संसदीय समिति, हाउस र संसदमा रहेका विधेयक रोकिए
हेटौंडा-विगत ४ महिनादेखि बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात् सभामुख भुवनकुमार पाठकले राजीनामा दिएसंगै रिक्त सभामुख पदमा सत्तारुढ दल कांग्रेस र एमालेबीच असहमति हुँदा प्रदेशसभा बैठक अन्यौलमा परेको हो ।सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेशसभाका सभामुख पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पदरिक्त भएको हो । तत्काल बैठक बस्ने कुनै सूचनासमेत नआएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए ।
‘हामीले बैठकको सबै तयारी गरिसकेका छौँ तर, अहिलेसम्म सरकारबाट बैठकको कुनै सूचना आइपुगेको छैन’, सचिव पौडेलले भने, ‘बैठकको सूचना आउनासाथ हामी त्यसमा जुट्छौँ ।’ गत कात्तिकको दोस्रो साता नै प्रदेशसभाको बैठक बोलाउने तयारी भएको थियो, त्यसका लागि अस्थायी रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको मुख्यमन्त्री सभाहललाई मर्मतसम्भार र रङरोगन गरी तयार पारेपनि बैठक आह्वान हुन नसकेको उनले बताए ।
अहिलेसम्म प्रदेशसभा बैठकका लागि सरकारबाट कुनै जानकारी नआएकाले बैठक निश्चित नभएको सचिव पौडेलको भनाइ छ । सरकारको सिफारिसमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले यही मङ्सिर ३ गते रातिबाट प्रदेशसभाको अधिवेशन अन्त्य गरेका थिए । तर, रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलबीच सहमति नहुँदा सरकारले बैठक नबोलाएको हुनसक्ने सचिव पौडेलको अनुमान छ । प्रदेशसभाको बैठक बोलाएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैले सत्तारुढ दलबीच सभामुखमा सहमति नजुटेसम्म प्रदेशसभाको बैठक नबोलाउने रणनीतिमा सरकार रहेको सचिव पौडेलले बताए ।
पछिल्लो समय दलहरु पार्टी संरचना निर्माण तथा महाधिवेशनमा जुटेकाले तत्काल बैठक आह्वान हुने अवस्था नरहेको पौडेलले बताए । सचिव पौडेलका अनुसार संसद् बैठक बस्न नसक्दा सभामुख चयन प्रक्रिया अघि बढ्न सकेको छैन भने संसदीय समिति, हाउस र संसदमा रहेका विधेयक पनि रोकिएका छन् । हाल संसदमा २ वटा नयाँ विधेयक दर्ता भएका छन् भने एउटा विचाराधीन अवस्थामा छ । एउटा विधेयक भने संसदीय समितिमा छलफलकै क्रममा छ । हेटौंडा–२ स्थित हेटौंडा उपमहानगरपालिकाको कार्यालय पछाडि रहेको सभाहलमा बैठक राख्ने तयारीस्वरुप भवनको निर्माण कार्य पनि गरिएको थियो ।
संसद् बैठक सञ्चालनका लागि आवश्यक कुर्सी, साउन्ड सिस्टमदेखि प्रत्यक्ष प्रसारणकाउपकरणसम्मका सामग्री तत्कालका लागि भाडामा लिएर भएपनि बैठक सञ्चालन गर्ने तयारी गरिएको सचिव पौडेलले बताए । सभामुखमा कांग्रेस र एमाले दुवै दलले दाबी गर्दै आएका छन् । कांग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुखमा आफ्नो पार्टीको दाबी स्वाभाविक भएको एमाले संसदीय दलका प्रमुखसचेतक एकालाल श्रेष्ठले बताए । ‘दुई पार्टीबीचमा सरकार बनेको छ, कांग्रेसले मुख्यमन्त्री पाएपछि सभामुख एमालेलाई दिनुपर्छ भन्ने हाम्रो धारणा हो’ श्रेष्ठले भने, ‘त्यसमा कुनै विवाद नरहेकाले यसलाई अगाडि बढाउनुपर्छ, यस विषयमा कांग्रेस र एमालेबीच कुनै विवाद छैन, केबल अड्कलबाजीमात्र हो’, उनले भने ।
यता कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्यसचेतक पुकार महर्जनले सत्तारुढ दलबीच सभामुख पदमा आआफ्नै दाबी रहेकाले सहमति हुन नसकेको बताए । ‘एमालेले पनि सभामुख हामीलाई चाहियो भनिरहेको छ, हामीले अबको केही महिनापछि मुख्यमन्त्री एमालेलाई दिनुपर्ने भएकाले सभामुख कांग्रेसलाई दिनुपर्ने भनिरहेका छौँ ।’ यस विषयमा सत्तारुढ दलबीच छलफल भइरहेकाले अब छिट्टै सहमति भएर प्रदेशसभाको बैठक बोलाइने प्रयास भइरहेको उनले बताए । ‘हाम्रो विषय पनि हाउस (सदन) चाँडै सञ्चालन हुनुप¥यो भन्ने नै हो । यसका लागि मुख्यमन्त्रीसँग समय लिएको छु,’ महर्जनले भने, ‘सत्ता पक्षका सचेतकहरुलाई बोलाएर छलफल गर्दैछौँ ।’
प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन पुसको दोस्रो साताभित्र बोलाउने तयारी थालेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक महर्जनले जानकारी दिए । सदन बोलाउने विषयमा दलहरुबीच छलफल तथा समन्वय भइरहेको र पुसको दोस्रो सातासम्म सदन बोलाउनका लागि मुख्यमन्त्री र सत्ता साझेदार दलहरुसँग परामर्श भइरहेको उनले बताए ।







