कैलाशका प्रजा दम्पत्तीलाई घरसँगै जीविकोपार्जनका लागि नगद २० हजार प्रदान

कानुन नै बनाएर गाँजा खेतीलाई वैद्यता दिनुपर्छ : मुख्यमन्त्री बानियाँ
साझाकुरा
२०८२ पुष ७, सोमबार १५:१५

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको आर्थिक सहयोगमा कैलाश गाँउपालिका–४ धुसराङका लालकुमार प्रजाका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवारको घर निर्माण गर्ने घोषणा गरेका मुख्यमन्त्री बानियाँले आइतबार प्रजा दम्पत्तीको लागि सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेका हुन् । यसअघि उनले मनहरी गाउँपालिका–९ ज्यामिरेकी विपन्न दलित महिला मिठुमाया सुनारलाई पनि घर हस्तान्तरण गरेका थिए । करिब ८ लाख रुपैयाँको लागतमा तीन कोठे जस्तापाता र ब्लकको घर तथा शौचालयसमेत निर्माण गरी बिपन्न प्रजादम्पतीलाई हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री बानियाँले आफ्नो सेवासुविधावापतको रकमबाट सुरक्षित आवास निर्माण गरेका हुन् । सन्तान विहीन प्रजादम्पतीको जीविकोपार्जनमा सहयोग पुग्ने गरी २० हजार रुपैयाँ नगदसमेत प्रदान गरेका छन् । लालकुमार प्रजा लामो समयदेखि आफ्नै जग्गामा खरको छानो र काठपातले बेरिएको जीर्ण घरमा बस्दै आएका थिए । पचास वर्षीय लालकुमार विगत लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका थिए । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपा· छिन् । दुई कठ्ठा नम्बरी र झण्डै चार कठ्ठा ऐलानी जग्गा छ तर, आर्थिक अभावका कारण उनीहरु सुरक्षित घर निर्माण गर्न असमर्थ थिए । कमजोर आर्थिक अवस्थाका कारण घर मर्मत गर्न समेत नसक्ने अवस्थाका प्रजा दम्पती घर पाउँदा खुशी भएका छन् ।

अति विपन्न समुदायको लागि प्रदेश सरकारले १ हजार घर बनाउँछः मुख्यमन्त्री बानिया“घर हस्तान्तरण गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अति विपन्न समुदायको लागि प्रदेश सरकारले १ हजार घर बनाउने बताए । कार्यविधि नै बनाएर गरिब, दलित, सीमान्कृत, चेपाङलगायत अतिविपन्न समुदायको उचित बासस्थानको लागि एक हजार घर बनाउने नीति सरकारले बनाउने उनले बताए । मुख्यमन्त्री बानियाँले यसैवर्ष जति सकिन्छ, त्यति घर बनाएर हस्तान्तरण गर्ने बताए । घरसँगै जीविकोपार्जनको लागि स्थानीय तहसँग समन्वय गरेर दुई लाख रुपैयाँसम्म रकम किस्ताबन्दीमा उपलब्ध गराउने योजना अघि बढाएको उनले उल्लेख गरे । उनका अनुसार पहिलो चरणमा प्रदेशको १३ जिल्लामा ५०–५० घर बनाएर हस्तान्रण गरिनेछ ।

मुख्यमन्त्री बानियाँले राजनीतिक अवस्था परिवर्तन पछि जनताको अवस्था परिवर्तन गर्न आपूmहरुले राजनीति गरेको बताए । उनले कैलाश गाउँपालिकामा शिक्षा, स्वास्थ्यदेखि सडक पूर्वाधारको विकासमा आपूm प्रतिबद्ध रहेको दाबी गरे । मुख्यमन्त्री बानियाँले जनतालाई दुःख दिनु सरकारको धर्म नभएको बताए । उनले भने ‘गरिब निमुखालाई गाँस, बास, कपासको व्यवस्था गरिदिने सरकारको दायित्व हो । उनीहरुलाई आयआर्जनसँग जोडेर गरिखान सक्षम बनाउनु सरकारको जिम्मेवारी हो । मागीखाने र ठगीखाने प्रथा अन्त्य गर्दै गरीखाने बनाउनु राज्यको धर्म हो । मैले त्यही धर्ममा विश्वास गरेको छु ।’

