कीर्ते नागरिकतामा वडाध्यक्ष सहित सात जनालाई कैद सजाय

साझाकुरा
२०८२ पुष ८, मंगलवार १२:३६

हेटौंडा-कीर्ते नागरिकता प्रमाणपत्र तयार गरी झुटा विवरणका आधारमा जग्गा नामसारी गरिएको घटनामा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दोषी ठहर गरेको छ ।जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासले बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडासचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोनलाई जनही दुईवर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

त्यस्तै, पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई आठ वर्ष कैद र एक लाख ३० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । जिल्ला अदालत मकवानपुरका सूचनाअधिकारी केशवप्रसाद कौशिकका अनुसार दोषी ठहर भएकामाथि नागरिकता सम्बन्धी कसुरतर्फ पाँचवर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तथा पञ्जीकरण सम्बन्धी कसुरतर्फ तीनवर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको हो ।

अदालतको ठहरअनुसार पूर्णबहादुर भ्लोनले आफ्नी आमाको वास्तविक पहिचान लुकाएर उमादेवी गुरुङलाई आमा उल्लेख गर्दै वडा कार्यालयमा सिफारिस मागेका थिए । त्यसपछि वडा कार्यालयले २०८० मङ्सिर १८ गते सर्जमिन मुचुल्का तयार गर्दा रामबहादुर न्यासुरलगायत व्यक्तिले उमादेवी नै पूर्णबहादुरकी आमा भएको भनी झुटो सर्जमिन गरेका थिए । सोही सर्जमिन र सिफारिसका आधारमा उमादेवीको नाममा रहेको जग्गा पूर्णबहादुरको नाममा नामसारी गरिएको थियो।

तर, मुद्दाको सुनुवाइका क्रममा अदालतले प्रस्तुत प्रमाण र बयानका आधारमा पूर्णबहादुरकी वास्तविक आमा कान्छीमाया भ्लोन रहेको ठहर गरेको हो । अदालतको फैसलापछि दोषी ठहर भई कैद सजाय तोकिएका वडाध्यक्ष राजन दंगाल, पूर्णबहादुर भ्लोन, रामबहादुर न्यासुर र जमानसिंह भ्लोन हाल पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*