राक्सिराङमा पालिकाबाट सुविधा लिन ‘शौचालय कार्ड’ अनिवार्य

साझाकुरा
२०८२ पुष ८, मंगलवार १२:२९

हेटौंडा- मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले पालिकाबाट सेवासुविधा लिन पूर्ण सरसफाइमा ध्यान दिनु पर्ने शर्त राखेको छ । पालिकाले हालै शौचालय परिचयपत्र जारी गर्दै पूर्ण सरसफाइ परिवार नभए सेवाबाट वञ्चितसम्म गर्ने तयारी गरेको छ । पालिकाले राक्सिराङ वडा नम्बर ३ मा दोस्रोपटक शौचालयक कार्ड वितरण गर्दै पालिकाभर यसलाई लागू गरिन लागेको जनाएको छ ।गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘पालिकामा ८६ वटा टोलमा यो कार्ड विरतण हुँदैछ, यसपछि पालिकाले शौचालय पत्र नहुनेलाई सेवा नै रोक्ने नीति लिइएको छ ।’

पालिका पूर्ण सरसफाइयुक्त बनाउने अभियानका लागि यो नीति लिनु परेको उनले बताए । राक्सिराङ–३ को लावती, औले, कोलाङ्तीलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम गरेर शौचालय पत्र लागू गरिएको हो । वडाको एउटा विद्यालय र १ सय ३९ घरमा ‘एकघर एकधारा एक मिटर एक फिल्टर एक करेसाबारी’ अभियान सफल भएको घोषणा गरिएको छ ।

बस्ती पूर्ण सरसफाइ टोल घोषणासँगै शौचालय पत्रलाई अनिवार्य गरिएको हो । आरआरएन संस्थाको सहजीकरणमा स्थानीयको घरमा शौचालय, सरसफाइका लागि मिटर, फिल्टर, करेसाबारी व्यवस्थापनको काम भएको छ ।‘खुला दिशामुक्त घोषणाको १२ वर्ष बित्दा पनि शौचालय बनाउनुहोस् भनिरहनपरेको छ,’ वडा नम्बर ३ का अध्यक्ष उत्तम वाइबाले भने, ‘अब शौचालय कार्ड लागू भएको छ, यो भएन भने तपाईंले पाइरहनु भएको सुरक्षा भत्तासमेत रोक्नुपर्ने हुनसक्छ, त्यसका लागि वडाले सिफारिस नगर्न सक्छ ।’

उनले आफ्नो वडा, बस्ती सरसफाइयुक्त बनाइएको बताए । सरसफाइ अभियानको भवन निर्माणका लागि स्थानीय दलबहादुर स्याङतानले १० धुर जग्गा उपलब्ध गराएका थिए । उनी दिवंगत भएपछि पत्नी राममाया स्याङ्तानलाई पालिका अध्यक्ष मल्लले दोसल्ला ओढाएर सम्मान गरे । अभियानका लागि स्थानीय जुटेको र आर्थिक तथा प्राविधिकरुपमा आरआरएनले सहजीकरणले गरेकार बस्ती पूर्णसरसफाइयुक्त उन्मुख भएको समितिका अध्यक्ष बाबुलाल स्याङ्तानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*