मनहरीमा साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जंगलमा शिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किंदा सँगै गएका साथीको मृत्यु भएको छ ।राक्सिराङ गाउँपालिका–८ राजराङका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उनीसँगै शिकार गर्न गएका मनहरी गाउँपालिका–६ बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायवउपरीक्षक पुष्कर बोगटीका अनुसार ब्लोन र सेते दुवै जनासँगै एकएक थान भरुवा बन्दुक बोकेर जंगलमा शिकार गर्न हिँडेकामा अगाडि हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लडेपछि अचानक बन्दुक पड्किएको र पछिपछि आइरहेका थिङको बन्दुकको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरीचौकी सुनाचरीबाट खटिएको प्रहरीटोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको प्रहरी नायवउपरीक्षक बोगटीले बताए । मृतकको शवपरीक्षणका लागि हेटौंडा अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।







