बालाजुबाट पनि सवारी लाइसेन्सको ट्रायल खुलाउने तयारी
हेटौंडा-यातायात व्यवस्था कार्यालय, बालाजुले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयका प्रमुख चेतनाथ भट्टराईका अनुसार हालसम्म कार्यालयले सवारी ब्लुबुक नवीकरण र कर संकलनको काम मात्र गर्दै आएको थियो । अब पूर्णक्षमतामा सेवाप्रवाह गर्ने तयारीस्वरुप ट्रायल सेन्टरका लागि प्रस्ताव आह्वान गरिएको उनले बताए । ‘बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय र विभागीय मन्त्रीज्यूको निर्देशन अनुसार कार्यालयलाई पूर्ण क्षमतामा लैजान लागिएको हो’ प्रमुख भट्टराईले भने, ‘बालाजु कार्यालयलाई लाइसेन्ससहितको फुल फेजको अफिस बनाउने निर्णय भएको थियो । सोहीअनुसार हामीले ट्रायल सेन्टर छनोटको प्रक्रिया अगाडि बढाएका हौँ ।’
कार्यालयले सूचना जारी गर्दै दुई पांग्रे चार पांग्रे तथा हेभी सवारीसाधनको प्रयोगात्मक परीक्षाका लागि आवश्यक पूर्वाधार र सवारीसाधन भाडामा लिन इच्छुक संस्थाहरुबाट शिलबन्दी प्रस्ताव माग गरेको छ । सूचनाअनुसार वर्ग ‘क’ र ‘ट’ (मोटरसाइकल, स्कुटर र मोपेड), वर्ग ‘ख’ र ‘च’ (कार, जिप, डेलिभरी भ्यान, मिनिबस र मिनिट्रक), र वर्ग ‘ग’ (ट्रक, बस र लरी)का लागि प्रस्ताव माग गरिएको हो । प्रस्तावअनुसार प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर) काठमाडौंको बालाजु चोकबाट ५ किलोमिटरको दुरीमा (चक्रपथभित्र वा बाहिर) हुनुपर्नेछ ।
ट्रायल सेन्टरमा एकैपटक १०० जना परीक्षार्थी सहभागी भई लिखित परीक्षा सञ्चालन गर्न सक्ने क्षमता भएको हल, चमेनागृह र पार्किङ सुविधा अनिवार्य गरिएको छ । साथै, दुईपांग्रे, चारपांगेर ठूला सवारीको ट्रायल एकै कम्पाउण्डबाट सञ्चालन हुनुपर्ने शर्त राखिएको छ । ट्रायलका लागि प्रयोग हुने साना सवारीसाधन (वर्ग ‘क’ र ‘ख’) सन् २०१९ वा सोभन्दा पछाडिको मोडेलको हुनुपर्ने कार्यालयले जनाएको छ । ठूला तथा मझौला सवारीको हकमा भने १० वर्ष भन्दा पुरानो हुननहुने मापदण्ड तोकिएको छ ।यस्तै सानो भ¥याङमा रहेको हालको कार्यालय पनि चालु वर्षभित्रै बालाजुमा सार्ने तयारी भइरहेको उनले बताए ।
प्रमुख भट्टराईकाअनुसार प्रदेश सरकारको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार यसअघि नै बालाजुमा कार्यालय स्थापना गर्ने निर्णय भएपनि कार्यान्वयनमा आउन सकेको थिएन । प्रमुख भट्टराईका अनुसार कार्यालयको नाम बालाजु भए पनि हालसम्म सानोभर्याङबाटै सेवाप्रवाह भइरहेको छ । कार्यालयलाई बालाजु क्षेत्रमै स्थानान्तरण गर्ने योजना रहेपनि बजेट अभाव बाधक बनेको उनले बताए ।







