पालुङ बहुउद्देश्यीय सहकारीको कुल सम्पत्ति १ अर्ब २७ करोड नाघ्यो

साझाकुरा
२०८२ पुष ११, शुक्रबार १०:२८

हेटौंडा-पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष बिष्णुहरि ढकालको प्रमुख आतिथ्यता तथा अध्यक्ष कृष्णबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न साधारणसभामा आर्थिक प्रगति, भावी योजना र सामाजिक उत्तरदायित्वका कार्यक्रम सार्वजनिक गरिएका छन् ।अध्यक्ष बिष्टले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷८२ सम्म संस्थामा ६ हजार ८ सय ४० जना शेयरसदस्य र ४ हजार ६५ जना लघुवित्त सदस्य गरी कुल १० हजार ९ सय ५ जना वित्तीय कारोबार गर्ने सदस्य पुगेका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब २७ करोड पुगेको छ भने शेयरपुँजी ९ करोड ९५ लाख, बचत संकलन ८८ करोड ४४ लाख र ऋण प्रवाह १ अर्ब ८ करोड रहेको छ ।

प्रतिवेदनअनुसार सहकारीले हेटौंडा र बज्रबाराही सेवाकेन्द्र सञ्चालन गरिरहेको छ भने थाहा नगरपालिकाको चित्लाङ र काठमाडौंको कालिमाटीमा रहेको सरल बहुउद्देश्यीय सहकारीसँग एकीकरण गरी काठमाडौंमा समेत पालुङ बहुउद्देश्यीयको सेवाकेन्द्र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ । थाहा शीतभण्डार परियोजनाअन्तर्गत अन्तरसहकारी सम्बन्ध विस्तार गर्दै शीतभण्डार सञ्चालन गर्ने योजना अघि सारिएको छ । आर्थिक वर्ष २०८२÷८३ का लागि संस्थाले शेयर सदस्य संख्या ८ प्रतिशतले वृद्धि गर्ने, न्यूनतम शेयर रकम १० हजार कायम गर्ने र जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । सोही वर्ष बचत संकलन १५ प्रतिशतले वृद्धि गरी १ अर्ब पु¥याउने लक्ष्य तय गरिएको छ ।

तरलता व्यवस्थापनतर्फ बाह्य कर्जाको भुक्तानीलाई प्राथमिकता दिँदै सदस्यको बचत भुक्तानीमा असर नपर्ने गरी उच्च तरलता कायम गरिएको अध्यक्ष बिष्टले जानकारी दिए । कर्जा लगानीको लक्ष्य १००.०८ प्रतिशत हासिल भई १ अर्ब ८ करोड ९१ लाख पुगेको छ भने आगामी आर्थिक वर्षमा कर्जा लगानी १ अर्ब १५ करोड पु¥याउने लक्ष्य लिइएको छ । संस्थाको खुद नाफा चालु आर्थिक वर्षमा ४८.२३ प्रतिशतले संकुचन भई १ करोड ६३ लाखमा सीमित भएपनि आगामी आर्थिक वर्ष २०८२÷८३ मा २९५ प्रतिशतले वृद्धि गरी ४ करोड ८२ लाख पु¥याउने लक्ष्य राखिएको छ ।

साधारणसभामा लघुवित्त कार्यक्रम, रासायनिक मल वितरण, शीतभण्डार, तरकारी बजारीकरण, कृषिप्रविधि तथा हाईटेक नर्सरी, सहकारी पसललगायत कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरिएको थियो । लेखा सुपरीवेक्षण समितिका संयोजक कालीचरण बस्नेतले समितिको प्रतिवेदन प्रस्तुत गरे । साधारण सभामा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विधामा सदस्यलाई सम्मान गरिएको छ । ७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठनागरिक सम्मान अन्तर्गत लोककुमारी खत्री, चन्द्रबहादुर गोले, पम्फाकुमारी थापा, चन्द्रकुमारी कार्की, रामशरण बिष्ट, पूर्णबहादुर श्रेष्ठ, विष्णुमाया बलामी, बद्री केसी, तोकबहादुर गोपाली, कान्छी खत्री, लालमाया श्रेष्ठ, गणेशबहादुर शिवभक्ती, मिठाइ श्रेष्ठ, रामकृष्ण अधिकारी र ध्रुवबहादुर अधिकारीलाई सम्मानसहित न्यानो कपडा वितरण गरिएको छ ।

सुत्केरी सदस्य सम्मान अन्तर्गत प्रज्ञा ढकाल, रती पाण्डे, सुस्मा पाण्डे, गायत्री केसी, सत्यदेवी स्याङ्तान र निर्मला बिष्ट सम्मानित भएका छन् । २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको छ । सामुदायिक विद्यालयतर्फ दर्शन कार्की (ज्ञानोदय माध्यमिक विद्यालय, काठमाडौं) ले ३.९६ जिपिए र अभिषेक जैशवाल (बज्रबाराही माध्यमिक विद्यालय) ले ३.७५ जिपिए प्राप्त गरी सम्मान पाए । संस्थागत विद्यालयतर्फ अरविनकुमार कार्की (हिमालयन बोर्डिङ स्कुल) ले ३.८४ जिपिए र प्रनिशा केसी (हिमालयन बोर्डिङ स्कुल) ले ३.७४ जिपिए प्राप्त गरी उत्कृष्ट विद्यार्थी सम्मान प्राप्त गरे ।

उत्कृष्ट कारोबारतर्फ कर्जाविधामा थाहा–२ का मनिराज ढकाल र थाहा–१२ का भीमसेन स्याङ्तान तथा उत्कृष्ट बचततर्फ कैलाश–६ का पासाङ लामालाई सम्मान गरिएको छ । संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष पुरुषोत्तम कार्की, पूर्वअध्यक्ष बिमलकुमार ढकाल र उमेशप्रसाद ढकाल, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलगायत पूर्वपदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*