हेटौंडाको सडक विस्तार विरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा
हेटौंडा-हेटौंडा बजारक्षेत्रको २५ गज सडक विस्तारविरुद्ध दायर गरिएको रिट अदालतद्वारा हेर्न नमिल्ने सुचीमा राखिएको छ । निवेदनमाथि बुधवार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यो मुद्दाको पेसी तोकिएको पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो । रास्वपा नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंसकार समेतले दायर गरेको रिट सर्वोच्चको इजलास नम्बर ६ को ‘च’ नम्बरमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, इजलासले मुद्दा हेर्न नमिल्ने भनेपछि बुधबारका लागि तोकिएको सुनुवाइ रोकिएको हो । हेटौंडा बजारक्षेत्रमा सडकसीमा २५÷२५ गजभित्रका संरचना हटाएर सडक विस्तार गर्न लागिएको भन्दै नेतृ कंसाकारलगायतले गत मङ्सिर १६ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
निवेदकहरुले व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको र प्रक्रिया नपुरयाई संरचना हटाउन खोजिएको भन्दै मुद्दा दायर गरेका थिए । रिटमा निवेदकले डिभिजन सडक कार्यालय हेटौंडा, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएका छन् ।
यसअघि मङ्सिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले निवेदकको माग बमोजिम तत्कालका लागि संरचना नहटाउन र यथास्थितिमा राख्न विपक्षीका नाममा ‘अल्पकालीन अन्तरिम आदेश’ जारी गरेको थियो । अदालतले दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफल गर्न बोलाएको थियो ।
मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यो मुद्दासँग सम्बन्धित मिसिल झिकाउने आदेश गरेको थियो । सोही आदेशअनुसार पुस २ गतेको लागि पेसी तोकिएको हो । योसँगै हेटौंडामा सडक विस्तारको थपकार्य अन्यौलमा परेको छ । मंसिर २० गते सडक डिभिजन कार्यालय हेटौंडाले ७ किलोमिटर सडक सीमा भित्र पर्ने ५ सय भन्दा बढी संरचना एकैदिन भत्काएको थियो । भत्किएका ती संरचनाको कारण अहिले हेटौंडा बजार अस्तव्यस्त अवस्थामा छ । भत्काइएका भग्नावशेष हटाउने क्रममा पाँचजना मजदुर घाइते भएका छन् ।
भत्काइएका संरचनाका ढुंगा, इँटा र रडका टुक्रा सडक तथा सडकपेटीमा छरिएर रहँदा पैदलयात्री तथा सवारी चालक दुवै जोखिममा परेका छन् । संरचना हटाउने क्रममा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बुद्धचोकदेखि लोकप्रियसम्मको मुख्य सडक खण्ड बन्द गरिएको छ । संगमचोकदेखि पिपलबोट हुँदै मकवानपुर उद्योग वाणिज्य संघ आउने सडक पनि बन्द गरिएको छ । सडक बन्द भएपछि हेटौंडाको कान्तिलोकपथ, बुद्धचोक, सीमाचोक र मेनरोडक्षेत्रमा सवारी जाम बढ्दै गएको छ । जामका कारण पैदलयात्रु, सार्वजनिक सवारीका यात्रु तथा निजी सवारी चालकले दैनिक सास्ती खेप्नुपरेको छ ।
हेटौंडा–नारायणगढ खण्ड ७० किलोमिटरको स्तरोन्नति हुने
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–हेटौंडा सडक खण्डमा विस्तार गर्ने कार्य हेटौंडा बजार क्षेत्रका कारण अलमलमा पर्ने सम्भावना देखिएको छ । एडीबीको सहुलयितपूर्ण ऋणमा मुख्य सडक ४ लेन र बजारक्षेत्रमा सर्भिसलेन सहित ८ लेन सडकमा विस्तार गरिने सडक विभागअन्तर्गत, आयोजना निर्देशनालय एडीबीले जनाएको छ । यो खण्डमा सडक सीमाभित्रकासंरचना हटाउन सूचना जारीगरिसकेको छ ।
हेटौंडादेखि नारायणगढ सम्म ७० किलोमिटर सडकखण्डको स्तरोन्नति गर्न लागिएको हाल यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिमचरणमा रहेको छ भने डिजाइनको काम पनि भइरहेको छ । सबै प्रक्रिया पूरा गरेर आगामी फेब्रुअरी (माघ–फागुन) तिर ठेक्का आह्वान गर्ने आयोजनाको तयारी छ । एडीबीको मुख्य कार्यालयले नियुक्त गरेको विदेशी परामर्शदाता टोलीले यसको डिजाइन र अध्ययन गरिरहेको छ । चितवन पर्यटनको राजधानी र पूर्वपश्चिम राजमार्गको मुख्य खण्ड भएकाले पनि यो आयोजनालाई प्राथमिकताका साथ अघि बढाइएको निर्देशनालयले जनाएको छ ।
यस्तै एडीबी निर्देशनालयका अनुसार मुग्लिन–आँबुखैरेनी खण्डमा सडक स्तरोन्नतिका लागि ठेक्का गरिँदैछ । आँबुखैरेनी र नारायणगढ– हेटौंडा खण्डको काम गर्न ५३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यो एडीबीको सहुलियत ऋणमा विस्तार गर्न लागिएको हो । मुग्लिनदेखि आँबुखैरेनी सडक साढे ८ किलोमिटर २ लेन सडकमा विस्तार गर्न लागिएको हो । मुग्लिन बजारनजिकै त्रिशूलीमा र मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस नजिकै १–१ वटा पक्की पुल बनाउने गरी डिजाइन गरिएको छ । मस्र्याङ्दी पावर हाउसभन्दा ४०० मिटर पर पुल बन्नेछ । त्यसपछि जामुनेसम्म ४ लेन सडक निर्माण गरिने जनाइएको छ । त्यसैगरी बाराको पथलैयादेखि नारायणगढसम्मको १०० किलोमिटर सडक विस्तारका लागि डिजाइनको काम भइसकेको छ ।







