको छ ।शिविरमा सुगर प्रेशरका साथै आँखा र महिलाको पाठेघरको जाँच गरिएको थियो । हेटौंडा जेसीज वर्ष २०२५ का कानुनी सल्लाहकार विपिन ताम्राकारको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वर्ष २०२५ का शाखाअध्यक्ष सिनेटर पंकज दास बानियाँको सभाअध्यक्षता एवम् पदमपोखरी अस्पालका प्रमुख डा. सवाना खातुन विशिष्ट अतिथि र हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा शिविर भएको हो ।
कार्यक्रममा हेटौंडा जेसीजका पूर्वअध्यक्ष लगायत हेटौंडा सामुदायिक आँखा अस्पतालका प्राविधिक कृष्ण ढुंगाना, प्रहरीचौकी पदमपोखरीका प्रमुख दीपु लामा, महेन्द्र बहुमुखी क्याम्पसका प्रधानाध्यापक वागनसिं थिङ, पदमपोखरी अस्पतालमा सिनियर अहेव शेरबहादुर व्लोनको आतिथ्यता रहेको थियो । निःशुल्क स्वास्थ्य शिविरबाट २५२ जना सेवाग्राही लाभान्वित भएको कार्यक्रम संयोजक तम्रकारले जानकारी दिएका छन् । शिविरमा सहभागीमध्ये १५७ महिला र ९५ जना पुरुष रहेका छन् । शिविरअन्तर्गत ८४ जनाको मधुमेह (सुगर) परीक्षण गरिएको थियो भने ९० जना महिलाको पाठेघर सम्बन्धी सामान्य स्वास्थ्य जाँच गरिएकोमा ८५ जनामा विभिन्न रोगका लक्षण देखिएकाले थप उपचार तथा परामर्शका लागि सिफारिस गरिएको छ ।
शिविरमा २६ जनामा मोतियाबिन्दु देखिएकोमा थप उपचारको लागि शल्यक्रिया गर्नुपर्ने देखिएको र जलविन्दुका ५ जना बिरामी पनि पहिचान भएका कार्यक्रम संयोजक ताम्राकारले बताए ।मोतियाबिन्दुका बिरामीको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने हेटौंडा जेसीजका कार्यकारीणी उपाध्यक्ष सन्तोष पराजुली बताए । स्वास्थ्य शिविर ग्रामीण तथा आर्थिकरुपमा कमजोर नागरिकलाई लक्षित गरी आयोजना गरिएकोमा यस्ता किसिमका शिविरलाई आगामी दिनमा थप विशेषज्ञसहितको स्वास्थ्यसेवा समावेश गरी निरन्तरता दिनका लागि पदमपोखरी अस्पतालका सिनियर अहेव व्लोन र वडाअध्यक्ष लामाले आग्रह गरे । शिविरको औपचारिक कार्यक्रमको संचालन हेटौंडा जेसीज वर्ष २०२५ का महासचिव जेसी संजयकुमार न्यौपानेले गरेका थिए ।







