प्रविधि र बजारीकरणबारे उद्यमी जानकार हुनुपर्छः मन्त्री श्रेष्ठ
हेटौंडा-बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले समयसापेक्ष प्रविधि र बजारीकरण गर्ने प्रक्रियाबारे नयाँउद्यमी जानकार हुनुपर्ने बताएकी छिन् ।बुधबार हेटौंडा स्कुल अफ म्यानेजमेन्टले आयोजना गरेको उद्यमी पाठशाला सहजीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उद्यमी बन्न ज्ञान तथा सीप विकासको महत्व भएको बताइन् । ज्ञान र सीप पर्याप्त लिएरमात्र उद्यम गर्दा दिगो तरिकाले व्यवसाय गर्न सकिने उनले उल्लेख गरिन् । नयाँ उद्यमीलाई ज्ञानबारे जानकारी दिने काममा सहजीकरण गरेर हेटौंडा स्कुल अफ म्यानेजमेन्टले उदाहरणीय काम गरेको बताउदै उनले आगामी दिनमा अन्य सँस्थाले पनि यस्तै कार्य गर्नु जरुरी रहेको बताइन् ।
आगामी दिनमा बागमती प्रदेश सरकारले उद्योगनीति निर्माण गर्न सबैको सुझाव आवश्यक रहेको पनि उनले स्पष्ट पारिन् । शिक्षा प्रदायक संस्थाले उद्यमी तथा व्यवसायी बन्न सिकाउने र केही बीउपुँजी पनि प्रदान गर्दा उद्यमी तथा व्यवसायीकरणको प्रक्रियामा कोशेढुंगा साबित हुने उनले बताइन् । मन्त्री श्रेष्ठले केही ऐन बनिसकेको भएपनि तिनको कार्यविधि निर्माण हुन बाँकी रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘आगामी दिनमा उद्यमनीति कस्तो बन्नुपर्छ भन्ने विषयमा यहाँबाट प्राप्त सुझावका आधारमा मन्त्रालयले नीति निर्माण गर्नेछ ।’
मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले मात्र उद्यमशीलता प्रवद्र्धन गर्न नसक्ने भन्दै उद्योग वाणिज्य महासंघ, निजीक्षेत्र तथा सरोकारवालासँग सहकार्य आवश्यक रहेको बताइन् । आगामी आर्थिक वर्ष २०८२ ÷८३ को बजेटमा नवयुवालाई लक्षित नवप्रवद्र्धन तथा उद्यमशीलता विकासका कार्यक्रम समावेश गर्ने तयारी रहेको उल्लेख गर्दै उनले आजको कार्यक्रममा आएका सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले उद्यमीको नीति मात्र आवश्यक नभएको बताए । नीतिसँगै बीउपुँजी उपलब्ध गराउनुपर्ने उनको भनाई छ ।
अर्थव्यवस्था बलियो बनाउन सार्वजनिक र निजीक्षेत्रलाई भेदभाव गर्न नहुने जोशीले बताए । सन २०२५ सम्ममा महाविद्यालयले ६ वर्षको अवधिमा ४ वटा ७० बढी विद्यार्थी यो कार्यक्रममार्फत स्नात्तक भइसकेका, २५ भन्दा बढी कार्यक्रम, ५ वटा व्यवसाय रजिस्टर्ड भइसकेर काम भइरहेकोमा ती उद्यम कार्यक्रमका लागि विद्यार्थीलाई बीउपुँजीको रुपमा २६ लाख रुपैयाँ प्रदान गरिएको कार्यक्रममा जनाइएको छ । यसबाट साँढे ३१ लाख भन्दा बढी रकमबराबरको बढोत्तरी भएको कार्यक्रममा जनाइएको छ । मसला, डिजिटल बिज्ञापनलगायत ४ वटा विभिन्न उद्यम सञ्चालनका लागि बीउपूँजी प्रदान गरिएको कार्यक्रममा जनाइएको छ ।
उद्यमी पाठशालामा व्यवसाय गरिरहेकासँग सम्पर्क, समन्वय तथा बजारबारे रिसर्च गरिने गरेको महाविद्यालयले जनाएको छ । यसवर्ष असोजदेखि रजिष्ट्रेशन कार्यक्रम सुरु भइ पुसको दोस्रो सातादेखि तालिम सुरु गरी बैशाखभित्र यस कार्यक्रम पुरा गरिने कार्यक्रमचक्र रहेको छ । कार्यक्रममा बागमती प्रदेशमा उद्यम क्षेत्रको अवस्था, अवसर र चुनौती विषयमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका महाशाखाप्रमुख महेशराज पौडेल, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, आर्टस स्पेशका संस्थापक प्रमिला शाहबीच प्यानल छलफल भएको थियो ।
उनीहरुले उद्यम गर्नका लागि बागमती प्रदेशले केही समयअघिदेखि चासो व्यक्त गर्न थालेपनि पर्याप्त नीति कानुन र प्रशासकीय झन्झटमा कमी गर्नुपर्ने औंल्याएका छन् । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल जोशीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, म्यानेजमेन्टका सहायक प्रिन्सिपल राम पण्डित खनाल लगायतको आतिथ्यता रहेको थियो ।







