थाहामा डिजिटलरुपमा नतिजा सार्वजनिक
हेटौंडा- मकवानपुर थाहा नगरपालिकाको झम्केश्वरी माध्यमिक विद्यालयले अर्धवार्षिक परीक्षा, २०८२ को नतिजा प्रकाशन, अभिभावक भेला तथा अन्तक्र्रिया कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धि र प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकता दिँदै आएको विद्यालयले यसवर्ष थाहा नगरपालिकामै पहिलोपटक विद्यार्थीको फोटो, नाम र ग्रेडसहित डिजिटलरुपमा नतिजा सार्वजनिक गरेर नयाँ अभ्यासको सुरुवात गरेको हो ।
डिजिटल माध्यमबाट सार्वजनिक गरिएको नतिजाले पारदर्शिता, विश्वसनीयता र सहज पहुँच सुनिश्चित गरेको भन्दै कार्यक्रममा सहभागी अभिभावक तथा विद्यार्थीले खुशी र उत्साह व्यक्त गरेका थिए । यस अभ्यासले विद्यालयप्रति अभिभावकको विश्वास अझ बलियो बनाएको उनीहरुको धारणा थियो ।
विद्यालय व्यवस्थापन समिति सदस्य रजना प्रधानको सभाध्यक्षतामा भएको अभिभाव भेलामा प्रधानाध्यापक गणेशमान श्रेष्ठले झम्केश्वरी माध्यमिक विद्यालयलाई समयसापेक्ष, गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको केन्द्रकारुपमा विकास गर्ने उद्देश्यसहित विद्यालय अघि बढिरहेको स्पष्ट पारे । आजको प्रतिस्पर्धात्मक युगमा पाठ्यपुस्तक केन्द्रित शिक्षामात्र पर्याप्त नहुने बताउँदै उनले डिजिटल प्रविधि, व्यवहारिक सिकाइ र विद्यार्थीमैत्री वातावरण अपरिहार्य भएको उल्लेख गरे ।
प्रधानाध्यापक श्रेष्ठले विद्यालयमा पछिल्ला वर्षमा दैनिक अनलाइन हाजिरी, अनलाइन गृहकार्य वितरण तथा मूल्यांकन, नियमित आन्तरिक परीक्षण, डिजिटल नतिजा प्रणाली जस्ता अभ्यासलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको जानकारी दिए । अर्धवार्षिक परीक्षाको नतिजा विद्यार्थीको फोटो र ग्रेडसहित सार्वजनिक गर्नु पारदर्शी शिक्षा प्रणालीतर्फको महत्वपूर्ण कदम भएको उनको भनाइ थियो । उनले विद्यालय र अभिभावकबीचको सहकार्यलाई विशेष महत्व दिँदै घर– विद्यालय समन्वयबिना गुणस्तरीय शिक्षा सम्भव नहुने धारणा राखे ।
शिक्षकहरुको समर्पण, मेहनत र निरन्तर क्षमता विकासले विद्यालयलाई शैक्षिकरुपमा अगाडि बढाइरहेको बताउँदै उनले योग्य र प्रतिबद्ध शिक्षक नै विद्यालयको मुख्य शक्ति भएको उल्लेख गरे । आगामी योजनाबारे जानकारी दिँदै प्रधानाध्यापक श्रेष्ठले स्मार्ट कक्षा विस्तार, डिजिटल पुस्तकालय, प्रविधिमैत्री शिक्षण सामग्री, जीवनोपयोगी सीप विकास कार्यक्रम जस्ता योजना चरणबद्ध रुपमा कार्यान्वयन गरिने जानकारी दिए । विद्यार्थीलाई सक्षम, अनुशासित र जिम्मेवार नागरिक बनाउने लक्ष्यसहित विद्यालय अघि बढिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक रक्षा सुवेदीले झम्केश्वरी माध्यमिक विद्यालयलाई थाहा नगरपालिकाको उत्कृष्ट शैक्षिक हबकारुपमा स्थापित गर्न शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदाय सबै एकजुट भएर लागिरहेको जानकारी दिइन् । गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र आधुनिक प्रविधिको प्रयोगले विद्यालयले छुट्टै पहिचान बनाउँदै गएको उनको भनाइ थियो । उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरणले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना र अध्ययनप्रति थप लगाव बढाएको अभिभावकको धारणा थियो ।
विद्यालयको शैक्षिक उपलब्धि उल्लेख गर्दै कार्यक्रममा गतवर्षको एसईई परीक्षामा थाहा नगरपालिकामै प्रथम स्थान हासिल गर्ने विद्यार्थी उत्पादन गर्न विद्यालय सफल भएको जानकारी गराइएको थियो । यो उपलब्धिले विद्यालयको शिक्षण प्रणाली, शिक्षकको समर्पण तथा विद्यार्थीको मेहनतलाई प्रमाणित गरेको बताइएको थियो । अन्तक्र्रियामा अभिभावकले विद्यालयको शैक्षिक वातावरण, प्रविधिमैत्री अभ्यास र अनुशासनप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सहकार्यको अपेक्षा गरेका थिए ।







