११ किलोभन्दा बढी गाँजासहित दुई युवक पक्राउ
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । बिहीबार दिउँसो करिब २ः१५ बजे पूर्वपश्चिम सडकखण्डमा सवारीसाधन चेकजाँचका क्रममा चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख १६१७ नम्बरको यात्रुबाहक बसमा सवार दुईजनालाई शंकाको आधारमा खानतलासी गरिएको थियो ।
सो क्रममा उनीहरुको झोलाभित्र लुकाइछिपाइ ल्याइएको ११ किलो १३० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१२ का १९ वर्षीय निसान प्रजा र १८ वर्षीय सागर प्रजा रहेका छन् । बरामद गरिएको गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद थप अनुमति लिएर उनीहरुमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।







