मुख्यन्यायाधिवक्ता बस्नेतद्वारा शपथ ग्रहण
हेटौंडा- बागमती प्रदेशकी नवनियुक्त मुख्यन्यायाधिवक्ता अप्सरा बस्नेतले पद तथा गोपनीयताको शपथदिएकी छिन् ।प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाको उपस्थितिमा उच्चअदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले प्रदेशप्रमुखको कार्यालयमा मंगलबार आयोजित एक समारोह बीच मुख्य न्यायाधिवक्ता बस्नेतलाई शपथ गराएका हुन् । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम मुख्य न्यायाधिवक्ता बस्नेतले शपथ लिएकी हुन् ।
शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईँ, प्रदेश सरकारका मन्त्रीहरु लगायत उपस्थिति थियो । मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेशप्रमुख देवकोटाले बस्नेतलाई गत आइतबार मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानूनी सल्लाहकार रहने व्यवस्था रहेको छ । प्रदेश सरकारलाई कानूनी विषयमा राय, सल्लाह र निर्देशन प्रदान गर्नुका साथै, प्रदेश सरकारको तर्फबाट अदालतमा उपस्थित भई प्रदेशको प्रतिनिधित्व गर्ने जिम्मेवारी समेत मुख्य न्यायाधिवक्ताको हुन्छ ।







