फोहोर व्यवस्थापनप्रति जेनजीको गम्भीर ध्यानाकर्षण
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१० स्थित डम्पिङ साइटमा भइरहेको फोहोर व्यवस्थापनका क्रममा उत्पन्न प्रदूषणप्रति जेनजी मकवानपुरले गम्भीर ध्यानाकर्षण गराएको छ । ‘हरितनगर’ को रुपमा परिचित हेटौंडामा पछिल्लो समय फोहोर व्यवस्थापनमा लापरबाही भएको भन्दै स्थानीय बासिन्दाबाट निरन्तर गुनासो आइरहेको जनाएको छ । स्थानीयवासीका अनुसार फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको आधिकारिक संस्थाले नियोजितरुपमा डम्पिङ साइटमा आगो लगाउने गरेको आरोप छ ।
यसक्रममा फोहोरमा लागेको आगोबाट निस्कने धुवाँ, धुलो तथा प्लास्टिकजन्यपदार्थ जलेर उत्पन्न हुने घातक रासायनिक प्रदूषणका कारण क्यान्सरजस्ता गम्भीर रोग देखिन थालेको भन्दै जेनजी मकवानपुरले नगरप्रमुख मीनाकुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
फोहोर संकलन शुल्क निर्धारण प्रक्रियामा समेत व्यापक असन्तुष्टि देखिएको छ । जेनजी मकवानपुरले गरेको अध्ययनअनुसार अन्य उपमहानगरपालिकाको तुलनामा हेटौंडामा बढी शुल्क लिइएको पाइएको पत्रमा उल्लेख गरिएको छ । फोहोर संकलनसम्बन्धी बोलपत्र आह्वान प्रक्रियामा सिण्डिकेट रहेको आशंका पनि संस्थाले व्यक्त गरेको छ । यस विषयमा पीडित स्थानीयवासीसँग हेटौंडा उपमहानगरपालिका तथा सरोकारवाला निकायले विभिन्न समयमा समस्या समाधान गर्ने सहमति गरे तापनि हालसम्म समाधान हुन नसकेको गुनासो रहेको जनाइएको छ ।
पटकपटक जानकारी गराउँदा पनि सम्बन्धित निकायबाट कुनै प्रतिक्रिया नआएको भन्दै आमनागरिकमा निराशा बढ्दै गएको उल्लेख गरिएको छ ।जेनजी मकवानपुरका संयोजक सुविन खत्रीले डम्पिङ साइटबाट उत्पन्न प्रदूषणले मानवस्वास्थ्य र वातावरणमा गम्भीर असर पारिरहेको भन्दै उपमहानगरपालिकाले तत्काल प्रभावकारी र दीर्घकालीन समाधानको पहल गर्नुपर्ने माग गरेका छन् ।