उनले भने–‘पालिकामा बाटोघाटो, शिक्षा र स्वास्थ्यसेवाको पहुँच उत्तिकै कम छ । अब पालिकाले स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न गरेपछि त्यहाँ आवश्यक जनशक्तिका लागि प्रदेश सरकारल समन्वय गर्छ ।’ जनतालाई गाँस र बाससँगै गरिखाने बनाउनको लागि सीप र प्रविधि पनि हस्तान्तरण गर्नुपर्ने उनको धारणा छ । मुख्यमन्त्री बानियाँले स्थानीय तहसँगको सहकार्यमा आगामी वर्ष कोदो, मकैको रक्सीलाई वैधानिकता प्रदान गर्ने बताए । मुख्यमन्त्री बानियाँले कानुन बनाएर गाँजाखेतीलाई वैद्यता दिनुपर्ने बताए । माननीयहरुले गाँजाबाट बनेको कोट लगाउन मिल्ने तर, गाउँलेले गाँजाखेती लगाउँदा कारवाही हुनुपर्ने अवस्था रहेको उनले बताए ।

धार्मिकग्रन्थमा गाँजालाई जडिबुटीको रुपमा उल्लेख गरिएपनि राज्यको कानुनले गाँजालाई लागुऔषध भन्ने गरिएको मुख्यमन्त्री बानियाँले बताए । जनतालाई गरिखाने बनाउन पनि कानुन बनाएर गाँजाखेतीलाई व्यवसायिकरुपमा अगाडि बनाउनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री बानियाँले स्थानीय तहको प्रभावकारी निगरानीमा कानुनी दायरमा ल्याउने गरी गाँजाखेतीलाई जनताको उन्नति र प्रगतिसँग जोड्नुपर्ने बताए । प्रजादम्पतीको अवस्थालाई मध्यनजर गर्दै कैलाश गाउँपालिकाले सुरक्षित आवास निर्माणका लागि मुख्यमन्त्री बानियाँ समक्ष सिफारिस गरेको थियो ।

गाउँपालिकाको सिफारिसपछि मुख्यमन्त्री बानियाँले आफूले प्राप्त गर्ने सेवासुविधाको रकमबाट खर्च गर्नेगरी केही महिनाअघि घर निर्माण सुरु गराएका थिए । करिब ८ लाख रुपैयाँ लगानीमा ३ वटा कोठाको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको नेपाली काँग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए । घर निर्माणसँगै ओढ्ने, ओच्छ्याउने लगायत लत्ताकपडाको व्यवस्थापन कैलाश गाउँपालिकाले गरिदिने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घोष गरे । मुख्यमन्त्री बानियाँले राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माणकार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । घर हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतले धन्यवाद मन्तव्य राखेका थिए ।

मनहरीमा मन्दिरको जीर्णोद्वारका लागि एक महिनाको तलब सहयोग

मुख्यमन्त्री बानियाँले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनकामना मन्दिरको जीर्णोद्वारका लागि आर्थिक सहयोग गरेका छन् । बालाचतुर्दशी तिथिमा लागेको मेलामा आएका मुख्यमन्त्री बानियाँले एक महिनाको तलब मनकामना मन्दिरको जीर्णाेद्धारका लागि सहयोग गर्ने घोषणा गरेका थिए । सोहीबमोजिम आफूले पाउने सुविधा बापतको रकम ७५ हजार मनकामना सनातन धर्मसंरक्षण संस्थाका अध्यक्ष नारायण सुवेदीलाई हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री बानियाँले मन्दिरको जीर्णोद्वारसहित अन्य भौतिक सुधारका लागि बागमती प्रदेश सरकारले आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको संस्थाका अध्यक्ष सुवेदीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*