झुरझुरेमा दुग्ध संकलन केन्द्रको उद्घाटन

साझाकुरा
२०८२ पुष ३, बिहीबार १३:१७

हेटौंडा-बागमती गाउँपालिका–४ झुरझुरेमा दुग्ध संकलन केन्द्रको उद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष सर्केश घलानले एक कार्यक्रमकाबीच दूध संकलन केन्द्रको उद्घाटन गरेका हुन् ।दुग्ध संकलन केन्द्रको उद्घाटन गर्दै अध्यक्ष घलानले गाउँपालिकाले कृषिउत्पादनमा जोड दिएर काम गरिरहेको बताए । बागमती गाउँपालिका क्षेत्रभित्र उत्पादित दुध गाउँपालिका अन्तर्गतका सहकारी एवम् कृषकमार्फत झुरझुरेमा अवस्थित संकलन केन्द्रमा संकलन गरी ललितपुरस्थित खरिपाटी डेरी उद्योग प्रालिलाई विक्री गर्ने उनले बताए । अध्यक्ष घलानले गाउँपालिकाभित्र उत्पादन भएको दूध संकलन गरी कृषकलाई समयमै रकम उपलब्ध गराउने बताए ।

गाउँपालिका प्रमुख प्रशासकीयअधिकृत ओमबहादुर दर्जीले यसबाट दुधको दिगो बजारीकरण तथा समयमा नै किसानले दुधको मूल्य प्राप्त गर्ने बताए । दैनिकरुपमा करिब ७ देखि १० हजार लिटरसम्म दुधको निर्यात गरी बागमतीका किसान लाभान्वित हुने उनको विश्वास छ । गाउँपालिकासँग भएको सम्झौताअनुसार खरिपाटी डेरी प्रालिले संकलन केन्द्रबाट दूध लानेछ र कृषकलाई दुधको रकम समयमै उपलब्ध गराउनेछ । गाउँपालिकाले यो वर्ष पनि बीउपुँजी कार्यक्रम अन्तर्गत ८ करोड रुपैयाँ कृषकलाई सहुलियतपूर्ण ऋण प्रदान गर्दैछ ।

गाउँपालिका पशुशाखा प्राविधिक राजेन्द्र गोलेका अनुसार अहिले पालिकाभित्र १२ वटा दुग्ध सहकारीमार्फत् दूध संकलन गर्दै आइरहेको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, गाउँपालिका प्रवक्ता एवम् ३ नम्बरका वडाध्यक्ष कमानसिंह पाख्रिन, आर्थिक विकास समितिका संयोजक एवम् ७ नम्बर वडाध्यक्ष उत्तरबहादुर भोलनलगायत पालिका कर्मचारीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*