‘सरकार कठोर बन्नुपर्छ तर, निर्दयी बन्नु हुँदैन’

उज्यालो पार्टीले हेटौंडा सहर अँध्यारो बनाइदियो : मुख्यमन्त्री बानियाँ
साझाकुरा
२०८२ पुष ८, मंगलवार ११:५१

हेटौंडा,-बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिले हेटौंडा बजार मानवबिनाको सहर जस्तै भएको बताएका छन् ।व्यवस्थापनबिना नै सरकारले हेटौंडा बजार भत्काएर प्रेतआत्माको सहर बनाइदिएको उनको आरोप थियो । प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापना गरिएको बाचनालय र कांग्रेस मकवानपुरका संस्थापक सभापति स्व. सूर्यबहादुर डिमडुङको स्मृतिमा निर्मित तीन कोठे भवनको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले अव्यवस्थित सडक विस्तारका कारण सहर कुरुप बनेको बताए । उज्यालो नेपाल पार्टीलाई कटाक्ष गर्दै नाम उज्यालो भएको पार्टीले हेटौंडालाई अँध्यारो बनाएको उनले टिप्पणी गरे ।

मुख्यमन्त्री बानियाँले व्यवस्था चलाउन सरकार कठोर बन्नुपर्ने भएपनि निर्दयी बन्न नहुने बताए । हेटौंडा बजारको अवस्था अहिले कहालिलाग्दो भएको बताउँदै उनले हेटौंडाबासीलाई समाधान दिन जरुरी रहेको उल्लेख गरे । ‘बजारक्षेत्रमा व्यापारिक गतिविधि ठप्पप्रायः छन् भने सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ’ मुख्यमन्त्री बानियाँले भने, ‘व्यवस्था चलाउन सरकार कठोर हुन सक्छ तर, निर्दयी हुनु हुँदैन ।’ हेटौंडाबासीलाई तत्काल राहत र दीर्घकालीन समाधान दिनु सरकारको दायित्व भएको उनले उल्लेख गरे । मुख्यमन्त्री बानियाँले सडक विस्तारको नाममा पूर्वतयारी, विकल्प र क्षतिपूर्तिबिनै संरचना भत्काउँदा सर्वसाधारण मर्कामापरेको बताए ।

अन्यौलमा परेको हेटौंडा बजारलाई निकास दिन तीनवटै तहका सरकारले साझा समाधान खोज्नुपर्ने र स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्ने मुख्यमन्त्री बानियाँको धारणा छ । एक तहको निर्णयले मात्र समस्याको समाधान नहुने र साझा कार्ययोजना आवश्यक रहेको उनले बताए । अन्यौलमा रहेको हेटौंडा बजारलाई तीनवटै तहको सरकारले निकास दिनुपर्ने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले पछिल्लो समय प्रतिशोधको राजनीति देखापर्न थालेको बताए । अप्ठ्यारो परेको बेला संघर्ष गर्ने नेतृत्व नदेखिएको उनले जिकिर गरे । नेपाली कांग्रेसभित्र राजनीतिक सहनशीलता र धैर्यता घट्दै गएको उल्लेख गर्दै उनले पार्टीलाई पुनर्जीवित र पुनर्जागृत गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाली कांग्रेस विभाजन हुन्छ भन्ने डर महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै समाप्त भएको उनले दाबी गरे । कांग्रेस अहिले नियमित अधिवेशन प्रक्रियामा प्रवेश गरिसकेको पनि उनले बताए । कांग्रेस अहिले संगठन सुदृढीकरणतर्फ केन्द्रित भएको उनको भनाइ छ । मुख्यमन्त्री बानियाँले एकदलीय पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरेर लोकतन्त्र स्थापना गर्न कांग्रेसको ऐतिहासिक भूमिका रहेको स्मरण गराए । प्रजातन्त्र र गणतन्त्र प्राप्तिपछि आज सबैले स्वतन्त्ररुपमा बोल्न पाएको उनले उल्लेख गरे । गणतन्त्रमा तोडफोड, पार्टी कार्यालय वा व्यक्तिको घर जलाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने मुख्यमन्त्री बानियाँले जिकिर गरे । ‘लोकतन्त्रको मर्म भनेको संवाद, सहमति र जनउत्तरदायित्व हो ।

गणतन्त्रको नाममा अराजकता, तोडफोड र अव्यवस्था कुनैपनि रुपमा स्वीकार्य हुन सक्दैन’ उनले बताए । कार्यक्रममा मुख्यमन्त्री बानियाँले मकवानपुर जिल्लामा नेपाली कांग्रेसलाई चलायमान बनाउन स्व. सूर्यबहादुर डिमडुङले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए । उनका अनुसार डिमडुङको भूमिका जिल्ला तहमा मात्र सीमित नरही केन्द्रीय राजनीतिमा स्थापित रहेको थियो । संगठन विस्तार, जनसम्पर्क र राजनीतिक आन्दोलनमा डिमडुङले खेलेको भूमिकाको उच्चमूल्यांकन गर्दै स्मृति भवन निर्माण गरिएको बताइएको छ ।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले स्व. डिमडुङको राजनीतिक निष्ठा, त्याग र समर्पणको कदरस्वरुप भवन निर्माण गरिएको जानकारी दिए । प्रदेश सरकारबाट प्राप्त केही आर्थिक सहयोगमा निर्माण गरिएको भवनको पहिलो तलामा तीनवटा कोठा रहेका छन्, जसलाई पार्टी गतिविधि, बैठक, अध्ययन–चिन्तन तथा सामुदायिक प्रयोजनका लागि प्रयोग गरिने जनाइएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुकको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*