अदालतबाट दोषी ठहर भई फरार पाँच अभियुक्त मकवानपुरबाट पक्राउ
हेटौंडा- विभिन्न आपराधिक घटनामा अदालतद्वारा दोषी ठहर भई फरार भएका पाँच जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।कुटपिट मुद्दामा १ वर्ष ६ महिना कैद तोकिएका हेटौंडा उपमहानगरपालिका–९ का ३५ वर्षीय प्रदीप उपाध्यायलाई प्रहरीले घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । यसैगरी मकवानपुरको बागमती गाउँपालिका–७ धन्साईका २९ वर्षीय भोजबहादुर कमरलाई पनि पक्राउ गरेको छ । अदालतले कमरलाई चोरी मुद्दामा २५ दिन कैद तोकेको थियो । तर, उनी फराररहेका थिए । प्रहरीले उनलाई गाउँबाटै पक्राउ गरेको हो । अर्का फरार अभियुक्त हेटौंडा उपमहानगरपालिका–४ का २० वर्षीय दिलबहादुर साहलाई पक्राउ गरेको छ ।
डाँकामुद्दामा साहलाई अदालतले २० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर, उनी फरार थिए ।त्यस्तै मकवानपुरको बकैया गाउँपालिकाका फरार अभियुक्त धनबहादुर मोक्तानलाई पनि पक्राउ गरेको छ । वैवाहिक जबरजस्ती करणी मुद्दाका अभियुक्त हेटौंडा उपमहानगरपालिका–५ का २५ वर्षीय राकेश दुवेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई जरिवाना र कैदअसुली गर्न बुधबार नै प्रहरीले जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक एवं प्रहरीप्रवक्ता पुस्कर बोगटीले बताए ।







