राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघमा प्रचण्ड

साझाकुरा
२०८२ पुष ७, सोमबार १५:२०

हेटौंडा-राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ मकवानपुरको जिल्ला अधिवेशनबाट अध्यक्षसहित नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।अधिवेशनबाट प्रचण्ड राजथला अध्यक्षमा चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा दादालाल नेपाल, उपाध्यक्षमा सञ्चमाया थिङ, सचिवमा मनोहरि नेपाल, कोषाध्यक्षमा सम्झना मोक्तान तथा सहसचिवमा जनार्दन ढकाल चयन भएका छन् ।

जिल्ला कार्यसमिति सदस्यमा राजेन्द्रप्रसाद उप्रेती, बाबुराम मालाकार, वीरमान वाइबा, रामबहादुर लो र मोहनबहादुर पाण्डे चयन भएकाछन् । अधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता तथा मकवानपुर क्षेत्र नम्बर १ का पूर्वसांसद दीपकबहादुर सिंहले मजदुर संगठनकै कारण राप्रपा मकवानपुरमा सशक्त बनेको बताएका छन् । ‘मेरो जिल्लाका मजदुर संगठनले कार्यक्रममार्फत् राप्रपालाई मकवानपुरमा सशक्तरुपमा स्थापित गरेका छन् । हजारौँ मजदुर साथीहरुको निरन्तर योगदानले पार्टीले जनताको विश्वास जित्दै अघि बढ्न सकेको छ, यसमा म गर्व महसुश गर्छु ।

राप्रपाबाट केही कमजोरी भएका हुनसक्छन् तर, ती दोहोरिन नदिने हाम्रो प्रतिबद्धता छ’ सिंहले भने, ‘मैले सधैँ मकवानपुरका जनताको हितलाई पहिलो प्राथमिकतामा राखेँ । जनताको मत र विश्वास कहिल्यै बेच्दिनँ भन्ने मेरो कसम आज पनि उस्तै छ । राप्रपा सधैँ सुशासन र भ्रष्टाचारविरुद्ध उभिन्छ । गल्ती गर्ने जोकोही भएपनि संरक्षण हुँदैन । हाम्रो मूल मन्त्र स्पष्ट छ पहिलो राष्ट्र, दोस्रो जनता, अनि मात्र पार्टी । यही आधारमा देश पुनर्निर्माण गर्न मजदुर र इमानदार नेतृत्व एकजुट हुनुपर्छ ।’

पूर्वसांसद् सिंहले सुशासन र भ्रष्टाचारविरुद्ध पार्टी सधैँ अडिग रहने बताउँदै आगामी दिनमा मजदुरका लागि सहुलियत ऋण र व्यवहारिक कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए । कार्यक्रममा राप्रपाकी नेतृ अनिशा नेपालीले श्रमिक वर्गलाई सस्तो श्रमको साधनकारुपमा प्रयोग गरिएको आरोप लगाइन् । ‘आज श्रमिकलाई कामदारको रुपमा होइन, सस्तो श्रमको साधनका रुपमा प्रयोग गरिएको छ ।

देशको अर्थतन्त्र श्रमिकको पसिनाले चलेको छ तर, उनीहरुका अधिकार, सुरक्षा र न्यायका सवालमा सरकार गम्भीर हुन सकेको छैन । गलत नीति, कमजोर नेतृत्व र अवसरवादी राजनीतिका कारण श्रमिक वर्ग शोषित हुनुपरेको छ । अब श्रमिक अधिकारको पक्षमा दृढ भएर उभिनु आजको आवश्यकता हो’ उनले भनन् ि।अधिवेशनमा जिल्लाभरका विभिन्न क्षेत्रका श्रमिक प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो । नवनिर्वाचित कार्यसमितिले श्रमिकको हक, हित र अधिकारको संरक्षणमा सक्रिय भूमिका खेल्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*