आगोताप्ने क्रममा कपडामा सल्किएर ५ वर्षीया बालिका घाइते
हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका–८ शिशिरदमारस्थित एक कुखुरा फर्ममा आगोताप्ने क्रममा कपडामा सल्किएर ५ वर्षीया बालिका घाइते भएकी छन् ।चितवनको राप्ती नगरपालिका–१ लोथर घरभई हाल मकवानपुर बकैया गाउँपालिका–८ शिशिरदमारमा बस्दै आएका रमेश फुँयालको कुखुरा फर्ममा कार्यरत दिलबहादुर प्रजाकी करिब ५ वर्षीया छोरी सोनिया प्रजा आगोताप्ने क्रममा घाइते भएकी हुन् । प्रहरीका अनुसार मंगलबार बिहान करिब ९ बजे फर्मको कम्पाउन्डभित्र सँगै आगोतापेर बसिरहेकी बालिकाकी आमा सानुमाया प्रजा बाहिर निस्किएको बेला अचानक बालिकाको कपडामा आगो सल्किदा छाती र घाँटीमा पोलेको थियो ।
घाइते बालिकालाई उपचारका लागि आमा सानुमाया प्रजाले दिउँसो करिब १२ बजे हेटौंडा अस्पताल ल्याएकी थिइन् । अस्पताल स्रोतका अनुसार बालिकाको अवस्था मध्यम रहेको छ । घटनाबारे अस्पतालमा खटिएको प्रहरी कर्मचारी मार्फत जानकारी प्राप्त भएपछि इलाका प्रहरीचौकी हात्तिसुँडे, मकवानपुरबाट प्रहरीटोली घटनास्थल तर्फ खटिएको थियो । घटनास्थल प्रहरीचौकी हात्तिसुँडेबाट करिब ५ किलोमिटर पूर्वतर्फ पर्दछ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







