लैंगिक हिंसा विरुद्ध समन्वय सुदृढ गर्न प्रदेशस्तरीय सम्मेलन हुँदै
हेटौंडा-लैंगिक हिंसा विरुद्धको प्रतिकार्य संयन्त्रलाई सुदृढिकरण गर्ने उद्देश्यले (भोलि) विहिबार बागमती प्रदेशस्तरीय सम्मेलन हेटौंडामा हुने भएको छ ।एक्सोनेट नेपालको आर्थिक सहयोग तथा मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान, महिला अधिकारका लागि राष्ट्रिय अभियान, मानवअधिकार संरक्षण तथा मानव बेचविखनविरुद्ध जिल्ला सञ्जाल मकवानपुर र यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनको सयुक्त समन्वय र सहकार्यमा सममेलन आयोजना गर्न लागिएको बुधबार पत्रबार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्य रहेको आयोजकले जनाएको छ । सम्मेलनलाई बागमती प्रदेशसभाकी सभामुख अप्सरा चापागाईंले उद्घाटन गर्नेछिन् । सम्मेलनमा महिला, किशोरी तथा लै·िक अल्पसंख्यकलाई लक्षित गरी हुने विभिन्न प्रकारका हिंसा रोकथाम, पीडितलाई न्याय तथा पुनःस्थापना सुनिश्चित गर्ने उपायबारे छलफल हुने बताइएको छ । लैंगिक हिंसा न्युनीकरणका निम्ति प्रदेश सरकारको भूमिका, संघीय सरकारसँगको समन्वय तथा स्थानीय तहसँगको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित सम्मेलन गरिन लागेको आयोजकले जनाएको छ ।
सम्मेलनमा १७ जिल्लाका महिला अधिकारकर्मी, हिंसापीडित, पालिका र वडाका प्रतिनिधि, संघ, प्रदेशका प्रतिनिधि गरी ८० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रमको दोस्रोसत्रमा प्यानल डिस्कसन हुने बताइएको छ । जसमा समामाजिक विकास महाशाखाप्रमुख अमृत अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, उच्चसरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अशोकराज रेग्मी, महिला तथा बालबालिका मन्त्रालयकी उपसचीव रोशनी कार्कीको भूमिका रहने बताइएको छ । प्यानल डिस्कसनमा सहजकर्ताको रुपमा महिला अधिवक्ता अप्सरा बस्नेत रहने बताइएको छ ।







