हेटौंडामा तीन सवारी ठोक्किँदा सातजना घाइते
हेटौंडा- पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ स्थित प्रगतिचोक सडकखण्डमा सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । हेटौंडा–९ स्थित प्रगति चोकमा बिहीबार हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ न. को विद्युतीय गाडीले विपरीत दिशा रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३ ००६ प ९७५ न.को स्कुटरलाई ठक्कर दिई पुनः विद्युतीय गाडीले विपरीत दिशा रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा १७ च ४२७२ न.को स्कार्पियो पिकअपमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते हुनेहरुमा विद्युतीय गाडीमा सवार हेटौंडा–४ कर्राकी ३७ वर्षीया सरस्वती राणा, स्कार्पियोमा सवार भोजपुर जिल्ला षडानन्द नगरपालिका–१० का ६६ वर्षीय हेमसाङ तामाङ र स्कार्पियोमा सवार ५९ वर्षीया राजकुमारी तामाङ रहेका छन् । तीनैजनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा परी विद्युतीय गाडीका चालक हेटौंडा–१५ रातोमाटेका २५ वर्षीय सुमन लामा, विद्युतीय गाडीमा सवार मकवानपुरगढी गाउँपालिका–५ भालुखोलाका ७८ वर्षीय टीकाप्रसाद तिमल्सिना, स्कुटर चालक हेटौंडा–९ का ३९ वर्षीय दीपक रुम्बा र स्कुटर पछाडिसवार रुम्बाकी छोरी पाँच वर्षीया ग्रेसी रुम्बा रहेका छन् । प्रहरीका अनुसार उनीहरुको मकवानपुर सहकारी अस्पतालमा उपचार भएको छ ।
तीनवटै सवारीसाधनमा क्षति भएको र ती सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते हेमसाङ तामाङको टाउकोमा चोट लागेको र क्यान्सरसम्बन्धी बिरामी रहेकोमा उपचारको लागि काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ । यसैबीच भीमफेदी–कुलेखानी–काठमाडाँै सडक खण्डमा सुमो दुर्घटना भएको छ । वीरगंजबाट काठमाडौँ जाँदै गरेको ना.१ ज ६९५६ नं.को टाटासुमो मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा बुधबार साँझ अचानक ब्रेक जाम हुँदा अनियन्त्रित भई बीच सडकमा पल्टिएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा चालकसहित नौ जना सवारमध्ये पहिचान नखुलेका एक महिलाको टाउकोमा सामान्य चोट लागि प्रहरी पुग्न अगावै उपचारको लागि काठमाडौँतर्फ पठाएको जनाएको छ ।







